“बाबा ! बाबा ”
हस्याङफस्याङ गर्दै उसको अगाडि उभिन्छ छोरो ।
भकारो सोहोर्दासोहोर्दै टक्क अडिएर हेर्छ धनबहादुर छोरातिर अचम्म मानेर ।
“बाबा, हजुरको एस एल सी चालीस साल (२०४०) को होइन ?”
“हो त, किन चाहियो तँलाई ?” आश्चर्य गहिरिन्छ ।
“हजुरका साथीहरुको भेला छ पर्सि हाइस्कुलमा, चालीस साले एस एल सी वालाहरुको । बिहान १० देखि ११ का बीच स्कुल पुगिसक्नुपर्छ रे ।”
“कसले भन्यो तँलाई ?” थोरै उज्यालिएका आँखाहरुले छोरातिर हेर्दै सोध्छ ।
“फेसबुकले ।”
मुबाइलतिर देखाउँदै भन्छ छोरो– “गोविन्द अंकलले शेयर गर्नुभएको रहेछ । हजुरको क्लासफ्रेन्ड होइन गोविन्द अंकल ?”
“हो त, के लेख्या छ, पढेर सुना त !” उत्सुकता बढ्छ ।
“हजुरहरुसँगै पढेको शैलेन्द्र अंकलले भेला गराउनु भएको रे साथीहरुका खबर बुझ्न । खाजापानीको सारा खर्च पनि उहाँले नै व्यहोर्ने रे !”
“हो र ? निकै प्रगति गर्या छ रे शैलेन्द्रले । एकपल्ट भेट्नैपर्ला नि त उसैले बोलाएपछि । ठूलो मान्छे भए पनि स्कुले जीवनका साथीभाइलाई सम्झेछ, राम्रो कुरा हो ।………….. अँ, अनि सुन् त, त्यो बाकसमा राखेको सर्ट पाइन्ट खुम्चिएको होला, आइरन गरेर राखिदे है !”
“हस्, म अहिले नै गर्दिन्छु ।” पहिलोपटक काम नगरी फेसबुक चलाउँदा गाली खान नपरेकोमा पुलकित हुन्छ छोरो ।
अकस्मात अनौठो स्फूर्ति सञ्चार हुन्छ धनबहादुरका तनमनमा । स्कुले जीवनका थुप्रै दौँतरीहरू नाच्न थाल्छन् आँखाअघि । समयले पुर्दै लगेका स्मृतिहरू आलो भएर आउँछन् । सम्झिन थाल्छ रामेश्वर, कलशे, धनमाया, कविते, विष्णुकुमारी, नरे, कैलाशे, नयने, काली, फुलवा, जंगे आदि आकृतिहरूलाई । कस्ता कस्ता भए होलान् ? को को आउँछन् होला ? उसको र धनमायाको नाम मिलेकैले जिस्काउँथे साथीहरुले । बाहिर रिसाएजस्तो गरे पनि काली काली, हिस्सी परेकी धनमाया मन पर्थी नि उसलाई पनि । लुकीलुकी हेर्थी नि धनमाया पनि । ओहो, कहाँ बिहे भयो होला उसको ? कस्ती भइहोली ? छोराछोरी कति भए होलान् ? कहिलेकाहीँ सम्झँदी हो कि ऊ पनि ? धनमायाकै कारण प्रतिद्वन्द्वी जस्तो बनेको नयने कहाँ होला ? एकपल्ट उसले नयनेको नाथ्रो फुटाइदिएको सम्झेर एक्लै मुसुक्क हाँस्छ । रुँदैरुँदै, बाहुलाले सिँगान पुछ्दै अलिपर पुगेपछि ढुंगाले हानेर भाग्याथियो नयने । कसो आँखा नफुटेको उसको । दाहिने आँखामाथिको खत छाम्छ ।
अनगिन्ती यादका लहरहरु तँछाडमछाड गर्दै आउँछन्, जान्छन् । साँच्चि को को आउँछन् होला है ? चालीस सालमा एस एल सी दिएका ९१ जनामा सबै त के आउँथे होला र ? मनमा तर्कनाहरु उठिरहन्छन् । आज पहिलो पटक छोराको फेसबुकसँग मनमनै प्रसन्न हुन्छ ऊ । वास्तवमै गज्जबको चीज रहेछ यो फेसबुक भन्ने त !
छोराले इस्त्री गरिदिएको सर्ट पाइन्ट लगाउँछ धनबहादुर । बिहेपछि मुश्किलले ३/४ पटक लगाएका जुत्ता पनि टलक्क पारिदिएछ छोराले । दुई जोर मोजा, दुबै फाटेका । ओल्टाइपल्टाइ हेर्छ । छोराले आफ्नो मोजा ल्याएर दिन्छ । छोरातिर हेरेर फिसिक्क मुस्कुराउँछ वेदना र धन्यवाद एकसाथ मिसाएर । बिहेको घडी पनि उहिल्यै बिग्रिहाल्यो, फेरि किन्न सकेको होइन । स्वयंवरमा ससुरालीले दिएको आठ आनाको औँठी पनि श्रीमती सुत्केरी हुँदा मासिएको, फेरि बनाउन सक्ने दिन कहिल्यै आएन । बल्लतल्ल १२ पास गरेको छोरोलाई अगाडि पढाउन सकेको थिएन । छोरीले १० मा पढ्दापढ्दै आफैँ बिहे गरी । धन्न अहिलेसम्म त ठीकै छ, रुँदै माइत आएकी छैन । विदेश जाने हठ लिएर बसेको थियो छोरो । विदेश पठाउन पनि पैसा नै चाहियो । तिर्ने बाटो नदेखेपछि न आफन्त, न छिमेकी कसैले पत्याउन्न रहेछन् । दुर्भाग्यवश छोरो रातो बाकसमा फर्कियो भने ऊमाथि गरिएको लगानी कसरी फिर्ता लिने ?
आज चाहिँ धनबहादुरका मनमा नौलो आशा पलाएको छ । आफन्त र इष्टमित्रले नपत्याएर के हुन्छ ? जसको कोही छैन, उसको भगवान सहारा हुन्छ भनेको यहीं रहेछ । त्यत्रो ठूलो मान्छे भइसकेर पनि दशैँ विदामा साथीभाइ सबै घर गाउँतिर भेला हुन्छन् भनेर शैलेन्द्रले भेटघाट कार्यक्रमको आयोजना गरेको छ । शैलेन्द्रलगायत अरु साथीहरुसँग सहयोग माग्ने निश्चयमा पुग्छ धनबहादुर । साथीभाइ भनेका साथीभाइ नै हुन् नि ! एक्लो शैलेन्द्रले मात्रै पनि सहयोग गर्न सक्छन् चाहे भने नत्र २/४ जना साथीहरुले मिलेर थोरैथोरै मात्र सहयोग गरे भने पनि छोराको विदेश जाने सपना पूरा हुने नै छ । गएको ३/४ महिनामा त ऋणपान कसो चुक्ता नगर्ला त ? त्यसपछि त हाम्रा पनि दिन फिर्लान् नि गाँठे ! आज मेरो गरिबीलाई उपहास गर्ने यी आफन्त र छिमेकीहरुलाई म पनि देखाउँला नि, एकपल्ट छोरो विदेश पस्न त पाओस् ।
मीठा तरंगमा तरंगिदै स्कुल पुग्छ धनबहादुर । स्कुल चौरको एक कुनामा पार्किंग गरिएका बाइक र गाडीका लस्करहरु देख्छ । सबैभन्दा ठूलो, चिल्लो र चम्किलो गाडीतिर हेर्दै लख काट्छ– ‘यो पक्कै पनि शैलेन्द्रको कार हुनुपर्छ । साथीहरुका चिल्ला गाडी र मोटरसाइकलहरुतिर नजर दौडाउँदै उनीहरुका भौतिक प्रगतिका बारेमा सोच्दै छोराले आइरन गरिदिएका आफ्ना बिहेका लुगातर्फ दृष्टि लगाउँछ । स्कुलसम्म पैदल आइपुग्दा धुलाम्य बाटोले गर्दा छोराले बिहान टल्काइदिएका जुत्ताको टलक पनि धमिलिइ सकेछ । कताकता हीनताभास हुन्छ, उत्सुकता सेलाए जस्तो हुन्छ । त्यतिबेलै एउटा बाइक पार्क गरेर त्यतै आउँदै गरेको सुन्दर जोडीमाथि आँखा ठोक्किन्छ । कैलाशे …….. ! आवाज घाँटीसम्म आएर रोकिन्छ । नजिकै आउँछ कैलाश जोडी ।
“तिमी …… धने होइनौ ?” आँखाबाट कालो चश्मा झिक्दै सोध्छ ऊ । “हो त …. ।” बडो मुश्किलले आवाज निस्किन्छ ।
“हैट, कस्तो बुढो देखिएको, चिन्नै नसकिने ! अनुहार पनि पूरै चाउरिएछ, हेर कपाल पनि पो सेतै भएछ त !” मेहन्दीले रंग्याएको आफ्नो कपाल मिलाउँदै भन्छ कैलाश केही उपेक्षित भावमा । त्यतिबेलै अर्को बाइकबाट अर्को जोडी उत्रिएर आउँछ । हँसिलो मुहारसाथ कैलाश त्यो जोडीको स्वागतार्थ अगाडि बढ्छ ।
“ओहो ! नयनजी, आइपुग्नुभयो ?” हात बढाउँछ कैलाश ।
“आइपुग्यौँ कैलाशजी ! कति धुलो हो बाटोमा ! कहिल्यै प्रगति नहुने भयो यो ठाउँको ।” जोसिलो पारामा हात मिलाउँदै धुलो बाटोसहित गाउँको उन्नति नभएको ‘दुखेसो’ पोख्छ नयन ।
“आ, नयनजी ! टेन्सन नलिनोस्, हामी सधैँ यहीँ बसिरहने पनि त होइनौँ । दुईचार दिनको कुरा न हो ।” तत्पश्चात आ–आफ्ना जीवन सहचरीहरुको परिचय तथा अभिवादन आदान प्रदान हुन्छ । चारैजना कार्यक्रम हलतिर बढ्छन् । अकस्मात पछाडि फर्किन्छ कैलाश– “नयनजी, यिनलाई चिन्नुभो ?” मुस्कान गहिरिन्छ ।
“ओहो, धने होइन ? कस्तो नचिनिने, बुढो मान्छेजस्तो भएछौ तिमी त ! बाइ द वे, मलाई त चिन्यौ होला, एक जमानाको प्रतिद्वन्द्वी थियौँ नि हामी, याद छ ?” गललल हाँस्छ, साथ दिन्छ कैलाश उस्तै हाँसोले अनि दुबैका अर्धाङ्गिनीहरुका मोहक मुस्कान पनि थपिन्छन् ।
“साँच्चि के नाम पो थियो तिम्री हिरोइनको ?” फेरि सोध्छ नयनसिंह उहीँ हाँसोसहित । दिमागमा चोर औँलो राख्दै सोचेको अभिनय गर्छ– “अँ, याद आयो, धनमाया ….. । कहाँ छिन् धनमाया हँ धनबहादुर ? तिमीले उनीसँगै बिहे गरेको हो ?” पुनः प्रश्न नयनको ।
मनमनै विचार गर्छ धनबहादुर– ‘मान्छे पढेर, सम्पत्ति कमाएर या उमेरले कहाँ ठूलो हुँदो रहेछ र ? बच्चा बेलामा जस्तो थियो, उस्तै त रहेछ नयनसिंह ।’ मुसुक्क मुस्काउँछ मात्र नयनतिर हेरेर ।
“ल जाऊँ, जाऊँ, शैलेन्द्रजीलाई भेट्नु छ यार, केही प्राइभेट कुरा गर्नु छ । “कैलाश पूर्णविराम दिन्छ कुराकानीलाई ।
“धनमायालाई पनि ल्याएको भए हुन्थ्यो नि धने, एक्लै आएछौ ।“ हाँस्दै भन्छ नयनसिंह र उसको जवाफको प्रतीक्षा नगरी चारैजना हलतिर लाग्छन् । सुस्त सुस्त पाइला चाल्दै धनबहादुर पनि पछि लाग्छ ।
“कसलाई खोज्नुभएको बाजे ?” ढोकामा खटिएको कर्मचारीको आवाज तीरजस्तै तिखो प्रतीत हुन्छ । नयनसिंह फनक्क पछि फर्किन्छ । अक्क न बक्क परेको धनबहादुरको फुस्रो अनुहारतिर हेर्दै कुटिल मुस्कानसाथ सुरक्षाकर्मीलाई भन्छ– “उसलाई नरोक्नु, भित्र पठाइदिनु ।”
अलि आश्चर्य मान्दै सुरक्षाकर्मी बाटो छोडिदिन्छ । लज्जा र हीनताबोधको भावनाले दबिएको धनबहादुर शिर झुकाएर बिस्तारै भित्र पस्छ र कतै नहेरी पछाडिको बेन्चमा गएर खुसुक्क बस्छ । बिहान यहाँ आउनु अगाडिको सारा उत्साह मरेर जान्छ । यसो एकपल्ट महँगा टाइसुटमा सजिएका पुरुष मित्र तथा गरगहनाले छपक्क छोपिएर नाक भाँच्चिने गरी अत्तर मग्मगाएका महिला मित्रहरुतिर सर्सर्ती नजर दौडाउँछ । हेर्दै जाँदा ऊभन्दा ठीक अघिल्लो बेन्चमा बसेकी महिलामाथि दृष्टि पर्छ जो पछाडि फर्किएर उसैलाई हेरिरहेकी हुन्छे । “धनमाया !” अकस्मात ओठबाट हर्षध्वनि फुत्कन्छ । धनमाया पछाडिको बेन्चमा आएर उसैसँग बस्छे । ओहो, सेतै फुलिछ धनमाया पनि । पहिलाको त्यो टम्म भरिलो शरीर खङ्ग्रङ्गै सुकेछ, अनुहारभरि चाउरी धर्साहरु देखिन थालेछन् ।
“के छ तिम्रो खबर ? निकै दुब्लाइछौ नि !”
“ठीकै छ धनबहादुर ! तिमी पनि त दुब्लाएछौ ।” टिठ्याउँदै भन्छे ऊ ।
“अँ……..।” यति मात्र भन्छ धनबहादुर ।
एकछिनपछि सोध्छ– “तिमीले कसरी थाहा पायौ यो जमघटका बारेमा ?”
“छोरीले भनेकी । फेसबुक हेरेर थाहा पाइछे ।”
“ए, ए, मलाई पनि छोराले भनेको ।” मौन हुन्छन् दुबै ।
भित्र उकुसमुकुस छ तर शब्द छैनन् । कुनै समयका एकै कोठाका सहपाठीहरुका गतिविधि नियाल्न थाल्छन् पछाडि बसेर ।
केहीबेरमा जंगे र राधेश्याम पनि जोडिन आउँछन् उनीहरुको समूहमा । अरु साथीहरु आ–आफैँमा मग्न देखिन्छन्, कोही मोबाइलमा, कोही गफगाफमा । जस्ताले त्यस्तैको सँगत र सामीप्यमा शान्ति र खुसी महसुस गर्दोरहेछ । अन्य साथीहरुबाट लगभग उपेक्षित ती चार जनाको एउटा समूह बनेको छ । उनीहरु पनि आफ्नै दुखसुखका कुराकानीमा हराउँछन् । कार्यक्रम सुरु हुन्छ । चालीस सालका ९१ विद्यार्थीहरुको नामावली लिएका रहेछन् शैलेन्द्रले स्कुल रजिस्टरबाट । उनी एक एक गर्दै नाम बोलाउन थाल्छन् । उपस्थित साथीहरु आफ्नो पालोमा अगाडि गएर आफ्नो बारेमा बोल्न थाल्छन् । वर्तमानको बसाइ, शैक्षिक योग्यता, पेशा, घरबार, बालबच्चा लगायतका कुराहरु । कसैकसैले पति या पत्नी त कसैले छोराछोरी पनि लिएर आएका छन् । प्राय जसो सबै आफू निकै उच्च ओहदामा बसेर देशको सेवा गरिरहेको कुरा सगौरव सुनाउँछन् । त्यत्रा ठूल्ठूला देशका ‘सेवक’हरुका सामु खेती किसानी गर्ने र हिलोमैलोमा रमाउने धनबहादुर र धनमायाहरुको के अस्तित्व तैपनि औपचारिकता पूरा गरिन्छ । उनीहरु पनि मसिनो स्वरमा आफ्नो ‘महत्वहीन’ परिचय दिन्छन् ।
मनमनै सोच्छ धनबहादुर– ‘सुकिला पोशाकवाला देश सेवकहरुका पेट भर्न घोटिएका खस्रा हातहरु र चर्को घाममा पिल्सिएर असमयै चाउरिएका छालाहरु हिजो पनि उपेक्षित नै थिए, आज पनि उपेक्षित नै त छन् ।’ उसलाई त्यहाँ आउनु नै गल्ती भए झैँ लाग्छ । फेरि सोच्छ– ‘पैसा कमाउना साथ सबै साथीहरु कैलाश र नयन जस्ता मात्रै त नहोलान् नि । एकपल्ट शैलेन्द्रसँग आफ्ना कुराहरु राख्नुपर्यो, जे त होला ।’
असीमित धनदौलत सँगै उचालिएको शैलेन्द्रको व्यक्तित्व चानचुने हुने त कुरै भएन । अरौटे, भरौटे र पछौटेका लस्करले सितिमिति कहाँ साथ छोड्नेवाला थिए र तर जसरी पनि धनबहादुरले कुरा राख्नु छ । उनलाई भेटिछाड्ने अठोट छ उसको । कुराकानीसँगै विभिन्न स्वादिष्ट व्यञ्जनको आनन्द लिन थाल्छन् साथीहरु । जीवनमै नदेखेका परिकारहरुले पनि आकृष्ट गर्न सक्तैनन् धनबहादुरलाई । कसोकसो शैलेन्द्रको नजिक पुग्छ तर वाक्य फुट्दैन । के भनेर सम्बोधन गरोस् ? शैलेन्द्रजी कसरी भन्नु त्यत्रो ठूलो मान्छेलाई ? सर भन्नुपर्ला । ….सर पनि कसरी भन्नु आफ्नो सहपाठीलाई ? बडो असमन्जसमा पर्छ ऊ, त्यतिबेलै शैलेन्द्र फर्किन्छन् ऊतिर ।
“केही भन्नु छ धनबहादुर ?” मुस्कुराएर सोध्छन् उनी । “ह…..ह…हजुर !” अत्तालिएको स्वरलाई सकभर नियन्त्रित गर्ने प्रयास गर्छ ऊ । शैलेन्द्रको शान्त मुस्कानले पनि केही शीतलता र बल प्रदान गर्छ ।
“छोरालाई बिदेश पठाउनु थियो ।” हठात् वाक्य फुत्कन्छ ।
“हँ ? छोराले कति पढेको छ धनबहादुर ?”
“१२ पास गर्यो यसपालि फस्ट डिभिजनमा ।” केही उत्साह थपिन्छ शैलेन्द्रले चासो लिएको देख्दा ।
“ओहो, फस्ट डिभिजन ? त्यति राम्रो पढाइ भएको छोराको पढाइ किन छुटाउँछौ धनबहादुर ? कम से कम मास्टर्स गराऊ, त्यसपछि नेपालमै पनि काम पाइहाल्छ नि उसले । विदेश नै गयो भने पनि अलि राम्रै देशमा जान सक्छ । छोराको पढाइ छुटाएर खाडी मुलुक पठाउन चाहन्छौ ? जीवनभरि छोरो पनि आफूजस्तै होस् भन्ने चाहन्छौ ? बरु छोराले मास्टर्स सकेपछि मलाई भन, म पनि सहयोग गरुँला नि ! लौ, मेरो कार्ड राख ।” निशब्द, निरुत्तर धनबहादुर चुपचाप कार्ड लिन्छ लाचार, असहाय आँखाहरुले शैलेन्द्रतिर हेर्दै ।
ती आँखाहरुमा विवशता छ, मनमा आँधीबेहरी छ । कसलाई मन लाग्दो हो आफ्ना सन्तानका कलिला सपना खाडीमा पोल्ने ? कति सजिलै भनिदिए शैलेन्द्रले छोरालाई अझै पढाउन भनेर ? अरे, छोरालाई मास्टर्स गराउन सक्ने उसको हैसियत भइदिएको भए आज आफ्नो स्वाभिमान बन्धक राखेर निहुरमुन्टी हुन्थ्यो होला र ऊ ? खै, शैलेन्द्रले नबुझेका हुन् या बुझ्न नचाहेका हुन् या त बुझेरै बुझ पचाएका हुन् । अझै भिख मागेर झर्न मन लाग्दैन उसलाई । आँखाअघि अँध्यारो छाउँछ, निराशाको निस्पट्ट अँध्यारो । अरु एक मिनेट त्यहाँ बसे आँखाहरुले पोल खोल्न सक्ने डर छ उसलाई । त्यो परचक्री भिडमा आफ्ना पीडाहरु बगाएर अरु गिर्नुभन्दा तुहिएका सपनासँगै बाँच्न मन्जुर छ उसलाई । त्यसैले शैलेन्द्रले दिएको जीवन ज्ञानसँग कुनै असहमति जनाउँदैन ऊ र उनले दिएको कार्ड गोजीमा राखेर चुपचाप बाहिरिन्छ । अरुले खासै महत्व दिँदैनन्, ऊ पनि कसैको वास्ता गर्दैन । स्कुल गेटनेर भेट हुन्छन् धनमायाका नबद्लिएका नयनहरु । सुकिला खोलभित्रका मैला मनहरुसँग वितृष्णा भरिएर ऊ पनि अघि नै बाहिर आएकी रहिछे ।
“तिमीलाई नै पर्खिरहेकी थिएँ, उकुसमुकुस भएर निस्केकी ।” भारी स्वरमा भन्छे धनमाया । रित्ता आँखाहरुले हेर्छ धनबहादुर केही नबोली ।
“तिनीहरुले हाम्रो कुरा बुझ्दैनन् धनबहादुर ! तिमीले कुरा नगरेकै भए राम्रो हुनेथियो ।” बिना कुनै औपचारिकता थप्छे ऊ ।
रोकिराखेको बाँध फुट्ला झैँ हुन्छ, नजर झुकाउँछ धनबहादुर, परेलीका कोषहरू भरिला हुन्छन् ।
“यहाँ आउनु अगाडि म पनि असाध्यै हर्षित थिएँ पुराना दिनहरु सम्झिएर तर समयसँगै सबै कुराहरु फेरिँदा रहेछन् धनबहादुर ! साथीहरुले धरातल बिर्सिसकेछन् । सुनेकी थिएँ आफन्तहरु बद्लिन सक्छन्, छरछिमेकीले साथ नदिन सक्छन् तर साथीभाइहरु कहिल्यै बद्लिँदैनन् । यो सब भ्रम मात्र रहेछ । अरुको त के कुरा, सधैँ टिफिन टाइममा मसँग मेरो घर गएर एउटै थालमा भुटेको भात खाने कविते पनि त्यत्रो परिवर्तन भइसकिछे । तिमी, म भनेका धुलो माटोमा रमाउने ‘नाथे’ किसान न पर्यौँ । उनीहरु जस्ता सुकिलामुकिला सहरीयाहरुसँग हामी सुहाउन्नौँ धनबहादुर ! तिमी पिर नगर, हाम्रा छोराछोरीका भाग्यमा जे छ, त्यही हुन्छ ।” सम्झाउँछे धनमाया नरम र तरल स्वरमा ।
बिझेको मनमा भिजेको स्वरले असर गरेरै होला धनबहादुरका आँखा स्वतः वहन थाल्छन् । शिर झुकाएर चुपचाप उभिरहन्छ । धनमायाका परेली पनि नरम हुन्छन् ।
“नरोऊ धनबहादुर ! यो दुनियाँ तिम्रो, हाम्रो मजबुरी र आँसुमा पग्लिँदैन । सम्झ, यो भेला एउटा सपना थियो । बरु हिँड, मेरो माइतीमा बसेर चिया पिऔँ । आज म यहीँ बसेर भोलि मात्र घर जान्छु । यहाँ तिमीलाई नै पर्खेर बसेकी थिएँ ।”
“होइन धनमाया, म घर जान्छु । खुसी लाग्यो कम्तीमा तिमी त उही र उस्तै रहिछ्यौ ।” मायालु आँखाहरुले हेर्दै यत्ति भन्छ ऊ र फटाफट हिँड्छ ।
स्नेहसिक्त आँखाहरुले निर्निमेष ऊ गएको बाटोतिर हेरिरहन्छे धनमाया । धनबहादुर ओझेल परेपछि खुइइ..य सुस्केरा हाल्छे अनि भिजेका नयनडिल पुछ्दै स्कुलमास्तिरको आफ्नो माइतीघरतिर लाग्छे ।
“ममी, ममी, ऊ बाबा आउँदै हुनुहुन्छ ।” बाटोतिर देखाउँदै भन्छ छोरो उत्साहित भएर ।
“हो र ? छिटै पो सकिएछ त भेटघाट कार्यक्रम ।” सिकुवामा निस्किएर उतै हेर्छे सुनाखरी पनि ।
“कति ढिलो हिँडेका हुन् तेरा बाबा ? आफूलाई कति हतार भइसक्यो कुरा सुन्न !” अधैर्य स्वर सुनाखरीको ।
दिनभरि जसो बाटोतिरै नजर ओछ्याइरहेछन् आमा छोरा । धनबहादुरले सपनाको पोको खोल्ने व्यग्र पर्खाइ दुबैको । घोसेमुन्टो लगाएको धनबहादुरले जति नै नआओस् भनेर इच्छाए पनि घर त आइपुग्छ नै । श्रीमती र छोराका आशालु आँखाहरुसँग आफ्ना राता आँखा जुधाउन असमर्थ धनबहादुर सरासर भित्रतिर लाग्छ । सुनाखरी कुरो बुझ्छे, केही सोध्दिन । केही नबोली घरभित्र पस्दै गरेको बाबुलाई पछाडिबाट आवाज दिन्छ छोरो– “बाबा, बाबा !” टक्क अडिन्छ धनबहादुर छोरातिर नफर्किकन । फेरि नबोली हिँड्छ । अलि परतिर पुगेपछि के सम्झिन्छ कुन्नि, फनक्क फर्केर छोरानिर आउँछ । छोराको हातको मुबाइल फुत्त तानेर जोडले भूईँमा बजार्छ, मुबाइल चकनाचुर हुन्छ । द्रुत गतिमा कोठामा पसेर ढ्याम्म ढोका लगाउँछ । हतप्रभ अनि सन्त्रस्त छोरो र श्रीमती कहिले भूईॅभरि छरिएका मुबाइलका टुक्राहरुतिर त कहिले धनबहादुर थुनिएको बन्द ढोकातिर हेरिरहन्छन् । बस् हेरिरहन्छन् ।
– दुर्गा वनवासी
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।