सुरजपुर भन्ने एउटा सानो गाउँमा रामु भन्ने बालक बस्दथ्यो । रामु निकै जिद्दी थियो । ऊ प्रायः बेलुका अबेरसम्म खेल्थ्यो, बेलुकाको खाना पनि हतार-हतार खाएर आफ्नो मनपर्ने भिडियो हेर्दै बस्ने गर्थ्यो । बिहान भने ऊ सधैं ढिलो उठ्थ्यो । आमा-बाबाले धेरैपटक सम्झाउँदा पनि उसको बानीमा परिवर्तन आएन ।
एक दिन रामुको स्कुलमा नयाँ शिक्षक आए । उनी विद्यार्थीहरूसँग रमाइलो गर्दै पढाउने गर्थे । उनी हरेक विद्यार्थीलाई नयाँ कुरा सिकाउने प्रयास गर्थे । रामु पनि ती शिक्षकलाई निकै मन पराउँथ्यो । एक दिन शिक्षकले कक्षामा सबैलाई सोधे, “तिमीहरू पक्षीहरूबारे के-कति कुरा जान्दछौ ?”
कक्षाका सबै विद्यार्थीहरूले आ-आफ्ना कुरा बताए । कोहीले भने पक्षीहरू आकाशमा उड्छन् । कोहीले भने उनीहरू दाना खान्छन् । कोहीले त बच्चाहरूलाई गुँडमा उड्न सिकाउँछन् भने ।
शिक्षकले मुस्कुराउँदै बोले, “तिमीहरू सबै सही छौ । तर, के तिमीहरूले कहिल्यैँ पक्षीहरूको बानी र जीवनशैलीबाट केही सिकेका छौ ?” सबै विद्यार्थी अचम्मित भए । उनीहरूले त्यस्तो सोचेकै थिएनन् । रामु झन् उत्सुक भयो ।
शिक्षकले कथा सुनाउन सुरु गरे ।
“पक्षीहरूलाई हेर, उनीहरूको जीवन धेरै सरल छ । उनीहरू बेलुका केही खाँदैनन् । साँझ भएलगत्तै उनीहरू आफ्नो गुँडमा फर्कन्छन् र आराम गर्छन् । राति सुत्नेबित्तिकै बिहान चाँडै उठ्छन् । उनीहरू सूर्योदयसँगै खानपिनमा निस्कन्छन् । यस्तो बानीले उनीहरू सधैं तन्दुरुस्त रहन्छन् ।
के तिमीहरूले देखेका छौ, पक्षीहरूले कहिल्यै धेरै खाना खाएको ? तिनीहरूले पेट भरिएपछि अरू दाना उठाउँदैनन् । आफ्नो आवश्यकता भन्दा बढी संकलन गर्दैनन् । मानिसहरू जस्तो उनीहरूमा लोभ हुन्न ।”
रामु चुपचाप सुनिरहेको थियो । उसलाई आफ्नो दिनचर्या सम्झेर लाज लाग्न थाल्यो । ऊ सोच्न थाल्यो, “म त रातभर खाना खाएर बस्छु र बिहान ढिलो उठ्छु । यी पक्षीहरूजस्तो त हैन ।”
शिक्षकले आफ्नो कथा अगाडि बढाउँदै भने, “पक्षीहरू आफ्ना बच्चाहरूलाई समयमै उड्न सिकाउँछन् । उनीहरूलाई स्वतन्त्र बनाउँछन् । बच्चाहरूलाई हेरचाह गर्ने तर आफ्नै पखेटामा उड्न सिकाउने पक्षीहरूको यो गुणबाट सबैले पाठ सिक्नुपर्छ ।”
रामुलाई आफ्नो बानी फेरि याद आयो । ऊ निकै अल्छी थियो र सधैं अरूको भर पर्दथ्यो ।
त्यसपछि शिक्षकले भने, “पक्षीहरूको अर्को विशेष कुरा हो- परिश्रम । उनीहरू दिनभर आहार खोज्छन्, गुँड बनाउन मेहनत गर्छन् र आफूलाई सक्रिय राख्छन् । तिमीले कहिल्यै पक्षीलाई फुर्सदमा बसेको देख्यौ ? उनीहरू रातको समयमा मात्र आराम गर्छन् । दिनभरि सक्रिय जीवन बिताउँछन् । यसले उनीहरूलाई स्वस्थ राख्छ । हामी पनि आफ्नो शरीरलाई सक्रिय राखे मात्र स्वस्थ रहन सक्छौं ।”
रामुले सोच्यो, “म त दिनभर टिभी हेर्छु, खेल्न पनि जान्नँ । त्यसैले म अस्वस्थ महसुस गर्छु । यो त मेरो दोष रहेछ ।”
कक्षा सकिएपछि रामुले शिक्षकसँग कुरा गर्ने निधो गर्यो । ऊ उनीकहाँ गयो र भन्यो, “सर, म मेरो जीवन सुधार गर्न चाहान्छु । म पनि पक्षीहरूजस्तै नियमित बन्न चाहान्छु । त्यसो गर्नलाई कसरी थालनी गर्न सकिन्छ ?”
शिक्षकले मुस्कुराउँदै भने, “रामु, यदि तिमी साँच्चै परिवर्तन हुन चाहन्छौँ भने, आफ्नो दिनचर्यामा सानो-सानो परिवर्तन गर । राति समयमै सुत र बिहान चाँडै उठ । समयमै खाना खाऊ तर धेरै नखाऊ । आफ्नो स्वास्थ्यका लागि परिश्रम गर । त्यसपछि हेर्नू, तिम्रो जीवन कस्तो राम्रो हुन्छ ।”
रामुले त्यो दिनदेखि आफ्नो जीवन परिवर्तन गर्ने वाचा गर्यो ।
त्यस दिनदेखि रामुले राति अबेरसम्म खेल्न छोड्यो । ऊ बेलुका खाना खाएर समयमै सुत्न थाल्यो । बिहान सूर्योदय हुनासाथ ऊ उठ्थ्यो र आफ्नो किताब पढ्थ्यो । समयमै खाना खान थालेपछि ऊ स्वस्थ महसुस गर्न थाल्यो ।
केही हप्ता भित्रै रामुको जीवनमा ठूलो परिवर्तन आयो । उसको पढाइ राम्रो भयो । उसको शरीर तन्दुरुस्त भयो । साथीहरू पनि उसलाई हेरेर अचम्म मान्न थाले । सबैले सोध्थे, “रामु, तिमीमा यस्तो परिवर्तन कसरी आयो ?”
रामुले सबैलाई भन्यो, “मैले पक्षीहरूबाट सिकेँ । तिमीहरू पनि उनीहरूको बानीबाट सिक्न सक्छौँ । तिनीहरूले प्रकृतिसँग सन्तुलनमा बाँच्न सिकाउँछन् । तिनीहरूले आवश्यकता भन्दा बढी कहिल्यैँ केही गर्दैनन् । तिनीहरू मेहनत गर्छन् र समयमै आराम गर्छन् ।”
गाउँभरि रामुको यो परिवर्तनको कुरा फैलियो । अरू बालबालिकाहरूले पनि रामुबाट प्रेरणा लिए । सबैले पक्षीहरूको जीवनशैलीबाट पाठ सिक्न थाले ।
रामुले अब थाहा पाएको थियो कि सानो बानीले पनि जीवनमा ठूलो प्रभाव पार्न सक्छ । ऊ आफ्नो शिक्षकलाई धन्यवाद दिन कहिल्यैँ छुटाउँदैन । शिक्षकले भनेका थिए, “यदि तिमीले पक्षीहरूबाट सिक्यौ भने, तिम्रो जीवन सदैव सुखद र स्वस्थ रहनेछ ।”
यसरी पक्षीहरूले रामुलाई मात्र होइन, उसको गाउँका सबैलाई प्रेरणा दिए । अब सबै बालबालिकाहरू बिहान चाँडै उठ्थे, बेलुका समयमै सुत्थे र सधैं मेहनत गरेर आफ्नो जीवन सुधार्थे । पक्षीहरूजस्तै सरल, परिश्रमी र सन्तुलित जीवन जिउने बानीले गाउँभरि खुसी छायो ।
रामुको दिमागमा शिक्षकको यहीं कुरा हरदम गुन्जिरहन्छ- जीवनलाई सफल र स्वस्थ बनाउन पक्षीहरूको सरल र अनुशासनपूर्ण जीवनशैलीबाट धेरै कुरा सिक्न सकिन्छ । सानो-सानो प्रयासले ठूला परिवर्तन ल्याउन सक्छ।
०००
– नन्दलाल आचार्य
बेलका-२, सिद्धार्थटोल, उदयपुर ।
हाल- शिक्षक, श्री जनता मावि, गोलबजार-४, सिरहा ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।