“ममी ममी हेर्नुस् न हाम्रो परेवाले आफ्नो बच्चालाई चुच्चो जोडेर के गरेको ? हेर्नुस् न छिटो ।” परेवातिर देखाउँदै आयुष्माले रमाउँदै भनिन् ।
“ए ए, त्यो! त्यो त परेवाले आफ्नो बच्चालाई चारो खुवाएको नि, तिमीलाई थाहा थिएन ?”
“अहँ, थाहा थिएन ममी । अनि परेवाले जसरी नै सबै आमाहरूले आफ्ना बच्चालाई चारो खुवाउछन् हो ?”
“होइन छोरी, प्रायःजसो चराहरूले आफ्ना बच्चालाई मुखमा मुख जोडेर चारो खुवाउछन् । तर सबैले चाँहि होइन नि, बुझिराख ।”
छेउमा बसेर दिदी र ममीको कुरा सुनिरहेका आशिषले भने, “ममी, मलाई र दिदीलाई पनि तपाईंले त्यसैगरि खाना खुवाउनु भएको हो ?”
आशिषको कुरा सुनेर आमा घतले हाँस्नुभयो र भन्नुभयो, “होइन नि, मैले त तिमीहरूलाई छ महिनासम्म मेरो दुध मात्रै चुसाएँ । छ महिनापछि दुधसँगै नरम लिटो, जाउलो जस्ता पोषिला खानेकुरा पनि खुवाएँ । त्यही भएर त तिमीहरू दुवैजना अहिले एकदम स्वस्थ र फुर्तिला छौ ।”
“अनि परेवाले चाँहि आफ्ना बच्चालाई दुध खुवाएन त ममी ?”
“अहँ, परेवा, ढुकुर, जुरेली, कागजस्ता चराहरूले आफ्ना बचेराहरूलाई दुध खुवाउँदैनन् । तर चमेरो चरो भए पनि दुध चुसाउँछ । दुध चुसाउने प्राणीलाई स्तनधारी प्राणी भनिन्छ, बुझ्यौ ?”
राति सुत्नेबेलामा पनि आयुष्माले चराचुरुङ्गीहरूकै बारेमा सम्झेर सुतिन् ।
एउटा जुरेली ‘खै जुरेली, खै जुरेली भन्दै उनको छेउमा आएर बस्यो । उनले रमाइलो मान्दै नियालेर हेरिन् त, टाउकामा सिउर ठडिएको थियो । जुरेली झन नजिकनजिक आयो । त्यसपछि त्यो जुरेलीले आयुष्मालाई आफ्नो ढाडमा बोक्यो र उड्यो । उनी झण्डै नखसेकी ! दुवै हातले च्याप्प जुरेलीको सिउर समातेपछि भने उनलाई सजिलो भयो । अब भने उनी आकाशको हावामा कावा खाँदै आनन्दले संसार विचरण गर्न थालिन् ।
जुरेलीले उनलाई जङ्गलतिर लिएर गयो । पोथ्राको हाँगामा सुकेका घाँस, त्यान्द्रा र छेस्काहरू बटुलेर बनाएको आफ्नो घर, गुँड देखायो । आफ्ना साथीसंगीसँग चिनजान गरायो । त्यहाँ उसले शान्त स्वभावका तित्रा, कालिज, कोटेरो, मालेचरो, फिस्टो र काँडेभ्याकुरसँग भेटघाट गरायो । छुच्चो चिबे, बाज, चील र कागसँग भने सर्तक रहनुपर्ने कुरा बतायो । आयुष्मा भने जुरेलीका मीठामीठा कुराले मोहित भइरहेकी थिइन् । आसपासमा फलेका घंङारु ऐंसेलु र काफल आदि फलाहारपछि उनीहरू दुवै फेरि रमाइलो यात्रामा निस्किए ।
लामो उडानपछि जुरेली समथर भूभागको अग्लो रुखमा गएर सुस्तायो । सुरिला अग्ला, टुप्पातिर चाँहि झ्याम्म पात र ससाना हाँगा भएका त्यतातिरका रुख हेर्दै आयुष्मालाई अनौठो लाग्यो । यी नरिवल र सुपारीका रुख हुन् भनेर जुरेलीले नै चिनाइदियो । यसो यताउता हेर्दा देखियो, पूर्वतिर ढोका भएका देख्दै मनमोहक गुँड, कति मेहनत गरेर बनाएको होला ! छक्क परेकी आयुष्मालाई देखेर जुरेलीले भन्यो, “यी त तोपचराका गुँड हुन् । तोपचरासँग मैले मीत लगाएको छु । त्यही भएर घुम्ने बहानामा मीतज्यूसँग पनि भेटूँ भनेर यहाँसम्म आएको । “खै जुरेली, खै जुरेली”
जुरेली, “खै जुरेली, खै जुरेली” बोल्दै एउटा रुखबाट अर्कोमा उड्दै निकैबेर चहार्यो । घाँसेमैदान पुग्यो । जुरेलीको आवाज सुनेर त्यताका अरु चराहरू पनि चिरबिराउन लागे । तोपचराहरू पनि कराउन थाले । केही समयपछि एउटा तोपचरो जुरेली भएकै रुखमा आएर बस्यो । दुवैले एकअर्कालाई नियालेर हेरेपछि चिनिहाले । धेरै समयपछि मीतमीत भेट भएका थिए । खुसीले पुलकित हुँदै चुच्चा जोडे, कानेखुसी गरे । त्यसपछि मीतज्यूसँगै जुरेली खेतमा गयो । तोपचराले बालीबिरुवामा लाग्ने ससाना कीराहरू जम्मा गरेर मीतज्यूको सेवा सत्कार गर्यो । त्यसपछि आफ्नो गुँड भएको नरिवलको रुखमा लग्यो र आफन्तजनसँग भेटघाट गरायो ।
भलाकुसारी र गन्थनमन्थन पछि जुरेलीले मीतज्यूसँग बिदा माग्यो र हामी त्यहाँबाट अझै दक्षिण दिशातिर लाग्यौं । हामी त दशगजा काटेर भारत पो पुगिसकेछौं ।
छक्क परेकी आयुष्माले जुरेलीलाई सोधिन्, “अहो ! हामी त अर्कै देशमा पो आइपुगेछौं त, यसरी अर्काको देशमा बिना अनुमति आउन पाइन्छ त ?”
जुरेलीले मुस्कुराउँदै उत्तर दियो, “हामी चराहरूलाई के देश, के विदेश सारा संसार एकै हो । हामीलाई कतै छेकबार छैन । हाम्रोतिर पनि टाढाटाढा साइबेरियादेखि साथीहरू आउँछन् । हामीलाई त डर केवल शिकारीदेखि हुन्छ । अनि वनजङ्गल फडानी गरेर हाम्रो वासस्थान मास्ने मान्छेसँग डर छ, अरू त आनन्दै छ ।”
जुरेलीले अझ कताकता घुमाउन खोज्दै थियो । आयुष्माले भनिन्, “अब त आफ्नै घर फर्किनुपर्छ ।” उसले आफ्नो दिशा मोड्यो । अनि फेरि चुरेपहाडको माथिमाथि पुगे । अगाडिको घना जङ्गलमा एकछिन रोकिए । त्यहाँ लामपुच्छ्रे, सारौं, मयूर र अरूअरू साथीहरूसँग भेट भयो । जुरेलीकै सगोत्रीहरू पनि भेटिए । उसले एकछिन भलाकुसारी गर्यो ।
आयुष्माले निद्रामै “खै मेरो जुरेली, खै जुरेली ….” भनिन् ।
आमाले झक्झकाउँदै, “के भयो छोरी, के भयो ?” भनेर बोलाइन् ।
“म त सपनामा जुरेलीसँग संसार घुम्न पो गएको रहेछु आमा ।” आयुष्माले आमातिर हेर्दै भनिन् ।
आमाले, “यो कुरा सम्झेर भोलि बिहान कापीमा लेख्नू है !” भन्नुभयो ।
“लेखेर के गर्नू त आमा ?” उनले बालसुलभ जिज्ञासा राखिन् ।
आमाले गाला सुम्सुम्याउँदै भन्नुभयो, “स्कूलमा गुरुआमालाई देखाउनू ।”
आयुष्मालाई त कहिले बिहान हुन्छ जस्तो भयो ।
भोलिपल्ट बिहान सबेरै उठेर आयुष्माले राम्रा अक्षरमा जुरेलीसँगको यात्रा लेखिसिध्याइन् । त्यहाँ एउटा जुरेलीको चित्र पनि बनाइन् । जुरेली अहिल्यै भुर्र उड्लाजस्तो थियो ।
– कुमार काफ्ले
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।