म अझैं कस्ताे हुनु पर्ने हो
म म जस्तै भएर तिमीलाई भएन र ?
तिम्रा लागि म कस्तो हुनु पर्ने हाे
म्याग्जिनकाे मोडल जस्तै
या कुनै चलचित्र काे नायिका जस्तो
तिमीलाई कस्तो मन पर्छ भन न, तिम्रो हेराइ कस्तो ?
तिमी जस्तो भन म त्यस्तै भइदिउँला
फुलेको फूल पनि कहाँ सुन्दर रहन्छ र सधै
केही छिन नै भएपनि
म तिमीलाई चाहे जस्तो रहिदिउला
तर
फुलीसके पछी म ओइलिरहादा
तिमी त के, तिम्रो छायाँ पनि म नजिक नपर्ला
बर्खामा
आकाश गर्जिदा
पानी का थोपा ले मलाई हानिरहदा
तिमी त के, तिम्रो मायाले पनि
मलाई ओत्याउने साहस नगर्ला
मेरो कम्मर हेरि अनेक कुरा गर्छौ
छाती देखी नराम्रो कल्पना बुन्छौ
तिमीलाई चन्द्रमाकाे दाग मनपर्छ
तर म मा भएकाे दागकाे तिमी नानाथरी शब्द निकाल्छौ
समुन्द्रकाे गहिराइकाे बारे सुने कुरा तिमीबाट
मेरो गहिराइ बुझी, शायद् म माथि दिकार्छौ
तिमीले खोजे जस्तो नहुँदा
म जस्तै हुन खोज्दा
म तिम्रो नजरमा
चरित्रहिन हुन पुगे भने ?
आफ्नो नजरमा हैन
तिम्रो नजरमा त्यस्तो नहुँदा पनि
नचाहँदा नचाहँदै चुडे भने ?
उठ्ने साहस हुँदा हुँदै पनि
वृक्षकाे हाँगा सरी नुगेँ भने ?
तिमी सारा कुरा अरू कोहिमा खोज्ने छौ
तिमीले भनेजस्तो हुन खोज्दा खोज्दै पनि
अरू कोहीलाई नै रोज्ने छौ
तिमीले भने जस्तो सबै हुँदा हुँदै पनि
तिमीले फेरि नयाँ अनेक कुरा थप्ने छौ
तिम्रो लायक भइसक्दा पनि
तिमीले फेरि पनि माग राख्ने छौ
आखिर
म अझै कस्ताे हुनु पर्ने हो?
– कामना ढकाल




