✍️नन्दलाल आचार्य
गल्फडियाको एउटा सानो गाउँमा विक्रम नामको बालक बस्दथ्यो । विक्रम जन्मदेखि नै संघर्षले घेरिएको थियो । उसको परिवार विपन्न थियो, बुबा ज्यालामजदुरी गर्थे र आमा गाउँमै माछामासुको सुकुटी बेच्थिन् । विक्रमलाई स्कुल जाने मन भए पनि आर्थिक अभावका कारण खेतबारीमा आमाबुबालाई सघाउनु पर्थ्यो ।
विक्रमलाई किताब पढ्न खुबै मनपर्थ्यो । उसलाई लाग्थ्यो, “म पनि पढेर ठूलो मान्छे बन्छु ।” गाउँको स्कुलमा जाँदा उसले आफूभन्दा ठूलाठूला किताब मागेर पढ्न थाल्यो । तर उसको आर्थिक अवस्थाले कहिल्यै उसलाई लामो समयसम्म पढ्न अनुमति दिएन ।
एकदिन स्कुलमा प्रधानाध्यापकले भने, “जीवनमा सफल हुन संघर्षले महत्त्व राख्छ । मेहनत गर, त्यसको फल अवश्य पाउँछौ ।” विक्रमले त्यो कुरालाई मुटुमा गाँठो पारेर राख्यो । उसले निर्णय गर्यो- चाहे जे सुकै होस्, आफ्नो पढाइलाई निरन्तरता दिनेछु ।
उसले बिहानै उठेर बुबालाई खेतबारीमा सघाउने र दिउँसो स्कुल जान थाल्यो । साँझपख गाउँको चिया पसलमा भाँडा माझ्न थाल्यो । उसले हरेक दिन पैसा बचाएर किताब किन्न सुरु गर्यो ।
एक दिन विक्रमले सुन्यो- सहरमा छात्रवृत्तिका लागि परीक्षा खुल्दैछ । यो मौका उसलाई सुनौलो अवसर जस्तो लाग्यो । तर समस्या थियो- यात्रा खर्च र फर्म भर्न पैसा थिएन । आमाबुबाको सहमति नलिई, उसले गाउँका धनी साहुजीसँग सानो ऋण माग्यो ।
“कहिले तिर्छस् ?” साहुजीले आँखा चिम्लिँदै सोधे ।
“मिहिनेतले पक्कै चाँडै तिर्छु ।” विक्रमले आँटका साथ भन्यो । साहुजीले विश्वास गरेनन्, तर सानो रकम दिए ।
विक्रम सहर गयो, परीक्षा दियो र नतिजा कुरेर बस्यो । घरमा ऋण तिर्नु पर्ने दबाब थियो । परिवारमा पनि उसले गलत निर्णय गरेको भनी गुनासो सुनाए।
सफलताको उज्यालो
एक महिना पछि नतिजा आयो । विक्रमले छात्रवृत्ति जितेको थियो ! विद्यालयको सम्पूर्ण खर्चमा निःशुल्क भएको मात्र होइन, छात्रावासमा बस्ने सुविधा पनि थियो । यो खबरले गाउँभरि हर्ष छायो ।
साहुजीले भने, “हेर, धैर्य राख्ने मान्छे हार्दैन । तिमीले आफ्नो मेहनत देखायौ ।”
विक्रमले पढाइलाई अझ गम्भीरताका साथ लिन थाल्यो । उसले स्कुल मात्र होइन, कलेज र विश्वविद्यालयमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । ऊ गाउँकै पहिलो इन्जिनियर बन्यो ।
आज विक्रम आफ्ना पुराना दिन सम्झँदै भन्छ, “संघर्षले मलाई निडर बनायो, तर धैर्यले मलाई सफल । कठिनाइमा पनि संयम गुमाउनु हुँदैन । सही समय आएपछि मेहनतको फल अवश्य पाइन्छ ।”
उसले आफ्नो गाउँमा विद्यालय खोलेको छ र प्रत्येक विद्यार्थीलाई प्रेरणा दिन्छ ।
विक्रमको संघर्ष र धैर्यको कथा आज हरेक बालबालिकालाई भन्छ- “सफलताको उज्यालो देख्न घामपानी सहनुपर्छ । मेहनत र धैर्यको यात्रामा कहिल्यै खाली हात हुँदैन ।”
°°°°°
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।


