दुनियाँ जुत्ताकाे माला लगाउनु पर्नेलाई
फूलकाे माला पहिऱ्याई रहेछ ।
जुत्ताको स्थान खुट्टा
हामी शिरमा लगाउन खोजिरहेछौँ
दुनियाँ खुट्टा काटेर जुत्ता उपहार दिन्छ
यहाँ जुत्ता देखाएर खुट्टालाई पासोमा पारिन्छ ।
जुत्ता मेलामा राखेको जुत्ता जस्तो छ जीवन
जस्ले लगायो उसैको हुने
भरखर सोरूमबाट निस्किएको जुत्ता जस्तो
भित्र भित्रै दुख लुकाएर बाहिर टल्काइ रहनु पर्ने ।
जुत्ता जतिनै महङ्गो र ब्राण्डेड होस्
शिरमा सुहाउँदैन
जुत्ताले तिम्रो खुट्टा ढाकिदिएकाे छ
जुत्ता पैतालोकाे ताज हाे
त्यही पैतालोका लागि जुत्ताले घस्रिदिनु पर्छ ।
जुत्ताले खुट्टालाई उभ्याइदिनु पर्छ
जुलुसमा उत्तेजित भिडले जुत्ता प्रहार गर्छ
जुत्तालाई कसैको ढाडमा बज्रिदिनु पर्छ
जुत्ता मन्दिर पनि पुग्छ
जुत्ता चिहान पनि पुग्छ
जुत्ता मस्जिद पनि पुग्छ ।
चाेक चाेकबाट भइ रहेछ
बुट पालिस आन्दोलन
जुत्तालाइ पैतालोमुनि घुसिदिनुपर्छ
जुन जुत्ताले तिमीलाई भर दियो
जुन जुत्ताले तिमीलाई दाैडायाे
र तिमीले जितिरह्यौ जीवनका म्याराथनहरु
जुन जुत्ताले तिम्रा लागि फाटिदिनु पर्याे
आज बिर्सियाै तिमीले तिनै जुत्ता ।
जुत्ता चाहे सुनकै हाेस्
जुत्ताको स्थान त खुट्टा नै हाे
बिर्सिदियाै तिमीले पुरानो जुत्ता
र लाग्यौ नयाँ जुत्ताको खाेजीमा ।
कालेश्वर ४ ललितपुर


