“अन्तर्राष्ट्रिय युवा दिवसको कार्यक्रम तयार भयो त ?” मन्त्रीले सचिवलाई प्रश्न गरे ।
“करिब करिब भयो हजुर ! हामीले यस वर्ष फरक ढङ्गले कार्यक्रम बनाएका छौँ ।” सचिवले प्रतिउत्तर फर्काए ।
मन्त्रीले जिज्ञासा राखे,
“ल ल एक पल्ट सर्र सुनाउनुस् त कस्तो बनेछ फरक ढङ्गको कार्यक्रम ! हामीले यस वर्षको ‘युवा दिवस’ भव्यताका साथ मनाउनुपर्छ ।”
सचिवले लामो विवरण सुनाए,
“हामीले चार स्थानमा चार जना मन्त्रीको नेतृत्वमा ‘युवा दिवस’ मनाउने योजना बनाएका छौ !”
“ए हो र? कहाँ कहाँ कुनकुन मन्त्रीको कार्यक्रम राख्नुभएको छ त सुनाउनुस् न त !” मन्त्रीले कौतुहलता जनाए ।
सचिवले फाईल पल्टाएर योजना बाचेर सुनाए,
“युवा तथा खेलकुद मन्त्रीले युएसएमा, श्रम तथा रोजगार मन्त्रीले मलेशियामा त्यसैगरी समाज कल्याण मन्त्रीले साउदीमा र परराष्ट्र मन्त्रीले कोरियामा आयोजना हुने कार्यक्रमको नेतृत्व गर्नुहुनेछ !”
“होईन तपाईँ के कुरा गर्दै हुनुहुन्छ ? देशको कार्यक्रम विदेशमा किन गर्नु पर्यो ?”
सचिवले मन्त्रीको कुरा भूईँमा खस्न नपाउँदै जवाफ फर्काए, “मन्त्रीज्यू युवा जति सबै त्यतै छन्, ‘युवा दिवस’ नेपालमा मनाएर त्यसको के औचित्य रहला र खै ?”
(काभ्रे, पनौती, हालः कपन, काठमाडौँ)