हाम्रो सम्बन्ध
पाँच औंलाको घनिष्ट सम्बन्ध
न त एक अर्कामा रिस छ , न त डाह नै
सम्पन्न गर्नु छ हामीले एउटै काम ।
जब एउटा औंला लुटिन थाल्छ
तब अरु चारको के काम ?
हामी त निष्कलङ्क मानववादमा अघि बढ्छौं ।
हामीले के चाहिँ काम गरेका छैनौं र?
लेख्ने देखि लेखाउँने सम्म,
खेद्ने देखि खेदाउँने सम्म,
कुट्ने देखि कुटाउने सम्म,
लुट्ने देखि लुटाउने सम्म,
सबै कामहरूको अनुभवी छौँ ।
जब तिम्रो नियत भ्रष्ट हुन्छ तब हामी जुर्मुराउँछौँ बिरूद्ध मा
जब तिमीले सबैलाई समान देख्छौ
तब हामी उज्यालो बन्छौँ
हामीले केवल
सधैं आज्ञाकारी हुन मात्र जान्यौं
राम्रो नराम्रो छुट्याउँन खोजेनौ ।
जब तिमीमा अभिमान उत्पन्न हुन थाल्दछ
तब सन्नद्ध भएर
अर्को मान्छेको सम्मुखमा ठडिन पुग्छौँ
कहिले चोर्न सघायौं त कहिले फोर्न सघायौं
कहिले यतै यता तान्न सघायौं
त कहिले तिम्रो आफ्नो बिरानो छान्न सघायौं
कहिल्यै सिकाए नौ निर्माणका बाटाहरू ।
अब ब्युँझिएका छौँ हामीहरू
हरेक मान्छेको मूल्य बुझ्न सक्ने भएका छौँ
त्यसैले,
मान्छेको बिरूद्ध तिमीले कुनै कदम चाल्यौ भने
हामी तातो फलाम बनेर उभिनेछौँ
र बनाउँने छौँ सबैको लागि सुन्दर संसार ।


