तिमीपनि गद्दार भयौ कमरेड
जसरी अरुहरु
घाती र बेइमानी हुँदै गद्दार निस्किए ।
समग्रमा सबै सबै गद्दार भए
धमिराले खाएको कामै नलाग्ने काठ जस्तो
धर्म र अर्थ विहीन उपनिषद् जस्तो
क्षण भरमै बिर्सिहाल्ने घोषणापत्र जस्तो
बिनाकामको संविधान जस्तो ।
तिमी पनि गद्दार भयौ कमरेड..!
के हामी एउटै कोठामा बसेर मात्रै कमरेड भएका हौ र ?
जसरी कमरेड शब्द उत्पतिको व्याख्या स्पेनिसमा छ
हैन कमरेड
हामी त एकै किसिमका सपनाहरूलाई लक्ष्य बनाएर
बाँच्नु र मर्नु सङ्गको सम्झौतामा रातो रगतले हस्ताक्षर गरेर
जीवन संघर्षको गीत हो भने हामीले पनि गाउनुपर्छ भनेर
एउटै लयमा एकै किसिमका सपनाहरूको गीत गाएका थियौ
उहीँ सपनाहरूका गीतमा
उहीँ संघर्षका धुनहरु भरेका थियौ
आखिर यी हाम्रा सम्पूर्ण इतिहास भुलेर
तिमी पनि गद्दार भयौ कमरेड ।
आफू गद्दार बन्दै गर्दा
गद्दार शब्दको अपरम्पार अर्थ बुझेनौ
र त बनाइदियौ झन् मलाई पनि गद्दार
हुन त सबै सबै गद्दारहरुको लहरहरूमा
म एक्लै कसरी पो निर्दोष कवि बन्न सक्छु र
त्यसैले त मलाई पनि गद्दार बनाइदियौ ।
म प्रति बिस्वास राख्ने मेरि पत्नीको सामु
म प्रति कर्तव्यको आशा राख्ने
बा आमाको अगाडि
मलाई संसारकै बलियो र महान देख्ने मेरा छोराछोरीको अगाडि
थोरै थोरै मेरा विचारहरुमा भरोसा र आस्था राख्ने समाज अगाडि
मलाई पनि गुथिदियौ पगरी गद्दारको
र बनाइदियौ लज्जास्पद गद्दार- सम्पुर्ण बुवा आमाहरूको सामु
भन्न बाध्य पारिदियौ विस्वासघाती ।
तिमी त स्वार्थले गद्दार भएका थियौ
मलाई बनायौ जबर्जस्ति गद्दार
र सिध्याइदियौ मेरा
सम्पुर्ण विचार र सिद्धान्तहरु
जसरी टाटक्स्किलाई लेनिनले सिध्याए,
लेबेरेन्ती बेरियालाई ख्रुश्चेवले सिध्याए,
माओत्सेतुङले लिङ प्याओलाई सिध्याए,
जसरी गद्दार नाम दिएर ल्यु साओचिलाई आजीवन जेल हालियो,
जसरी हङ्गेरीमा इमरेन आगिलाइ गद्दार शब्दले सिध्याइयो,
त्यसैगरी मलाई पनि गद्दार बनाइयो
तिमी त अपराध गरेर गद्दार भयौ
तर , म एउटा योद्धा, म एउटा उज्यालो हुँदाहुँदै
किन भिरायौ गद्दारको पदवी !
तिमी साँचो गद्दार भयौ कमरेड ।
साझा बस्ती खोटाङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।