सदाझै आज पनि ऊ बाबाकाे आश्रममा गयाे । आज पनि शरीरभरि घाउ र चाेटपटक देखेर बाबा आश्चर्यमा परे ।
‘बाबु, तपाईंले गृहस्थ जीवन नत्यागुञ्जेलसम्म कुटपिट र दुर्व्यवहारबाट मुक्ति नपाउने हुनुभयाे । मैले त जम्मा ५ वर्ष मात्र पुरुष हिंसा सहेकाे थिएँ ।’ ‘बाबाले कुरा बुझेर ऊतिर हेर्दै भने ।
‘बाबाजी, मैले त १६ वर्षसम्म पुरुष हिंसा सहेर बसें । अब त बानी परिसक्याे । मलाई त श्रीमतीले कुटेकाे, गाेदेकाे, थुकेकाे र दुर्वाच्य बाेलेकाे पनि सामान्य झै लाग्छ अचेल।’ उसले खुइय्य गर्दै भन्याे ।
‘रिस र अहङ्कार धेरै भएका व्यक्तिहरूलाई अर्ती उपदेश पच्दैन, सुझाव सल्लाह पनि रुच्दैन । बुद्धि विवेकलाई तिलाञ्जली दिएर आफूखुसी गर्न पाए मात्र खुसी हुन्छन् । लाेकले असल र इमान्दार ठहर्याएको व्यक्तिलाई पनि उनीहरू पापी र अपराधी देख्छन् । ‘बाबाले आफ्नाे भाेगाइ ओकले ।
‘बाबाजी, हजुरकाे र मेराे कहानी उस्तैउस्तै छ । फरक के छ भने हजुरले मुक्तिकाे बाटाे राेज्नुभयाे तर म भने भुक्तमान सहेर घरमै बसिरहें ।
‘तपाईं मुक्ति राेज्नुहुन्छ कि भुक्तमान?’ बाबाले साेधे ।
ऊ केही बोलेन । एकछिन राेकिएर कुरा छल्दै ऊ बाेल्याे- ‘ बाबा, आज म यहीँ बस्छु है!’
‘किन एकदिन मात्र? सधैँ बसे पनि हुन्छ नि!’ बाबाले हाँस्दै जवाफ दिए ।
‘आज मेराे विवाहकाे अठारौं वर्षगाँठ हाे । अरू दिनभन्दा वर्षगाँठकाे दिनमा उनले बढी शारीरिक र मानसिक यातना दिने गर्छिन।’ उसले रून्चे स्वरमा जवाफ फर्कायाे ।
– नवराज न्याैपाने ‘माैन’
मातातीर्थ, बालागाउँ, काठमाडौं।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।