“अस्मितालाई कत्रो ठूलो बज्रपात पर्यो ?´´ उसको श्रीमानको मृत्युप्रति साइँली दिदीले सहानुभूति बाढ्दै भनिन् ।
अस्मिता केवल रोइ मात्र रही । केही बोलिन । सुझाव दिँदै उनले पुन: थपिन् , “यस्तो त आफू खाने शत्रुलाई पनि नपरोस् । तीन- तीन जना छोराछोरी कसरी पाल्छे? बरु नानी , तँ जागिर गर् । पढेलेखेको के काम ? ´´
गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई । साइँली दिदीको सुझाव शिरोधार्य गर्दै उसले जागिरको लागि आवश्यक कागजपत्रसहित् निवेदन हाली । उसको नागरिकतामा श्रीमानको थर ‘लम्साल’ थियो तर उसको प्रमाणपत्रहरूमा माइतीको थर ‘पौडेल’ थियो । यसै विषयमा कर्मचारी र ऊ बीचमा ठूलै विवाद पऱ्यो। अस्मिताले विवाह दर्ताको प्रमाणपत्र पेश गरी र कर्मचारीको मुखमा बुझो लगाई ।
लिखित र मौखिक परीक्षामा राम्रो अङ्क ल्याएर पास गरी । अन्तरवार्ता राम्रो भयो । ऊ ढुक्क भई तर नतिजा आउँदा उसको नाम फेला परेन ।
ऊ आक्रोशित भई ।
गाउँपालिका पुगेर हाकिमसँग ठाडै प्रश्न गरी, “मेरो भन्दा कम अङ्क आएको मानिसलाई किन नियुक्ति गरियो ? आखिर किन ?´´
हाकिमले सहजै भने, “उहाँ त ठूलै नेताको भानिज पर्नु हुँदो रहेछ।´´
भूमिका गैरे, तिमिल्सिना
गैंडाकोट : ४, नवलपुर


