प्रत्येक बिहान उज्यालो हुनु भन्दा अघि
तिमी मेरो सपनीमा बार–बार आइरहन्छ्यौ
जूनको सितल उज्यालो लिएर ।
म त्यही जूनको उज्यालोमा
हेरिरहेछु
तिम्रा चञ्चल आँखा,
गुलाबी ओठ,
फूलजस्तै हँसिलो मुहार ।
सपनीमा –
हामी कहिले खोलामा जान्छौं
खोलाकै गीत सुन्छौं ।
हामी कहिले बगैंचामा पुग्छौं
फूलहरुसँगै रमाउँछौं ।
हामी कहिले खुल्ला पहाडको काखमा बस्छौं
र स्वप्निल मिठा–मिठा वार्तालापमा हराउँछौं ।
जीवनमा कसैसंग
माया बसेको छैन् ।
तिमी प्रेमिका पनि होइन ।
तर प्रेमिका झै
सपनीमा आउँछ्यौ
अनि मेरा हात समाएर लैजान्छ्यौ
सुन-सान-सुन-सान
एकान्त
प्रेमील बस्तीमा ।
जहाँ –
तिमी बोल्छ्यौ,
म सुन्छु ।
तिमी मलाई हेर्छ्यौ,
म तिमीलाई देख्छु ।
तिमी मेरै सामुन्ने आएर बस्छ्यौ,
म एक्लो हुन्न ।
तिमी रमाउँछ्यौ,
म खुसी हुन्छु ।
तिमी दायाँ हातको चोरी औँलाले गुराँसको फूल देखाउँछ्यौ,
म त्यही फूल टिपेर तिम्रो सिरमा सिउरिदिन्छु ।
म तिमीलाई स्पर्श गर्छु, तिमी स्पर्शको पैँचो तिर्छ्यौ ।
तर त्यो स्पर्श हुँदैन ।
त्यो सपनी हुन्छ ।
मैले देखेको सपनी मलाई मात्र याद हुन्छ ।
मैले सुनाए पछि मात्र तिमीलाई थाहा हुन्छ ।
बिउझिए पछि –
तिमीलाई सम्झिन्छु र सोच्ने गर्छु
किन आइरहन्छ्यौ
हरक्षण हररात मेरो सपनीमा ?
तिमी आउँदा किन हुँदैन मलाई ऐँठन
किन रमाउँछ मेरो मुटु
कि उमारी सक्यो
मुटुले तिम्रो निम्ति मायाको पालुवा !
लाग्छ –
हामी बिच कुनै सम्बन्ध छ
कि त्यो सम्बन्ध पूर्वजन्ममा हुनुपर्छ,
कि यो जन्ममा हुन बाँकी नै छ ।
यदि केही नहुँदो हो त
किन दिन्थ्यो सपनिले पल–पलमा संकेत ।
भनिन्छ बिहानीले दिनको संकेत गर्छ ।
ज्योतिषहरु भन्छन् सपनाले भविष्यको संकेत गर्छ ।
पक्कै पनि यो हाम्रो मिलनको संकेत हुनुपर्छ ।
जीवनको बाटो हिँड्दै गर्दा
एका–एक मेरा पैताला रोकिए
गन्तव्य बिर्सिएको यात्री झै ।
रोकिए चौतारीको एक्लो बर झै
तिमीलाई पर्खिएर
आँखाहरूले खोजिरहे तिमीलाई
आँखाहरू बिछ्याइरहेको छु तिमी आउने बाटोमा…
– बिक्रम पौडेल
तेह्रथुम
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।