मसानघाट सरी भयो घर अब देख्दिन कोही यहाँ
को को छौ अनि दिनचर्या कसरी चल्दो रहेछ त्यहाँ ?
सातै रङ्गहरु सबै उडि गए फिक्का भयो जीवन
बस्दिन म त बस्दिन अब यहाँ बाबू कहाँ छौ भन ?
अघाएँ अहिले म खेल्छु पहिले भन्थ्यौं बाल्यकालमा
पस्किएँ अब भात आऊ घरमा खाना छ यी थालमा
तिम्रा साथी सबै घर पिढी भरि पर्खिरहेका छन
नआए तिमी आउँछु नि म लिन बाबू कहाँ छौ भन ?
ठूलो हुन्छु अनि म पाल्दछु भन्यौं आफैं अगाडि भयौ
अहिले यहीँ थियौ त यी नजरमा छैनौ त खै कहाँ गयौ
आगो दन्दन दन्कियो शरीरमा खङ्ग्रङ भो जीवन
सक्दिन रहन क्षणै तिमी बिना बाबू कहाँ छौ भन ?
धपधप् बल्ने थियो मुहार हँसिलो मिल्यो धुवाँमा अब
आँखाले घर आगनी र बुइगल खोजिरहेछन् सब
सर्वस्व सकियोस् र पाऊँ तिमी नै के गर्नु र यो धन
चाँडै आउँछु भेट्छु भेट्छु जसरी बाबु कहाँ छौ भन ?
एकोहोरिन्छु र हेर्छु त्यो क्षितिजमा तिमी कता छौ कता
सझिन्छु मनमा र गम्छु कहिले बेहोसी बन्छु मता
मान्छेको भिड भित्र छु तर पनि लाग्छ किन निर्जन
बस्दिन एक क्षण पनि अब यहाँ बाबू कहाँ छौ भन ?
एक्लो वर त अह सुहाएन भन्यौ जोडी मिलाइदिएँ
सुन्दर आगनीमा रुँदै डुलिरहने सन्तान खोज्दै थिएँ
वर्षै दिन् नपुगी ढल्यो नि वर त्यो एक्लो बनाइकन
सक्दिन म त बस्न लौ तिमी बिना बाबू कहाँ छौ भन ?
थाकेन कहिल्यै यो घाउ मनको झन् झन् बढेर गयो
चन्द्र सूर्य र तारा गण बिहिन भो संसार शून्य भयो
मेलापात र खेत बारी सबमा भेटिन्छ एक्लोपन
हाल्छु प्वाँख र उड्छु लौ चरी बनी बाबू कहाँ छौ भन ?
दिनमा सूर्य र रातमा झिलिमिली बत्ती बलेका छ्न
खोज्छु बाग बगैंचा सब वरिपरि अहँ तिमी भेट्दिन
फूलबारी पनि शुन्य छ नि अहिले देखिन्न खुसी मन
हावाकै गतिमा म आउँछु अहो बाबू कहाँ छौ भन ?
पस्छु बाग तिर र टिप्छु फलफूल तिमी कहाँ छौ कहाँ
भोकै छौ तिमी त अन्नपानी सबथोक कुहेर सड्छन् यहाँ
हेर्छु फूलहरु म भन्दा बहुतै रोइरहेका छन्
बिजुली बनी झट्ट आउँछु म त बाबू कहाँ छौ भन ?
सप्नीमै पनि आऊ न बरु म त सन्तोष गर्ने थिएँ
कोपिलै यदि झर्दथ्यौ तिमी भने आमा किन बनिएँ
एक्लै छौ अथवा तिमीसँग अरु आफन्त कोही छन्
बस्दिन म त एक क्षण पनि यहाँ बाबू कहाँ छौ भन ?
बेलबारी,मोरङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।