स्थिर छैन तन
कहिले गर्छ तलमाथि
कहिले वारिपारि
कहिले हुन्छ दायाँ बायाँ
चञ्चल भइरहन्छ मन ।
तलाउ झैं शान्त मनमा
अचानक छाल आइदिन्छ
आँधी बेहरीसँगै
वर्षा बर्सिन्छ
आकाश धर्ती वेगले गर्जन्छ
क्षण भरमै
क्रान्तिकारी मनले
सुन्दर बस्ती उजाड बनाइदिन्छ।
अनियन्त्रित मनले एक्लै
ब्रह्माण्डको नियन्त्रण गर्छु भन्छ
बेथिति र अराजकताको विरुद्ध
न्याय र सत्यको पक्षमा
आवाज बुलन्द पार्छु भन्छ ।
बिचरा मन
शासकको सनकमा पर्छ
स्वतंत्रता र मौलिक हक रोज्दा,
झ्याल खानामा गएर थुनिन्छ।
निर्दोष मन !



