✍️नन्दलाल आचार्य
गल्फडियाको एउटा सानो गाउँमा विक्रम नामको बालक बस्दथ्यो । विक्रम जन्मदेखि नै संघर्षले घेरिएको थियो । उसको परिवार विपन्न थियो, बुबा ज्यालामजदुरी गर्थे र आमा गाउँमै माछामासुको सुकुटी बेच्थिन् । विक्रमलाई स्कुल जाने मन भए पनि आर्थिक अभावका कारण खेतबारीमा आमाबुबालाई सघाउनु पर्थ्यो ।
विक्रमलाई किताब पढ्न खुबै मनपर्थ्यो । उसलाई लाग्थ्यो, “म पनि पढेर ठूलो मान्छे बन्छु ।” गाउँको स्कुलमा जाँदा उसले आफूभन्दा ठूलाठूला किताब मागेर पढ्न थाल्यो । तर उसको आर्थिक अवस्थाले कहिल्यै उसलाई लामो समयसम्म पढ्न अनुमति दिएन ।
एकदिन स्कुलमा प्रधानाध्यापकले भने, “जीवनमा सफल हुन संघर्षले महत्त्व राख्छ । मेहनत गर, त्यसको फल अवश्य पाउँछौ ।” विक्रमले त्यो कुरालाई मुटुमा गाँठो पारेर राख्यो । उसले निर्णय गर्यो- चाहे जे सुकै होस्, आफ्नो पढाइलाई निरन्तरता दिनेछु ।
उसले बिहानै उठेर बुबालाई खेतबारीमा सघाउने र दिउँसो स्कुल जान थाल्यो । साँझपख गाउँको चिया पसलमा भाँडा माझ्न थाल्यो । उसले हरेक दिन पैसा बचाएर किताब किन्न सुरु गर्यो ।
एक दिन विक्रमले सुन्यो- सहरमा छात्रवृत्तिका लागि परीक्षा खुल्दैछ । यो मौका उसलाई सुनौलो अवसर जस्तो लाग्यो । तर समस्या थियो- यात्रा खर्च र फर्म भर्न पैसा थिएन । आमाबुबाको सहमति नलिई, उसले गाउँका धनी साहुजीसँग सानो ऋण माग्यो ।
“कहिले तिर्छस् ?” साहुजीले आँखा चिम्लिँदै सोधे ।
“मिहिनेतले पक्कै चाँडै तिर्छु ।” विक्रमले आँटका साथ भन्यो । साहुजीले विश्वास गरेनन्, तर सानो रकम दिए ।
विक्रम सहर गयो, परीक्षा दियो र नतिजा कुरेर बस्यो । घरमा ऋण तिर्नु पर्ने दबाब थियो । परिवारमा पनि उसले गलत निर्णय गरेको भनी गुनासो सुनाए।
सफलताको उज्यालो
एक महिना पछि नतिजा आयो । विक्रमले छात्रवृत्ति जितेको थियो ! विद्यालयको सम्पूर्ण खर्चमा निःशुल्क भएको मात्र होइन, छात्रावासमा बस्ने सुविधा पनि थियो । यो खबरले गाउँभरि हर्ष छायो ।
साहुजीले भने, “हेर, धैर्य राख्ने मान्छे हार्दैन । तिमीले आफ्नो मेहनत देखायौ ।”
विक्रमले पढाइलाई अझ गम्भीरताका साथ लिन थाल्यो । उसले स्कुल मात्र होइन, कलेज र विश्वविद्यालयमा पनि उत्कृष्ट प्रदर्शन गर्यो । ऊ गाउँकै पहिलो इन्जिनियर बन्यो ।
आज विक्रम आफ्ना पुराना दिन सम्झँदै भन्छ, “संघर्षले मलाई निडर बनायो, तर धैर्यले मलाई सफल । कठिनाइमा पनि संयम गुमाउनु हुँदैन । सही समय आएपछि मेहनतको फल अवश्य पाइन्छ ।”
उसले आफ्नो गाउँमा विद्यालय खोलेको छ र प्रत्येक विद्यार्थीलाई प्रेरणा दिन्छ ।
विक्रमको संघर्ष र धैर्यको कथा आज हरेक बालबालिकालाई भन्छ- “सफलताको उज्यालो देख्न घामपानी सहनुपर्छ । मेहनत र धैर्यको यात्रामा कहिल्यै खाली हात हुँदैन ।”
°°°°°
बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।