[ यो कविता खस भाषामा लेखिएको छ ]
कठै! कात्तिबाट सुरु गरुँ म ?
जत्ती लेख्या पुनि जत्ती भुन्या पुनि
मेरो कर्नालीको सोझो आवाज दबिदो छ
उठ्नै नसक्न्या गरिकन
मेरो कर्नाली हेपियाको शताब्दी भइगयो
मेरो कर्नाली चेपियाको शताब्दी भइगयो
मेरो कर्नाली डाको छोडीकन रुन पायाको नाई
मेरो कर्नालीले कर्नाली हुन पायाको नाइ
उज्यालो कर्नाली अँध्यारो भयाको छ ।
पर..न तुम्मो सिंहदरबार भाषण गद्दो छ
सपना बाड्दो छ
आस देखाउदो छ
कर्नालीकन जीउँदै माद्दो छ
त्यो सिंहदरबार आफूकन भमरा हुँ भन्नो छ
कर्नालीकन फूल भुन्नै चुसिरहन्छ
त्यो सिंहदरबार काँडा भयाको भमरा हो
कर्नालीकन घोचिरन्छ, मारिरहन्छ ।
मेरो कर्नालीसँग डर मान्नैन सिंहदरबार
उसले बिर्स्याको छ सिंहदरबार डुबाउन्या रारा बिर्स्याको छ
सिंहदरबार बगाउन्या कर्नालीकनै बिर्स्याको छ
सिंहदरबार चिस्याउन्या काञ्जिरोवा बिर्स्याको छ
सिंहदरबारले खुट्टा टेक्याको
भुइँ बिर्स्याको छ
सिंहदरबारले बरु बिर्स्याको नाई
भुइँमुनि टेकिकन आकाश उड्या जइत्थै गर्न्याकन ।
कर्नालीमाथि क्रूर व्यवहार गरिकन
सिंहदरबार खित्ता छाडिकन हाँस्दो छ
एकै गाँसमा लाजकन पचाउदो छ
त्यो सिंहदरबारकन लाज पचाउन्या
भोक लाग्याको छ
कर्नालीको रसिलो रस चुसिकन
कर्नालीको फक्रदै गर्याको कोपिला चुडिकन
अघाएको नाइ सिंहदरबार !
कर्नालीकन दबाउन्या चलखेलमा
अझै पछि हट्याको नाई सिंहदरबार
खेल खेलिरहदो छ
कर्नालीकन उठ्न नदिन
कर्नालीकन जुट्न नदिन
कर्नालीको भेलकन क्यान कमजोर
मान्दो छ सिंहदरबार
फोक्सुण्डोको गहिरो दहसँग
क्यान डर मान्नैन सिंहदरबार ?
हुम्लाको चिसोको खिल्ली उडाउदो छ सिंहदरबार
राराको नाम बेचिकन गौरव गद्दोछ सिंहदरबार
भाषाको जन्मोथलोकन आगो लगाउदोछ सिंहदरबार
तुम्मो सिंहदरबारले खुब न्याय गर्याको छ कर्नालीकन ?
कठै !
कर्नालीकन हेपिकन
कर्नालीकन चेपिकन
क्या हुन्या छ ?
यो कुडा कहिले बुझ्ला सिंहदरबार ?
कर्नालीकन हेप्नु भन्याको
कर्नालीकन चेप्नु भन्याको
आफ्नो खुट्टाउदो आफैं बुन्चरो हान्या जइत्थै हो
ओ…! सिंहदरबार, म कर्नाली हुँ
चिनिराखेई म फेरि मेरो नाउ भुन्नछु
म कर्नाली हुँ !
घर एउटै बाबा एउटै आमा दुईजुनी
भया जइत्थै गरिकन
त्यो मुलुक चलाउन्या सिंहदरबार
म कर्नालीकन क्यान सौता मा..को
छोरा जइत्थै गद्दो छै ?
म कन आज जवाफ भुन्नै पड्द्दोछ सिंहदरबार ?
मेरा कर्नालीका मान्ठहरूले
देश गईकन थाप्लौदो पहाड जत्तै
भारी बोकिकन काम गऱ्याको, दुख गऱ्याको
सिंहदरबारका आँखाले कैले देख्या छुन कि नाइ ?
ओ.. सिंहदरबार
कर्नालीका मान्ठले
रगत पसिना बगायाको र कर्नालीका
मान्ठले पसिना बगायाको सुगन्ध
तेरा नाकौदो आउदो छ कि नाइ ?
पसिनाको सुगन्ध थाहा नपाउन्या भयापछि
कर्नालीपुनी मेरो अंश हो
भुनिकन क्यान भुन्नो छै ?
आफ्नो हडौदो चोट लाग्या पुनि
थाहा नपाउन्या वास्ता नगर्न्या
तो क्या को ? बुद्धिमानी होलैर सिंहदरबार ?
भैगो तोइले भक्ती ठूला कुडा नगऱ्या हुन्छ ।
मेरो कर्नालीले तिरो तिर्यापछि
तो सिंहदरबार शासन गद्दो छै
कर्नालीमाथि !
मेरो कर्नाली तो सिंहदरबारकन आशिर्वाद दिदोछ
तो सिंहदरबार कर्नालीकन सराप्दो छै
ठूला भाषण गरिकन सिंहदरबारको रोस्ट्रमबाट ।
तो सिंहदरबार कर्नालीकन दूर देख्दो छै
मेरो कर्नाली तो सिंहदरबारकन दूर देख्दो छ
तो सिंहदरबार आफूकन समृद्ध हुँ भन्दो छै
यत्ती बुझेइ तोइले बोल्न्या भाषा
मेरै कर्नालीमा जन्म्याको हो ।
यो भुन्दा अब तोसँग बोल्न्या शब्द क्या छ ?
अझैपुनि ढिपी गरिकन भुनिल्लो छै तो ..
‘घरघरमा सिंहदरबार’
‘समृद्ध नेपाल, सुखी नेपाली’
‘सामाजिक न्याय, समानता र समृद्धि’
‘लोकतन्त्र शान्ति र समृद्धि’
तेरा नारा गल्ली गल्लिउदो टाँसिकन
मेरो कर्नाली समृद्ध र सुखी हुन्या केईनाई
ओ .सिंहदरबार
कर्नालीकन विकट भुन्नो छै
मेरो कर्नाली तो सिंहदरबारकन
सास नभयाको मान्ठ
बत्ती नभयाको कोठा
जइत्थै मान्नो छ ।
कर्नालीले सास फेर्यापछि
तो सिंहदरबारको सातो आउँदोछ
तोकन उज्यालो गन्या बत्ती भन्याको
कर्नाली हो ।
त्यहीं भईकन मेरो कर्नालीले
तो सिंहदरबारकन भुन्नोछ ?
कर्नालीकन विकट देख्न्याका आँखा फुटेका हुन ।
तो सिंहदरबारले केही दिन सक्याको नाइ
कर्नालीकन
मेरो कर्नालीले तोइकन दिई दिइकन
तो जइथ्यो सिंहदरबार बनायाको हो ।
तो सिंहदरबार शासक भईकन
कर्नालीकन दासक बनाउदो छै ।
अब भुन्या ?
कर्नाली र सिंहदरबार को ठूलो ?
– विक्रम तिरुवा सलिन
जुम्ला



