त्यो गाउँ धेरै सुन्दर थियो । खेतबारी हराभरा, बगैंचामा फूलहरू मुस्कुराएका र बालबालिका खुला आकाशमुनि रमाउँदै थिए । मानिसहरू मेहनती र मिहिनेती थिए । उनीहरूको परिश्रमलाई सफल बनाउन गाउँका दुई मुख्य साथी थिए- माटो र पानी ।
माटो उर्वर थियो । उसले बालीनालीलाई माया गर्थ्यो । पानी स्वच्छ र जीवनदायी थियो । उसले बाली, जनावर र मानिस सबैलाई जीवन दिन्थ्यो । माटो र पानीको सधैं राम्रो मित्रता थियो । उनीहरू सँगै हुँदा गाउँ सधैं खुसी र सम्पन्न हुन्थ्यो ।
०००
तर एकदिन, सूर्य उदाएसँगै नयाँ कथा सुरु भयो । माटोले पानीलाई भन्यो, “तिमीले सधैं मलाई कम आँक्छौ। यो सबै हरियाली मेरो कारणले मात्र हो । म नभएको भए कसरी यो गाउँ उर्बर हुन्थ्यो ?”
पानीले छक्क पर्दै भन्यो, “के भनेको ? तिमी सुक्खा हुने माटो मात्र हौ । म नभएको भए तिमी केही पनि हुन्नथ्यौ ।”
माटो रिसायो । पानीले उसको कुरा सुनिदिएन । उनीहरूबीच पहिलो पटक मनमुटाव भयो ।
“तिमी बिनाको जीवनमा पनि म गाउँलाई हराभरा बनाउन सक्छु ।” माटोले गर्व गर्दै भन्यो ।
पानीले हाँस्दै जवाफ दियो, “त्यसो हो भने म यहाँबाट टाढा जान्छु । हेर्छु तिमीले के गर्छौ !”
०००
पानी रिसाएर गाउँ छोडेर बग्यो । उसले बग्दै गर्दा खोला सुकेको देखियो । खेतहरू तिर्खाएर चुर भए। माटो अब सुक्खा र कठोर बन्यो । खेतबारीमा चर्काचर्की परे । गाउँ उजाड जस्तो लाग्न थाल्यो ।
बाली बिग्रिए । किसानहरू निराश भए । बच्चाहरू खेल्न छोडे । गाउँको खुसी गायब भयो ।
तर माटो अहंकारी थियो । उसले सोच्यो, “पानी आएन भने पनि म केही गर्न सक्छु ।” तर उसले जति प्रयास गरे पनि गाउँ उस्तै सुक्खा रह्यो । पानीले पनि टाढा गएर आफ्नो जीवन बेग्लै बिताउन थाल्यो । तर ऊ पनि एक्लो महसुस गर्न थाल्यो ।
०००
त्यहीं गाउँमा एउटी सानी केटी थिई । उसको नाम माया थियो । ऊ धेरै चतुर र दयालु थिई । मायाले माटो र पानीको झगडाको बारेमा थाहा पाइन् । उनी दुःखी भइन्। उनले सोचिन्, “यदि माटो र पानी फेरि मिल्न सके, गाउँ फेरि हराभरा हुनेछ ।”
माया माटोलाई भेट्न गइन् । माटो सुक्खा र कठोर थियो । “माटो दाजु, के तपाईं पानीबिना सधैं यस्तै सुक्खा रहन चाहनुहुन्छ ?” मायाले सोधिन् ।
माटोले गम्भीर हुँदै भन्यो, “पानीले मलाई धोका दियो । म उसलाई चाहन्नँ ।”
मायाले सान्तवना दिँदै भनिन्, “तर तपाईंलाई थाहा छ, पानीबिना तपाईंको शक्ति अधुरो छ । तपाईंले बाली हुर्काउन सक्नुहुन्न । गाउँलाई हराभरा बनाउन सक्नुहुन्न ।”
त्यसपछि माया पानीकहाँ पुगिन् । पानी चुपचाप पहाडको काखमा लुकिरहेको थियो ।
“पानी काका, के तपाईं माटोलाई बिनासोची छोड्न सक्नुहुन्छ ?” मायाले सोधिन्।
पानीले भन्यो, “माटोले मलाई कहिल्यैँ महत्त्व दिएन । मैले किन फर्कने ?”
मायाले मुस्कुराउँदै भनिन्, “माटोले गल्ती गरेको थियो । तर तपाईंलाई थाहा छ, माटो र तपाईं मिलेर मात्र जीवन सम्भव छ । तपाईं नभए गाउँ तिर्खाउनेछ। बच्चाहरू खेल्न सक्ने छैनन् । माटोलाई पनि तपाईंको आवश्यकता छ ।”
०००
मायाको कुरा सुनेर माटो र पानीलाई आफ्नो गल्ती महसुस भयो । उनीहरूले माफी मागे र फेरि मिल्न तयार भए ।
पानी गाउँ फर्कियो । उसले खेतहरूलाई जीवनले भरिदियो । माटोले आफ्नो उर्वर शक्ति देखायो । बाली फेरि लहलहाउन थाल्यो । गाउँ फेरि हराभरा र खुसी भयो ।
बालबालिका दौडिन थाले । मानिसहरूले हाँस्न थाले । माटो र पानीले बुझे- उनीहरू सँगै हुँदा मात्रै जादु हुन्छ ।
०००
– नन्दलाल आचार्य
उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।