निपनिया गाउँ आज रङ्गिन देखिन्थ्यो। ढोकाहरूमा तोरण टाँगिएका थिए, आँगनहरूमा अलिक अगाडि नै रङ घोलिएको थियो। गाउँका बालबालिकाहरू हर्षोल्लासले होली खेल्न आतुर थिए।
त्यस गाउँमा सुष्मा नामकी बालिका बस्थिन्। उनी अध्ययनशील थिइन्, समाजसेवामा रुचि राख्थिन्। उनका साथीहरू होली आउनुअघि नै रङ, पिचकारी र अबिर किन्ने तयारी गर्दै थिए। तर, सुष्माको मनमा अर्कै कुरा थियो।
एक दिन विद्यालयमा शिक्षकले होलीको महत्त्व बुझाउँदै भन्नुभयो, “होली रंगको मात्र होइन, समानता, सद्भाव र मित्रताको पनि उत्सव हो।” त्यो सुनेर सुष्माले निर्णय गरिन्- यसपालि होलीलाई अझ अर्थपूर्ण बनाउनेछु।
+++
सुष्माको घरभन्दा अलि पर सीता दिदीको घर थियो। उनी एकल आमाको छोरी थिइन्। उनकी आमा सुशीला गाउँका धनी घरमा काम गर्थिन्। आर्थिक अवस्था कमजोर भएकाले सीतालाई होली खेल्नका लागि रङ किन्ने पैसा थिएन।
एक साँझ सुष्माले आमासँग भनिन्, “आमा, यसपालिको होली हामी फरक रूपमा मनाउँछौँ।”
“कसरी?” आमाले सोध्नुभयो।
“हामी गरिब बालबालिकालाई पनि होली खेल्न मौका दिन्छौँ। उनीहरूका लागि रङ र अबिर जुटाउँछौँ।”
आमाले सुष्मालाई अँगालो हालेर भन्नुभयो, “यो त धेरै राम्रो सोच हो, छोरी।”
+++
अर्को दिन सुष्माले आफ्ना साथीहरू अनिल, रविन, कविता र सपना भेला गरिन्। उनीहरूलाई आफ्नो योजना सुनाइन्, “हामीले ल्याउने रङमध्ये आधा सीता दिदीहरू जस्तै बालबालिकालाई दिने हो।”
साथीहरू खुशीले राजी भए। सबै मिलेर आफ्नो खल्ती खर्चबाट केही पैसा निकालेर रंग किन्ने निधो गरे।
त्यसपछि, उनीहरू गाउँका अन्य घरमा गएर आग्रह गरे- “यसपालि होली सबैका लागि समान बनाऔँ।” धेरैले उनीहरूको कुरा माने। कसैले रङ दिए, कसैले अबिर, कसैले पुराना पिचकारी। यसरी केही दिनमै सुष्मा र उनका साथीहरूले पर्याप्त सामग्री जुटाए।
+++
होलीको बिहान आयो। निपनिया गाउँको चौतारोमा बालबालिकाहरू जम्मा भए। सुष्मा र उनका साथीहरूले पहिले सीता र उनका साथीहरूलाई रङ लगाए। सीता निकै खुशी भइन्।
“आज पहिलो पटक म पनि होली खेल्दैछु।” सीताले उत्साहित हुँदै भनिन्।
सबै बालबालिकाले मिलेर एकअर्कालाई रङ लगाए। धनी-गरिब, ठूलो-सानो छुट्याइएन। सबै रङ्गिन भए।
सुष्माका शिक्षकहरू पनि आइपुगे। त्यो दृश्य देखेर शिक्षक रामेश्वर राउतले मुस्कुराउँदै भने, “यो होली साँच्चै प्रगतिशील भयो।”
त्यस दिन निपनिया गाउँमा रङ मात्र होइन, समानताको उत्सव पनि मनाइएको मूल्याङ्कन गर्दै सुष्माका प्रधानाध्यापक वीरेन्द्र यादवले भने, “रङहरू त पानीले मेटिन्छन्, तर आत्मीयताको रङ कहिल्यै फिका हुँदैन।”
०००
२०८१ फाल्गुन २५ गते
श्री जनता माध्यमिक विद्यालय, गोलबजार -४, सिरहा
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।