– थाहा छैन
किन हो कुन्नी बिना कारण
विश्वासको बादल फाटेलगत्तै
कालो कुरुप आकाशको अनुहार चिरेर
तिमी क्रुर, घातक घाम बनेर उदायौ
-अनि
अभिमानको टाकुरोमा घुँडा टेकेर
मेरो पीडित आत्माको गहिराईमा डुबेर
तिमी दृश्यपान गरिरह्यौ
धेरै दुखेर दुख्न बिर्सेको
मेरो आलो-पुरानो पीडाहरूको
छिनेर अलग भएको मायाका भावहरूको
नदेखिने मनको अनुभूतिमा अझै छ तिम्रो साथ
बिर्सन नसक्ने आहत तिमी घात !
~०००~
रात बितेपछि आउने बिहान बनेर
झुल्की रहेँ
मौनतामा डुबेको मौन पीडा
मुटु टुटेको महसुस गर्दै
थाहा नभएको अनभिज्ञ भूमिकामा डुबिरहेँ
चकनाचुर भएर क्षत-विक्षत भएको हृदय
भ्रमित आश्वासनमा अन्धो भएर
मैले देख्न सकिनँ
मैले गरेको प्रिय छनोट
जुन गुमाएर अन्धकार भएको औंसीमय
आकाशजस्तै रहेछ तिम्रो साथ
मैले भोगेको आहत घात
~०००~
धेरै अटल अग्लो विश्वास गरें, गहिरो झूटमा विश्वास गरें
आफैँले आफैँलाई बेवास्ता गरियो
आफ्नै आत्मासँग पटकपटक छल गरिरहे
बादलको दुनियाँमा
बालुवाको महल बनाउँदै
उत्साहित भएर उमंगको उत्सव मनाएँ
मैले मेरो मुटुलाई क्यानभास बनाएर
तिमीसँग बिताएका हरेक पलहरूको
सुन्दर चित्र बनाएँ
तिम्रो मायाको भुलभुलैयामा
आफूलाई त्यसै-त्यसै भुलाई राखेँ
कति मीठो थियो तिम्रो साथ
जीवनभर नबिर्सने गर्यौ घात
~०००~
अब म चिरा-चिरा परेर
चकनाचुर सपनाहरूसँग बाँकी छु
एक डरलाग्दो यथार्थमा, म यस्तै-यस्तै देखिन्छु
पछुताउन मन छैन, मनले मनलाई सताउँदै
प्रेमको शोकमा पर्दा
फेल बनाउन आएको असफलता
आफैँले बनाएको घाउको पीडा
विचित्रमय दु:खको दुखाई दिने धुन
म आफ्नै दर्दनाक जिन्दगीको कथा हुँ
खत बसिसकेको घाउहरूबाट सिक्दैछु
हृदयलाई पुन: निर्माण गर्ने सपथ
सम्झना बाँच्न जानेको अँगालोको स्पर्श
जुनीभरि अनुभूतिमा बाँचिरहने
नपाउने मीठो साथ
भुल्न नसक्ने कालो घात !
~०००~
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।