०१.
[ स्रोत लघुकथा ]
शीर्षक: सुनौलो घाम
✍️धीरकुमार श्रेष्ठ
‘ओहो ! बुहारी, तिमी त नछुने भइछौ !’
सासू एक्कासि बोलेको कुराले झस्किएँ । आफू बसेको ठाउँबाट उठेर पछाडि फर्केर हेरेँ । नभन्दै भुइँ भिजेको रहेछ । धुलौटे भुइँ राताम्य भइसकेछ । हत्तपत्त घरभित्र पस्न खोजेँ, तर…
‘नाइँ, नाइँ, बुहारी ! घरभित्र नपस । यस्तो बेला छुट्टै बस्नुपर्छ । कसैलाई छुनुहुन्न । अलग्गै खानुपर्छ । यसो गरिएन भने देउता रिसाउनुहुन्छ ।’ उनै सासूको आवाज गुन्जियो ।
घरभित्र जान उचालिएका पाइला जहाँको त्यहीँ रोकिए । बिहेपछि आमाबाबुको आशीर्वाद लिन आएका सासूससुराको अनुहारतिर हेरेँ । उहाँको अनुहारमा रुन्चे भाव देखेँ । के गर्ने के नगर्ने दोधारमा परेँ । पश्चिमतिर हेरेँ । आकाश डढेको जस्तो घुर्मैलो रापतापले छरिएको देखेँ ।
‘पख, पख ! तिमीहरू पढेलेखेका मानिस हौ । परम्परा मान्दैनौ । यो थाहा छ । हामी पनि सबै मान्दैनौँ । तर, गाउँसमाजको मुख टाल्नका लागि भए पनि केही कुरा त मान्नै पर्छ । त्यसैले सानो घर बनाएका छौँ । सफा छ । ओछ्यान धोएको, चिटिक्क छ । धुपबत्ती बालिदिन्छु । केही चिन्ता मान्नुपर्दैन । तिमीले भनेका सबै कुरा त्यहीँ पुऱ्याइदिन्छु ।’ यति भन्नासाथ सासूले तदारुकताका साथ मलाई सानो घरतिर डोर्याइन्।
म डोरिँदै त्यहाँ पुगेँ । नभन्दै उनले भनेजस्तै थियो सानो घर । भित्र पसेर बाहिर हेरेँ । उहाँको नजर झुकेको थियो ।
रात गहिरिँदै जाँदा डर होइन, मन छिप्पिन सुरु भयो । कुखुराको भाले बासेको आवाजले झस्किएँ । बाहिर हेरेँ । भुकभुक उज्यालो हुन लागेको रहेछ । निर्द्वन्द्व निस्के । पाइला अघि बढ्दै गए । देउराली पुगेर पूर्व हेरेँ । निलो आकाशमा छरिँदै गरेको सुनौलो रङ क्रमशः रातिँदै थियो ।
❀❀❀
[ लघु-टिप्पणी ]
🔴’सुनौलो घाम’ लघुकथाको भित्री सौन्दर्य
✍️नन्दलाल आचार्य
धीरकुमार श्रेष्ठको “सुनौलो घाम” लघुकथाले परम्परा, अन्धविश्वास र व्यक्तिगत स्वतन्त्रताको संवेदनशील अन्तर्द्वन्द्वलाई उजागर गरेको छ । कथा एक बुहारीको मासिक धर्मसँग सम्बन्धित पितृसत्तात्मक मान्यताले सिर्जना गरेको सामाजिक दूरीको यथार्थ चित्रण हो ।
सासूको भूमिकाले परम्परागत सोच र समाजको दबाबको प्रतिनिधित्व गर्दछ । सासूको “गाउँसमाजको मुख टाल्न” भन्ने तर्कले महिलामाथि लादिने परम्परागत नियमहरूलाई कायम राख्न कस्तो विवशता छ भन्ने देखाउँछ । यद्यपि सासूले बुहारीलाई असुविधा कम गर्न सानो घरको व्यवस्था गरेको देखिन्छ, तर त्यो पनि आत्मगौरवको पूर्ण सम्मान होइन ।
कथाको मुख्य पात्र बुहारीको मनोविज्ञान उत्कृष्ट रूपमा उतारिएको छ । “मन छिप्पिन सुरु भयो” भन्ने वाक्यले परम्पराको नाममा गरिएको बेवास्ताले सिर्जना गरेको मानसिक पीडा र विद्रोहको सुरुवातलाई सूक्ष्म रूपमा देखाएको छ । “सुनौलो रङ क्रमशः रातिँदै थियो” भन्ने अन्तिम वाक्यले कथाको प्रतीकात्मक पक्षलाई बल पुर्याएको छ । यसले महिलाको स्वतन्त्रताको खोजीमा आइपर्ने चुनौतीहरूको संकेत गर्दछ ।
कथाले पाठकलाई सोच्न बाध्य बनाउँछ- कसरी समाजले महिलाको प्राकृतिक अवस्थालाई कलङ्कित गर्छ र कसरी परम्परागत सोचको आडमा अन्यायलाई सामान्यीकृत गरिन्छ । धुलौटे राताम्य भुइँदेखि “सुनौलो रङ रातिँदै” सम्मको यात्रा सामाजिक र वैयक्तिक परिवर्तनको आकांक्षालाई प्रस्ट्याउँछ ।
यो लघुकथा केवल कथन मात्र होइन, सामाजिक सोचमा परिवर्तनको आह्वान हो । लेखकको लेखन शैली सरल तर गहिरो छ । यस्तो चोटिलो प्रस्तुतिले समाजका अनेक यथार्थलाई पर्दाफास गर्छ ।
❀❀❀
[ उत्तर-लघुकथा ]
शीर्षक: सुनौलो घाम
✍️नन्दलाल आचार्य
“देउता रिसाउँछन् रे, तर हजुरलाई दुख्दा ती कहाँ हुन्छन् सासू आमा ?” मैले भित्र दबाइरहेको स्वर पहिलोपटक ठमठमी बाहिरियो ।
सासूले केही भनिनन् । उनको नजर झुकेको थियो, तर अनुहारमा गहिरो छायाँ देखिन्थ्यो । बाहिरका धूलाले भर्खरै ढाकेको त्यो सानो कोठा विरूप हुन लागेको थियो । कोठाको झ्यालबाट पूर्वतिरको आकाश हेरेँ । सुनौलो घामको रङको रक्तिम बादलले ढाक्न थालेको थियो ।
“बुहारी, म पनि त यहीँ समाजमा हुर्केकी । मेरो स्वर कहाँ सुने कसैले ?” उनको स्वर भाँचिएको थियो, मानौँ जीवनभर गुम्सिएको पीडाले आवाज फोड्दै थियो ।
मैले उनीतिर हेरेँ । त्यो झुकेको अनुहार कुनै पहाड जस्तो देखिन्थ्यो- भित्र आगो बलिरहे पनि बाहिर मौन ।
“सासू आमा, आज देउरालीको सुनौलो घाम हेर्ने छौँ । समाजलाई पनि सँगै लगौँला । शायद देउता अब रिसाउनुहुन्न ।”
उनी मुस्कुराइन् । हामी निस्कियौँ । आकाशमा घामको रङ फेरि सुनौलो हुँदै थियो ।
❀❀❀
०२.
[ स्रोत-लघुकथा ]
शीर्षक: ऐना
✍️भैरव गेलाल
“छोरी ! फुटेको ऐना हेर्नु हुँदैन भन्छन् । तिमीचाहिँ यो दुई चिरा परेको ऐनामा किन यति झुमिरहेकी छौ ?” सावित्राले छोरी सृजालाई अलिक लयमा, थोरै रुष्ट हुँदै सम्झाउन खोजिन् ।
“मलाई थाहा छ, आमा । तर के थाहा छ, यो फुटेको ऐनामा मैले आफ्नै विगत र वर्तमान दुवैलाई एकसाथ देख्न पाएकी छु । शरीर र मनको द्वन्द्वलाई पनि यहीँबाट चिन्दैछु । जसले गर्दा मलाई यो ऐना अनौठो प्रिय लाग्छ ।” सृजाले आमाको चेतावनीलाई हल्का विरोधको गन्ध मिसाउँदै जवाफ फर्काइन् ।
सावित्रा भने मौन भई छोरीलाई टुलुटुलु हेरिरहेकी थिइन् । उनी भोकाएको मानिसले होटलको शोकेसमा सजाइएका परिकारलाई हेरिएझैं छोरीको मनोभाव बुझ्ने प्रयासमा थिइन् । सृजा भने आफ्नै तालमा थिइन् ।
“आमा ! तिमी मेरो विगत हौ, म तिम्रो वर्तमान । तिमी मेरो शरीर हौ, म तिम्रो मन । त्यसैले, म यो चिरिएको ऐनामा तिमी र आफूलाई एकसाथ खोजिरहेकी छु ।” सृजाले अलिक द्वैधभावले भने पनि आमालाई बुझाउन खोजिरहिन् । सावित्राको अनुहार भने कुहिरोमा अलमलिएको कागझैं अन्योलमा थियो ।
सृजाले आमालाई नजिकबाट सुम्सुम्याउँदै भनिन्, “आमा ! ऐना समाज हो र मान्छे मन । मान्छे विगत हो र ऐना वर्तमान । जबसम्म मन परिवर्तन हुँदैन, ऐना बदल्न सकिँदैन । जबसम्म मान्छे बदलिँदैन, ऐना बदल्न सकिँदैन । मैले त रातको कालो पर्दा च्यातेर यही ऐनामा बिहानको सूर्य देख्नु छ । मैले त यहीँ ऐना हेरेर तिम्रो आँखाको सपना र मेरो आँखाको चश्मा बदल्नु छ ।”
⁰⁰⁰
लहान, नेपाल
❀❀❀
[ लघु-टिप्पणी ]
🔴’ऐना’ लघुकथाको भित्री सौन्दर्य
✍️नन्दलाल आचार्य
भैरव गेलालको लघुकथा ‘ऐना’ गहन प्रतीकात्मकता, मार्मिक संवाद र जीवनका द्वन्द्वात्मक अवस्थाहरूको अभिव्यक्ति भएको उत्कृष्ट नमुना हो । लघुकथाले ‘ऐना’। लाई समाज र व्यक्तिको मनको रूपकका रूपमा प्रयोग गर्दै व्यक्तिगत र सामूहिक परिवर्तनको आह्वान गर्दछ ।
कथाको मुख्य पात्र सृजाको संवाद उनका मानसिक संघर्ष र आत्मबोधलाई मूर्त रूप दिन्छ । “फुटेको ऐना हेर्नु हुँदैन” भन्ने सांस्कृतिक चेतना र व्यक्तिगत अनुभवको भिन्नताले आमा र छोरीबीचको मनोवैज्ञानिक दूरीलाई चित्रण गर्छ । सृजाको “विगत र वर्तमान” हेर्ने क्षमताले उनी भित्रको चेतनाको गहिराइलाई प्रकट गर्छ । उनले विगत र वर्तमानलाई जोड्ने सेतुका रूपमा चिरिएको ऐना लाई देख्नु, विगतका गल्ती र समाजका अन्यायपूर्ण संरचनाहरूलाई सुधार्ने साहसको संकेत हो ।
सावित्राको मौनता र अन्योलले पुरानो पुस्ताको सीमित समझ र आफ्ना सन्तान प्रति बुझ्ने प्रयासलाई दर्शाउँछ । यो मौनता यथास्थितिको प्रतीक हो, जुन सृजाको संवादले तोड्न खोज्छ । “ऐना समाज हो र मान्छे मन” भन्ने वक्तव्यले कथा अझैँ गहन बनाएको छ । यसले व्यक्तिगत परिवर्तनबिना सामाजिक रूपान्तरण असम्भव छ भन्ने सन्देश दिन्छ ।
भाषिक सौन्दर्य र प्रतीकात्मक गहिराइ यो लघुकथाको सबल पक्ष हो । कथाको अन्त्य केही खुला छ, जसले पाठकलाई सोच्न प्रेरित गर्छ । समग्रमा, ऐना लघुकथाले आन्तरिक र बाह्य परिवर्तनको जटिलतालाई कलात्मक र शक्तिशाली रूपमा प्रस्तुत गरेको छ ।
❀❀❀
[ उत्तर-लघुकथा ]
शीर्षक: फुटेको सपना
✍️नन्दलाल आचार्य
“छोरी, यो फुटेको ऐनामा किन हेरिरहेकी छ्यौ ?” सावित्राले गम्भीर स्वरमा अझै सोधिन्,
“के तिमीलाई थाहा छैन, फुटेको ऐना अशुभ मानिन्छ ?”
“आमा !” सृजाले हल्का मुस्कानसहित जवाफ फर्काइन्, “यो फुटेको ऐना मात्र हैन, यो मेरो कथा हो । यसका चिराहरूमा म आफ्नो विगतका चोट र वर्तमानका संघर्ष देख्छु । यो चिरिएको ऐना मेरो जीवनको बिम्ब हो ।”
सावित्रा चुपचाप छोरीको आँखामा गहिराइ खोजिरहेकी थिइन् । उनले सृजाको अनुहारमा नदेखिने तर ऐनामा प्रष्ट देखिने घाउहरू पढ्न खोजिन् ।
सृजाले थपिन्, “आमा, यो ऐना फुटेको भए पनि सत्य देखाउन कहिल्यै चुक्दैन । यसका चिराहरूले मलाई मेरो अधुरा सपनाको चित्र बनाउन सिकाएको छ । अनि, यसैले मलाई सिकाएको छ- फुटेको ऐनामा आफ्ना सपना जोड्न सक्छु भने, जीवनका चिराहरू पनि जोड्न सक्छु भनेर ।”
सावित्रा मौन रहिन्, तर उनको मनले सृजाका शब्दहरूको गहिराइ महसुस गरिरहेको थियो ।
❀❀❀
०३.
[ स्रोत-लघुकथा ]
शीर्षक: प्रकृति
✍️गंगा खड्का
प्रदेशस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगितामा प्रतिस्पर्धीका रूपमा सहभागी बनेकी साधनाको उपस्थिति धेरैका लागि अस्वाभाविक ठहरियो । कसैले मुखामुख गरे, कसैले अनुहार बिगारे त कसैले ओठ लेपारे । खासखुसले माहोल तातियो ।
एक जनाले मुख फोरेर सोधे, “म्याडम ! तपाईंले योभन्दा अघि कुनै प्रतियोगितामा भाग लिनुभएको जस्तो त लाग्दैन…।”
अर्का सहभागीले उसका कुरा नसिध्याउँदै थपे, “त्यही त ! यस्ता महान् हस्तीहरूका बीचमा तपाईं प्रतिस्पर्धी बनेर मिसिनु भनेको हाँसको बथानमा बकुल्लो भएको जस्तो होइन र, म्याडम ?”
साधनाको मुखाकृतिमा कुनै परिवर्तन आएन । उनी उल्टै कसैले प्रशंसा गरेजस्तो भावमा मुस्कुराइरहिन् ।
ओल्लो छेउमा बसेका एकजनाले उनको नजिकै आएर कानेखुसी गरे, “म्याडम, अरुले तपाईंलाई यत्रो हेपेर बोल्दा पनि तपाईंको आत्मस्वाभिमान छैन जस्तो लाग्छ । किन मुस्कुराइरहनु भएको ? तपाईंलाई रिस उठेको छैन ?”
साधनाले बडो शालीनतासाथ उत्तर दिइन्, “कसैले गरेको टीका टिप्पणी देखेर रिसले होइन, इखले अघि बढ्ने मेरो बानी छ । प्रकृतिमा पनि पानी बर्साउने मेघ सधैं शान्त हुन्छ भन्ने कुरा तपाईंलाई थाहा छैन र ?”
⁰⁰⁰
बूढानीलकण्ठ, काठमाडौँ
❀❀❀
[ लघु-टिप्पणी ]
🔴’प्रकृति’ लघुकथाको भित्री सौन्दर्य
✍️नन्दलाल आचार्य
गंगा खड्काको लघुकथा “प्रकृति” गहन मनोवैज्ञानिक दृष्टिकोण र सामाजिक सन्देशको उत्कृष्ट मिसाल हो । कथा एक साधारण तर अत्यन्तै प्रभावशाली चरित्रचित्रणमा आधारित छ । यसले साधनाको आन्तरिक शक्ति र धैर्यलाई उजागर गर्छ । कथामा प्रयोग भएका संवादहरू सरल भए पनि गहिरो अर्थ बोकेका छन् ।
साधनाको मुस्कान र शान्त स्वभाव पाठकलाई एउटा महत्त्वपूर्ण पाठ दिन्छ- नकारात्मकता र अपमानलाई इखमा रूपान्तरण गर्दै आफ्नो उद्देश्यप्रति अडिग रहनु नै सच्चा विजय हो । कथामा प्रयोग गरिएको “हाँसको बथानमा बकुल्लो” भन्ने प्रतीक, सामाजिक पूर्वाग्रह र असमानताको प्रतिनिधित्व गर्दछ । यस प्रतीकले समाजमा नयाँपनलाई अपमान र तिरस्कारको दृष्टिले हेर्ने प्रवृत्तिलाई चित्रण गरेको छ ।
साधनाको उत्तर- “पानी बर्साउने मेघ सधैं शान्त हुन्छ” भन्ने कथन कथाको मुख्य सन्देश हो । यसले प्रकृतिको रूपमा जीवनको गहिरो यथार्थलाई जोडेको छ । शालीनता र सहनशीलता शक्ति हुन् भन्ने दृष्टिकोण प्रस्तुत गर्दै कथा सकारात्मक मानसिकताको प्रेरणा बन्छ ।
तर, कथाको अन्त्य अझ बढी प्रभावकारी बनाउन केही दृश्यात्मक वर्णन थपिएको भए, साधनाको आत्मविश्वास अझ जीवन्त बन्न सक्थ्यो । यद्यपि, लघुकथाले छोटो आकारमै पाठकको मनोविज्ञानमा गहिरो प्रभाव पार्न सफल भएको छ । यसले समाजमा परम्परागत सोचको चुनौती दिनेहरूका लागि प्रेरणाको स्रोतको रूपमा काम गर्नेछ ।
कथा चोटिलो, सन्देशमूलक र सबै प्रकारका नकारात्मकता हरूलाई सामना गर्ने साहसको उदाहरण हो ।
❀❀❀
[ उत्तर-लघुकथा ]
शीर्षक: इखको बिजुली
✍️नन्दलाल आचार्य
“म्याडम, तपाईंको कविता यति गहिरो र प्रभावशाली कसरी भयो ?” आयोजक मध्येका एकजनाले, पुरस्कार वितरण समारोहपछि, साधनाको नजिक आएर सोध्न पुग्यो।
साधनाले मुस्कुराउँदै जवाफ दिइन्, “प्रकृतिले मलाई सिकाएको पाठले । जब पानी बर्सिन्छ, त्यस पछि कहिलेकाहीँ बिजुली पनि चम्किन्छ । मानिसहरूले गरेको टिप्पणी मेरो मेघ माथि चम्किएको बिजुली हो । यसले मलाई लेख्न उर्जा दिएको छ ।”
सभामा सन्नाटा छायो । उनीहरूले यसअघि गरेको उपहास र तिरस्कार अब उनको शब्दको बिम्बमा फिका भएको महसुस गरे ।
साधनाले आफ्नो कविता संग्रह हातमा उठाउँदै थपिन्, “प्रकृतिले शान्त मेघ मात्र होइन, आँधी र बिजुलीको शक्तिलाई पनि आफ्नो हिस्सामा बाँडेको छ । जसरी मेघले बर्खाको सुगन्ध ल्याउँछ, त्यस्तै, मेरो इखले आज कविताको सुगन्ध ल्याएको छ ।”
सभाभरि तालीको गडगडाहटले साधनाको इखको बिजुलीलाई स्वागत गर्यो । “शान्त मेघले मात्रै होइन, चम्किलो बिजुलीले पनि संसार उज्यालो बनाउँछ ।” अन्त्यमा साधनाले भनिन्।
❀❀❀
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।