आज मैले रातो भाले छोपेको छु आमा
सर्ट पाइन्ट लगाइदिउँ कि लगाइदिउँ जामा
सुहाउला कि मेरै टोपी बाको टोपी मिल्ला
चिरीच्याट्ट देखिएला कि देखिएला बिल्ला
मेरो चाचा मिले भने सबले माया गर्लान्
अचम्मित बन्लान् कोही कोही रल्ल पर्लान्
आज…..
कति राम्रो कल्की यसको सगरमाथा जस्तो
प्वाँख हेर झनै राम्रा ठान्नु हुन्न सस्तो
समयको जानकारी यसैबाट लिन्छु
चारो खान खोज्यो भने रोजी रोजी दिन्छु
आज …..
सुताउँछु सँगसँगै निरास बन्न दिन्न
भाले मेरो साथी हो नबुझ्नु है भिन्न
मलाई जस्तै नयाँ चाचा यसलाई किन्दिनु है
एउटा राम्रो पोथी खोजी बिहे गर्दिनु है
आज …..
✍️नारायण खनाल ‘नीलम’
अर्घाखाँची



