म एउटा मृत शरीर, केही मलामी खाेजिरहेकाे छु,
मेराे लास बाँधिएको खट उसकाे काँधमा पराेस्
ऊ एकाेहाेराे शंख फुक्दै मेराे घाट तर्फ बढाेस्
घरिघरि हतारमा लाभा र सिक्का छराेस्
रामनाम जप्दै मलिन मुहारले मलाइ सम्झियाेस्
म मृत शरीर, केही मलामी खाेजिरहेकाे छु।।
मेरा मलामी उम्मेदवारहरु व्यस्त छन्,
उनीहरुलाइ हतार छ, हताश छ, जीउनु मात्रै छ उनीहरुलाई
उनीहरु मेराे लास चिता नचढी बहान चढ्छन्
भेट्नु छ उनीहरुलाई अजम्बरी आयु,
राख्नु छ कैद गरेर दिर्घजीवन।
बस्नु छैन मेराे लासकाे अन्तिम यात्राकाे साक्षी
म केही मलामी खाेजिरहेकाे छु।
म चाहन्छु मेराे चिता दहनकाे साक्षी बनाेस् मेराे मलामी
मेराे चितामा दाउरा थपाेस् मेराे मलामी
म अग्नीले दहन भइरहँदा उसँगकाे विगतले भक्कानियाेस्
घरि मेराे चिता हेराेस्, घरि पर क्षितिज हेर्दै टाेलाओस्
मेरा चिताकाे खरानी पखाली आफूलाई पखालाेस्
म मृत शरीर, केही मलामी खाेजिरहेकाे छु।
अक्सर मानिस व्यस्त छ,
ऊ मृत्यु जित्ने दाैडमा छ
ऊ चिरञ्जीवी हुन चाहन्छ
अनन्त आयुकाे कामना गर्छ
तर
म मृत शरीर, केही खेताला मलामी खाेजिरेकाे छु
केही खेताला मलामी खाेजिरहेकाे छु।।
– विनय इलामेली



