शिक्षा समाजको मेरुदण्ड हो, तर जब शिक्षा मात्र प्रमाणपत्रको व्यापार बन्छ तब यो समाजको पतनको कारण बन्न सक्छ। आज हामी शैक्षिक क्षेत्रको विपर्यासस्थितिलाई नियाल्न प्रयास गर्छौं जहाँ सृजनशीलता र ज्ञानको ज्योति मुनाफा र प्रतिष्पर्धाको अँध्यारोले छोपेको छ।
शिक्षा भनेको केवल किताबका पाना घोट्नु र परीक्षामा नम्बर उठाउनु मात्र होइन; यो जीवनका सत्यलाई बुझ्ने र समाधान खोज्ने आधारशिला हो । तर हाम्रो शैक्षिक प्रणाली विद्यार्थीलाई ‘कामयाब व्यक्ति’ बनाउने नाममा मेसिन जस्तै परिणाममुखी बनाउँदै लगेको छ। यो प्रक्रिया यति विसङ्गत छ कि विद्यार्थीले ज्ञानको मौलिकता बिर्सेर केवल अंकको पछि दौडिरहेको देखिन्छ ।
हाम्रो शिक्षा प्रणाली आलङ्कारिक रूपमा तोडमरोडिएको माला जस्तो भएको छ। जहाँ एकातिर उत्कृष्ट पाठ्यक्रम र शैक्षिक संस्थाहरूको चकाचौंध छ, तर अर्कोतिर ती संस्थाहरूको उद्देश्य व्यापार र मुनाफामा सीमित छ। शिक्षाको उच्च आदर्श भनेको मानव चेतनाको विस्तार र सामाजिक सुधार हो। तर आज शिक्षालाई ‘सस्तो उपभोग्य सामग्री’ बनाएर बेचिँदै छ। अभिभावकले धेरै पैसा खर्च गरेर आफ्ना सन्तानलाई ‘सर्वश्रेष्ठ’ बनाउन खोज्छन्, तर त्यहीँ सन्तानले आफ्नो मौलिकता र सिर्जनशीलता गुमाउँछ।
विद्यालय र विश्वविद्यालयका विद्यार्थीलाई ‘अंक कमाउने मेसिन’ बनाउन सकिन्छ, तर उनीहरूको भित्री चेतनालाई समृद्ध बनाउने प्रणालीको अभाव छ। उदाहरणका लागि हाम्रो शिक्षाले सहिष्णुता, समानता र सहकार्य जस्ता गुणको विकास गर्न सकिरहेको छैन। यसको सट्टा शैक्षिक संस्थाहरू बीचको तीव्र प्रतिस्पर्धाले विद्यार्थीहरूलाई डिप्रेसन र निराशाको गहिराइमा धकेल्दैछ।
शिक्षकलाई ‘ज्ञानको पुजारी’ मानिन्थ्यो, तर आज शिक्षकहरू पनि यो व्यावसायिक र प्रतिस्पर्धात्मक युगमा केवल एउटा उपकरण जस्तै बनिसकेका छन्। उनीहरूको काम केवल पाठ्यक्रम पूरा गर्नु, विद्यार्थीलाई अंक प्राप्त गराउनु र प्रशासनको नियम पालना गर्नुमा सीमित छ। शिक्षकले विद्यार्थीको मौलिकताको विकासमा भूमिका खेल्ने मौका पाउँदैनन्। उनीहरू आफैँ व्यवस्थाको चक्रव्यूहमा फसिरहेका छन्।
शिक्षण पेशा सेवाभावबाट व्यापारीकरणमा रुपान्तरण भएको छ। यो परिवर्तनले विद्यार्थी र शिक्षकबीचको परम्परागत आत्मीयता समाप्त पारिदिएको छ। शिक्षकहरू आजकल अनलाइन कक्षाको प्रविधिमा अधिक निर्भर छन् जसले विद्यार्थी र शिक्षकबीचको अन्तरक्रियालाई कृत्रिम बनाएको छ।
आजको विद्यार्थी शैक्षिक दबाबले यति किचिएका छन् कि उनीहरूको मनोविज्ञानमा नकारात्मक असर परिरहेको छ। परीक्षा केन्द्रित शिक्षाले उनीहरूको सृजनात्मकता समाप्त पारेको छ। उनीहरूलाई सफलताको मतलब मात्र पैसा कमाउनु र समाजमा उचाइ हासिल गर्नु भनेर बुझाइएको छ। यही कारण विद्यार्थीले आफूलाई प्रतिस्पर्धा र तनावको भारी बोकेको अनुभव गर्छन्।
केही समय अघि एउटा विद्यार्थीले आत्महत्या गरेको घटना चर्चा भयो। कारण थियो, परीक्षामा असफलताको डर। यसले हाम्रो शिक्षाको वास्तविकता प्रष्ट देखाउँछ। शिक्षा प्रेरणाको स्रोत हुनु पर्ने हो तर यो बोझको रूपमा परिणत भएको छ।
वर्तमान विपर्यास स्थितिलाई सुधार्न शिक्षा प्रणालीमा निम्न सुधारहरू आवश्यक छन्:
१. मूल्य-आधारित शिक्षा
शिक्षामा मानवता, नैतिकता र सामाजिक उत्तरदायित्व जस्ता विषयलाई प्राथमिकतामा राखिनुपर्छ। विद्यार्थीसँग सहानुभूति र सहकार्यको भावना विकसित गर्नुपर्ने आवश्यकता छ।
२. सृजनशीलता र अनुसन्धानी प्रवृत्तिको प्रवर्द्धन
विद्यार्थीलाई केवल पाठ्यक्रममा सीमित नराखी उनीहरूको सृजनशील सोच र अनुसन्धानात्मक क्षमतालाई प्रोत्साहित गरिनुपर्छ। यसका लागि उनीहरूलाई प्रोजेक्ट-आधारित सिकाइ र समस्या समाधानमा आधारित अभ्यासमा सहभागी गराउनु पर्छ।
३. शिक्षकको भूमिकाको पुनः परिभाषा
शिक्षकलाई व्यवस्थाको नोकर बनाउने होइन, उनीहरूको ज्ञान र सृजनशीलताको स्वतन्त्रता सुनिश्चित गर्नुपर्छ। शिक्षण पेशामा पुनः सेवाभावको भावना भर्न शिक्षकलाई प्रोत्साहन गरिनुपर्छ।
४. परिणाममुखी भन्दा प्रक्रियामुखी शिक्षा
शिक्षामा परिणाम भन्दा प्रक्रियामा जोड दिनु पर्छ। विद्यार्थीले सिकाइका क्रममा अनुभव गर्ने र सिक्ने प्रक्रिया महत्त्वपूर्ण हुनुपर्छ।
निष्कर्ष
शिक्षाको उद्देश्य भनेको केवल व्यक्तिको सफलताको परिभाषा निर्धारण गर्नु मात्र होइन, समाजलाई समृद्ध र सन्तुलित बनाउनु पनि हो। तर वर्तमानमा शिक्षा प्रणाली आफ्नो मूल उद्देश्यबाट भट्किएको छ। यो समय हो जब हामीले शिक्षा क्षेत्रको वास्तविकता स्वीकार गरी यसलाई सुधार्ने ठोस कदम चाल्नुपर्छ।
विद्यार्थी, शिक्षक र समाज सबैको साझा प्रयासबाट मात्र यो विपर्यास स्थितिलाई सुधार्न सकिन्छ। शिक्षा केवल रोजगारको माध्यम मात्र होइन; यो जीवनको सम्पूर्णता बुझ्ने माध्यम हो। यसलाई सही मार्गमा हिँडाउनु आजको आवश्यकता हो।
– नन्दलाल आचार्य
बेलका, उदयपुर ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।