“ऐया ….. मामु मलाई त माहुरीले टोक्यो, कस्तरी पोल्यो, आत्थाथा, ऐया……” सूचना रूँदै चिच्याउँदै आमा भएको ठाउँमा पुगिन् ।
“खै खै कहाँ टोक्यो ? देखाऊ त !”
सूचनाले सुँक्कसुँक्क गर्दै दायाँ हात देखाइन् । माहुरीले टोकेको हात हेर्दै आमाले फेरि भनिन्,
“छोरी तिमीले माहुरीलाई चलायौ कि ! त्यत्तिकै त माहुरीले नटोक्नुपर्ने त !”
“माहूरीले खुट्टामा के बोकेर ल्याइराखेको र’छ । अनि समातेर हेर्न आँटेको थें …..”
“ए ए, त्यसरी अरूले आफ्नो काम खुरूखुरू गरिरहेको बेला बिना बित्थामा चलाउनु हुन्न नि त छोरी ।” आमाले सम्झाउँदै भनिन् ।
“मैले चलाएको हैन क्या मामु, हेर्न मात्रै खोजेको ।”
“अनि माहुरीलाई के थाहा त बिचरा ! उसले बुझ्दैन नि त ।”
“मैले भनेको थें क्या मामु, म तिमीलाई केही गर्दिनँ, हेर्छु मात्रै भनेर ।”
“हा हा हा, सूचना माहुरीले हाम्रो भाषा काँ बुझ्छ त !” आमा घतले पेट मिचिमिचि हाँसिन् ।
सूचना, आमा मजाले हाँसेको हेरेर छक्क परिन् । उनको बालमष्तिष्कले कति कुरा बुझ्न सकेन ।
आमाले सम्झाउँदै भनिन्, “तिमीले गृहकार्य गरिरहेको बेला कसैले तिम्रो कापी खोसिदिने, पेन्सिल खोसिदिने गर्यो भने तिमी के गर्छ्यौ छोरी भन त ?”
“म त हान्दिन्छु … खितितिति ….” सूचना थोते गिजा देखाउँदै हाँसिन् ।
“हो, त्यही भएर हामीले काम गरिरहेका कसैलाई पनि अनावश्यक डिस्टर्ब गर्नुहुँदैन । बरू सकेको सहयोग गर्नुपर्छ, बुझ्यौ ?”
“बुझें मामु बुझें ।”
“मेरी ज्ञानी छोरी, स्याबास्”
– कुमार काफ्ले



