Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

लघुकथामा एक प्रयोग अङ्क: ३२ | हाम्रो कथाघर

पुस २७, २०८२

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन

पुस २५, २०८२

कविता: जब म गाउँ फर्कनेछु | हाम्रो कथाघर

पुस २५, २०८२

कविता: खण्डहर सपनाको पहाड | हाम्रो कथाघर

पुस २५, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग अङ्क २१ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २१ | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग
नन्दलाल आचार्यनन्दलाल आचार्यअशोज १९, २०८२1K Views
शेयर गर्नुस Facebook Twitter Copy Link Email WhatsApp
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।

नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।

यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।

प्रस्तुत छ “लघुकथामा एक प्रयोग”को
नयाँ श्रृङ्खला


१. लघुकथा: जिम्मेदारी
✒ किरण आचार्य

अख्तियारबाट मुद्दा अदालतसम्म पुग्ने पक्का भएपछि हतास भएका मालअड्डा प्रमुख दीनानाथसँग छलफल गर्न प्रहरीका एस.पी. दलबहादुर, अख्तियार प्रमुख झोरा सिंह र न्यायाधीश हर्कमान एउटा होटलमा भेला भए।

छलफल सुरु हुनासाथ न्यायाधीश हर्कमानले गम्भीर स्वरमा प्रश्न गरे–
“भ्रष्टाचार गर्नु हुँदैन भन्ने राम्रैसँग बुझ्दाबुझ्दै तपाईँजस्ता योग्य मान्छेले यसरी गलत काम किन गर्नुभयो?”

दीनानाथको मुख निस्तेज भयो। आँखा रसाए। दुवै हात जोड्दै विचलित स्वरमा उनले भने–
“ठीक भन्नुभयो हजुर। तर हाम्रो समाजमा घरपरिवारको सम्पूर्ण जिम्मेवारी पुरुषमाथि नै हुन्छ। आमा–बुबा, श्रीमती, सन्तान सबैलाई पाल्नुपर्छ। घरजग्गा जोड्नुपर्छ। तलबले मात्र त्यो सम्भव हुँदैन भन्ने कुरा तपाईँहरूले पनि जान्नुहुन्छ।”

केही बेरको तिक्त बहसपछि अन्ततः कुरा ‘सम्झौता’मा टुङ्गियो। मुद्दा अदालतसम्म नलैजाने, भित्रभित्रै लेनदेन गरेर मिलाउने सहमति भयो। त्यसपछि राहत अनुभव गरेका दीनानाथले होटलमै सबैलाई भोज खुवाए। महँगा रक्सी मगाए।

भोज सकिनेबित्तिकै उनीहरू मसाज सेन्टर जाने तयारीमा थिए। त्यतिबेलै दीनानाथको मोबाइल बज्यो। फोन उनकी श्रीमतीको थियो।
उनीले चिन्तायुक्त स्वरमा भनिन्–
“तपाईँको बैठक अझै सकिएको छैन? छोरी भोलिदेखि विद्यालय जान्नँ भन्ने अडानमा छे।”

दीनानाथ अचम्म परे–
“किन त?”

फोनको अर्कोतर्फबाट रुँदै उत्तर आयो–
“विद्यालयको शुल्क नतिरेको तीन महिना भयो भन्ने तपाईँलाई थाहा छैन? घर त लोग्ने मान्छेलाई चाहिँदै चाहिँदैनजस्तो पो भयो।”

—०००—
भृकुटीनगर, नेपालगन्ज

❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ बुनोट र बनोटका आधारमा ‘जिम्मेदारी’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

किरण आचार्यको लघुकथा ‘जिम्मेदारी’ एउटा सानो प्रसङ्गभित्र ठूलो सामाजिक विसङ्गति उद्घाटन गर्ने सशक्त लघुकथा हो। यसले भ्रष्टाचार, सामाजिक संरचना र व्यक्तिगत विवेकबीचको टकरावलाई कलात्मक गहिराइमा उतारेको छ। लघुकथा सानो आकारको भए पनि यसको भाविक विस्तार व्यापक छ। यस समालोचनामा लघुकथाको बुनोट र बनोटका आधार (आरम्भ, विकास, उत्कर्ष, विपर्यास र बिजवाक्यीय अन्त्य) का माध्यमबाट यसको कलात्मकता, सन्देश र आत्मानुभूति विश्लेषण गरिन्छ।

१. कथाको बुनोट (आरम्भ)—यथार्थको मूर्त उद्घाटन

कथाको आरम्भ अत्यन्त सशक्त र प्रभावकारी छ—
“अख्तियारबाट मुद्दा अदालतसम्म पुग्ने पक्का भएपछि, हतास भएका मालअड्डा प्रमुख दीनानाथसँग छलफल गर्न प्रहरीका एस.पी. दलबहादुर, अख्तियार प्रमुख झोरा सिंह र न्यायाधीश हर्कमान एउटा होटलमा भेला भए।” ।

यस आरम्भले पाठकलाई तुरुन्तै कथाको सङ्घर्ष केन्द्र ‘भ्रष्टाचार र त्यसको आन्तरिक जालो’ भित्र प्रवेश गराउँछ। कुनै प्रस्तावनात्मक ढिलाइबिना नै कथा घटनामुखी हुन्छ, जुन आधुनिक लघुकथाको विशेषता हो। पात्रको हैसियत (मालअड्डा प्रमुख, प्रहरी, अख्तियार प्रमुख, न्यायाधीश) नै कथाको सामाजिक सन्दर्भलाई उजागर गर्छ।

२. कथाको विकास—विचारको टकराव र संवादको शक्ति

कथाको विकास खण्डमा लेखकले संवादलाई मुख्य उपकरण बनाएका छन्।
न्यायाधीश हर्कमानको प्रश्न— “भ्रष्टाचार गर्नु हुँदैन भन्ने राम्रैसँग बुझ्दाबुझ्दै तपाईँजस्ता योग्य मान्छेले यसरी गलत काम किन गर्नुभयो?”
—ले कथा नै नैतिक विमर्शको धरातलमा पुर्‍याउँछ।
त्यसको जवाफमा दीनानाथको आत्मस्वरले कथा मानवीय पक्षको उचाइ छुन्छ— “हाम्रो समाजमा घरपरिवारको सम्पूर्ण जिम्मेवारी पुरुषमाथि नै हुन्छ… तलबले मात्र त्यो सम्भव हुँदैन…”

यहाँ लेखकले एउटा व्यक्तिगत गल्तीको कारण सामाजिक दबाबमा खोज्ने प्रवृत्ति देखाएका छन्। दीनानाथको उत्तरमा असल मनको अपराधबोध र समाजको असमान अपेक्षाबीचको द्वन्द्व दुवै झल्किन्छ।

संवादहरू छोटा, सारगर्भित र प्राकृतिक छन्। कुनै पनि शब्द अनावश्यक छैन। यही कारण कथा विचारप्रधान भएर पनि घटनात्मक तीव्रता राख्न सफल भएको छ।

३. उत्कर्ष—समझदारीको विडम्बना

कथाको उत्कर्ष त्यतिबेला आउँछ जब ‘न्यायका निकाय’का प्रतिनिधिहरू नै अन्यायको लेनदेनमा सहभागी हुन्छन्।

“केही बेरको तिक्त बहसपछि अन्ततः कुरा ‘सम्झौता’मा टुङ्गियो।”

यो वाक्यले सम्पूर्ण न्यायसंस्थाको नैतिक पतनलाई एक झट्कामा उजागर गर्छ।
‘भोज’, ‘महँगा रक्सी’ र ‘मसाज सेन्टर’को तयारीले पात्रहरूका स्वार्थ, वासना र विडम्बनाको प्रतीक बनेका छन्। यहाँ लेखकले प्रणालीभित्रको सामूहिक भ्रष्ट मानसिकतालाई कलात्मक रूपमा व्यङ्ग्य गरेका छन्।

४. विपर्यास र अन्त्य—आत्मानुभूतिको चोटिलो व्यङ्ग्य

कथाको अन्त्य अत्यन्त भावनात्मक र व्यङ्ग्यपूर्ण छ। दीनानाथले त अझै ‘राहत’ महसुस गरिरहेका छन्, तर उनकी श्रीमतीको फोनले उनको ‘जिम्मेदारी’को वास्तविक अर्थ उजागर गर्छ— “छोरी भोलिदेखि विद्यालय जान्नँ भन्ने अडानमा छे… विद्यालयको शुल्क नतिरेको तीन महिना भयो भन्ने तपाईँलाई थाहा छैन?”

यो अन्त्यले कथाको शीर्षक ‘जिम्मेदारी’ लाई उल्ट्याउँछ र त्यसैभित्र अर्थ खुलाउँछ।
पुरुषले ‘जिम्मेदारी’को नाममा भ्रष्टाचार गर्नुपर्ने तर्क दिएको थियो, तर अन्ततः ऊ आफ्नो सबैभन्दा सानो र पवित्र जिम्मेवारी—‘छोरीको पढाइ’—पूरा गर्न असफल ठहरिन्छ।
यही बिन्दुमा कथा भावनात्मक विस्फोटमा पुग्छ र पाठकमा आत्मअनुभूतिको गहिरो झट्का दिन्छ।

५. कलात्मक संरचना र शैलीगत मूल्य

कथाको बुनोट अत्यन्त सन्तुलित छ—
स्थान–काल: होटलको सानो परिधि।
पात्र: पाँच पात्र (दीनानाथ, न्यायाधीश, एस.पी., अख्तियार प्रमुख, श्रीमती)।
सङ्घर्ष: बाह्य (मुद्दा र सम्झौता) र आन्तरिक (नैतिक अपराधबोध)।
भाषा: सरस, स्वाभाविक, संवादप्रधान र चोटिलो।

लघुकथाकारले छोटो भाषामा विशाल सामाजिक सन्दर्भ भित्र्याएका छन्। प्रतीकको स्तरमा ‘भोज’ र ‘मसाज सेन्टर’ नै नैतिक पतनका दर्पण हुन्।

६. सन्देश र आत्मानुभूति

लघुकथाले एउटा असल मनुष्य कसरी गलत बाटोमा हिँड्छ भन्ने प्रश्न उठाउँछ। दीनानाथको अपराध व्यक्तिगत होइन, सामूहिक मानसिकतामा निहित छ—जहाँ ‘जिम्मेदारी’ शब्दले ‘भ्रष्टाचारको औचित्य’ पाउँछ। तर अन्त्यमा, यही जिम्मेवारीले उसलाई नै प्रश्न गर्छ— “जसले घर पाल्न चोरी गर्छ, ऊ आफ्ना सन्तानको भविष्य बेच्दै छ।”

यसरी कथा आत्मानुभूतिजन्य व्यङ्ग्यमा टुङ्गिन्छ। पाठकको अन्तःकरणमा अपराधबोध र प्रश्न दुवै छोड्छ।

निष्कर्ष:

‘जिम्मेदारी’ एउटा न्यून आकार तर उच्च प्रभाव भएको लघुकथा हो। यसले देखाउँछ—
साँचो जिम्मेवारी आफ्ना परिवारलाई असल बाटो देखाउनु हो, गलत बाटो लिएर पेट पाल्नु होइन।
लघुकथाको बुनोट सघन, बनोट सङ्गठित र अन्त्य बिजवाक्यीय छ। कथान्तमा पाठक भन्न पुग्छन्- “जसले आफ्नो जिम्मेवारीको बहानामा विवेक बेच्दछ, ऊ अन्ततः आफ्नै सन्तानको आँखामा अपराधी बन्छ।”

❀❀❀

❛उत्तरकथा❜
लघुकथा: उत्तरदायित्व
✒ नन्दलाल आचार्य

“पापा, म स्कुल जान्नँ!”
छोरीको त्यो कठोर स्वरले बिहानको मौनता चिर्न खोज्यो।
दीनानाथ झस्किए— “किन रे, अब त सबै ठीक भयो नि?”

श्रीमतीले नजर झुकाउँदै भनिन्, “भोज, रक्सी र मसाजमै ठीक भयो भनेको हो त।”
ती शब्दहरू उनका कानमा हतियार बनेर ठोक्किए।
गत रातको सम्झना— न्यायाधीशसँगको सम्झौता, अख्तियार प्रमुखको हाँसो र मसाज सेन्टरतिर तानिँदै गरेका उनका कदमहरू— सबै एकैपटक दिमागमा भिडे।

सकसका साथ उनी घरबाट निस्किए, छोरीको हात समात्न खोजे तर सानो हातले उनको हत्केला पक्रन मानेन।
“म बन्न चाहन्नँ तपाईँजस्तो बुबा!”
छोरीको त्यो एक वाक्यले अदालतको कुनै पनि सजायभन्दा गहिरो घाउ दियो।

दफ्तर पुग्दा कुर्सी खाली थियो— ‘राजीनामा स्वीकृत भयो’ भन्ने सूचनापाटी टेबलमाथि टाँसिएको थियो।
हर्कमान न्यायाधीशले ठट्ट्याउँदै भने, “अब त जिम्मेवारीबाट मुक्त भयौ नि दीनानाथजी!”

उनले मुस्कुराउन खोजे, तर ओठहरू काँपिए—
“म जिम्मेवारीबाट होइन, आत्माबाट बाँच्न छोडेको छु, सर।”

अर्को दिन, सरकारी अखबारमा उनको आत्महत्याको समाचार छापियो—
उनको कोठाको भित्तामा लेखिएको थियो,
“जब जिम्मेवारी बेचिन्छ, उत्तरदायित्व मर्छ।”

❀❀❀


२. लघुकथा: पहिचान
✒ गङ्गा खड्का

“बुढी! तिम्रो साथ र सहयोगले मैले लोकसेवा आयोगको परीक्षामा अधिकृतमा नाम निकाल्न सफल भएँ। म यस पटकको पहिलो दसैँ पेस्कीमा केही रकम थपेर तिमीलाई सुनको चुरा बनाइदिन्छु,” दीपकले सिर्जनालाई भने।

“सुनको भाउले आकाश छोएको बेलामा नि कसैले सुन बनाउँछ र? बरु चुरा बनाइदिने पैसाले मेरो कविता सङ्ग्रह प्रकाशित गरिदिनुहोस् न,” सिर्जनाले जोसिँदै भनिन्।

दीपक केही बेर घोरिए र भने, “तिम्रा कुरा पनि ठीकै हुन्, तर तिम्रा दिदीबहिनी सधैँ गहनाले झपक्क भएर हिँड्छन्। मैले भने एउटा चुरा पनि बनाइदिन…”

दीपकको कुरा बिचमै काट्दै सिर्जनाले भनिन्, “गहना लगाएर को ठूलो भएको छ र?”

सिर्जनाको समझदार कुराले दीपकलाई खुसी लाग्यो। यति बुझक्की श्रीमती पाएकोमा उनी हर्षले गद्गद् भए। उनले फेरि सिर्जनालाई सम्झाउँदै भने, “किताब पनि पछि निकालौँला। अहिलेलाई चाहिँ तिम्रो लागि एउटा चुरा नै बनाइदिने साह्रै रहर छ, बुढी!”

सिर्जनाले कृतज्ञ भाव प्रकट गर्दै दीपकलाई भनिन्, “गहना त लगाउन्जेल मात्रै मान्छेले देख्ने हुन्, तर कृतिलाई त मरेपछि पनि लोकले देख्छ। त्यसैले यसपटक त किताब नै निकाल्ने हो, बुढा।”

—०००—
बुढानीलकण्ठ, काठमाडौँ

❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ बुनोट र बनोटका आधारमा ‘पहिचान’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

गङ्गा खड्काको लघुकथा ‘पहिचान’ आधुनिक नेपाली समाजको गहिरो मनोवैज्ञानिक द्वन्द्व, मूल्यबोध र स्त्री–पुरुष चेतनाको परिष्कृत आयाम प्रस्तुत गर्ने कलात्मक आख्यान हो। छोटो आकारभित्र मानवीय सम्बन्ध, आकाङ्क्षा र मूल्यको टकरावलाई संयत संवादद्वारा प्रकट गरिएको यो कथा विषयगत गम्भीरता र भाषिक सादगीको उत्कृष्ट उदाहरण हो।

१. शीर्षक र केन्द्रीय भाव

कथाको शीर्षक ‘पहिचान’ नै यस कृतिको आत्मा हो। बाह्य रूपको गहना र आन्तरिक बौद्धिक मूल्यबीचको भिन्नताबाट सिर्जनाले खोजेकी पहिचान कुनै आलङ्कारिक होइन, आत्मसम्मान र सिर्जनात्मक अस्तित्वको पहिचान हो। यहाँ स्त्री पात्रले आफूलाई श्रीमतीको रूपमा होइन, स्रष्टाको रूपमा परिभाषित गर्न खोजेकी छिन्। यही खोज कथाको वैचारिक केन्द्र हो।

२. पात्रचित्रण र संवादको गहिराइ

लघुकथामा दुई पात्र छन्—दीपक र सिर्जना। दीपक सामान्य मध्यमवर्गीय नेपाली पुरुषका प्रतिनिधि हुन्, जो उपलब्धिपछि भौतिक उपहारद्वारा प्रेम व्यक्त गर्न चाहन्छन्। सिर्जना भने संवेदनशील, चेतनशील र सिर्जनात्मक आत्माको प्रतीक हुन्। उनले भौतिक सौन्दर्यभन्दा बौद्धिक स्थायित्वमा मूल्य देख्छिन्। सिर्जनाको संवाद “गहना लगाएर को ठूलो भएको छ र?” समाजमा फैलिएको बाह्य प्रदर्शनवादप्रति तीक्ष्ण व्यङ्ग्य हो। यस्ता संवादहरूले कथालाई जीवन्त, तर्कसङ्गत र भावनात्मक बनाएका छन्।

३. घटनाक्रम र संरचना

घटनाक्रम साधारण छ—पद प्राप्तिपछि श्रीमान्ले खुसी व्यक्त गर्छन्, उपहारको प्रसङ्ग आउँछ अनि विचारको टकराव। तर यही साधारण प्रसङ्गलाई लेखकले बौद्धिक संवाद र भावनात्मक आरोह–अवरोहद्वारा कलात्मक उचाइमा पुर्‍याएका छन्। कुनै दृश्यात्मक विस्तारबिना, केवल वार्तालापकै माध्यमबाट कथाले जीवनको गहिरो सत्य उद्घाटित गरेको छ—साँचो सौन्दर्य र पहिचान मनको गुण, सिर्जनाको शक्ति र बौद्धिक अस्तित्वमा निहित हुन्छ।

४. प्रतीक र बिम्ब

‘सुनको चुरा’ यहाँ केवल गहना होइन, भौतिक उपलब्धिको प्रतीक हो। त्यसको विपक्षमा ‘कविता सङ्ग्रह’ सिर्जनात्मक आत्मा र चिरस्थायी पहिचानको प्रतीक हो। यस विरोधाभासले कथा वैचारिक द्वन्द्वमा रूपान्तरित हुन्छ—भौतिकवाद र बौद्धिकताको द्वन्द्व। सिर्जनाले जब भन्छिन्, “गहना त लगाउन्जेल मात्रै मान्छेले देख्ने हुन्, तर कृतिलाई त मरेपछि पनि लोकले देख्छ,” त्यहाँ उनले नारीको आत्मपहिचानलाई शाश्वत कृतित्वमा रूपान्तरण गरेकी छिन्।

५. शैली, भाषा र स्वर

कथाको भाषा सरल, संवादमुखी र बोलचालको छ, जसले पात्रहरूलाई जीवन्त बनाएको छ। ‘बुढा’ र ‘बुढी’ भन्ने सम्बोधनले निकटता, आत्मीयता र नेपाली घरेलु संस्कारको स्वाद ल्याउँछ। कथाको स्वर शान्त, विवेकशील र आशावादी छ। लेखकले नारीको विद्रोहलाई कोलाहल होइन, तर्क र सौम्यताबाट प्रस्तुत गरेका छन्—त्यसैले कथा चोटिलो भए पनि कोमल छ।

६. नारी चेतना र मूल्यबोध

यो कथा स्त्री चेतनाको सशक्त उद्घोष हो। यहाँ सिर्जनाको चेतना आर्थिक स्वतन्त्रता होइन, सर्जनात्मक स्वतन्त्रताको खोज हो। उनले सामाजिक तुलना र गहनाको प्रदर्शनभन्दा सिर्जनाको शाश्वतता रोजेकी छिन्। यो आधुनिक शिक्षित नारीको पहिचान हो—जो श्रीमान्को उपलब्धिमा गर्व गर्छे तर आफ्नै कृतित्वमा अर्थ खोज्छे।

७. कलात्मक बनोट र प्रभाव

कथाको बनोट सन्तुलित छ—आरम्भमा खुसी, बीचमा विचारको टकराव र अन्त्यमा आत्मबोध। कुनै अनावश्यक पात्र वा विवरण छैन। छोटो संवादले नै गहिरो दर्शन उद्घाटित गर्छ। अन्त्यको वाक्यले कथा बन्द मात्र होइन, पाठकको मनमा प्रश्न छोड्छ—“साँचो पहिचान कुन हो? शरीरले देखिने कि आत्माले अनुभूत हुने?” यही चिन्तनात्मक प्रभाव लघुकथाको सौन्दर्य हो।

निष्कर्ष:

गङ्गा खड्काको ‘पहिचान’ लघुकथा केवल दाम्पत्य संवाद होइन; यो स्त्री आत्मसम्मान र सर्जनात्मक चेतनाको कलात्मक उद्घोष हो। सिर्जनाको पात्रमार्फत लेखकले भौतिक चमकभन्दा बौद्धिक उज्यालोको महत्त्व प्रतिपादन गरेका छन्। कथा छोटो भए पनि यसको अर्थ अनन्त छ— “गहना क्षणिक हुन्छ, सिर्जना शाश्वत—पहिचान यहीँ जन्मिन्छ।”

यसरी, ‘पहिचान’ लघुकथा नेपाली लघुकथा परम्परामा बौद्धिक संवादद्वारा जीवनको मूल्य उद्घाटित गर्ने कलात्मक, सन्तुलित र आत्मानुभूतिजन्य कृतिका रूपमा स्थापित हुन्छ।

❀❀❀

❛उत्तरकथा❜
लघुकथा: कृति
✒ नन्दलाल आचार्य

“बुढा! थाहा छ? मञ्चमा मेरो नाम घोषणा हुँदा सबैले ताली बजाए,” सिर्जनाको आवाज उत्साहले काँपिरहेको थियो।
“कसको लागि पुरस्कार रहेछ?” दीपकले कौतूहलतापूर्वक सोधे।
“कविता सङ्ग्रहकै लागि रहेछ नि! त्यो नै, जसका लागि तिमीले सुनको चुराको पैसा दिएका थियौ,” सिर्जनाले मुस्कुराउँदै भनिन्।

दीपक केही क्षण मौन रहे। उनले झ्यालबाट बाहिर हेरे—सहरको बत्तीले रातलाई उज्यालो बनाएको थियो, तर उनको मनभित्र भने अनौठो अँध्यारो पस्दै थियो।
“बुढी! पुरस्कार त पाइन्छ, तर गहना नभएकोले हिजो तिम्रो हातमा मेरो नजर रोकिएन,” उनले मन्द स्वरमा भने।

सिर्जनाले दीपकको हात समाउँदै भनिन्, “यो हातमै त गहना छ नि—तिम्रो विश्वासको।”
दीपक अचम्मित भए, “विश्वास?”
“हो बुढा! सुनको चुरा त समयसँग हराउँछ, तर तिमीले दिएको साथ कहिल्यै हराउँदैन। कविताले मलाई चिनायो, तर तिमीले मलाई सिर्जना बनायौ।”

दीपकका आँखाबाट आँसुको थोपा खस्यो। उनले हाम्फाल्दै भने, “बुढी, अब मलाई पनि तिमीले कविता पढ्न सिकाऊ न!”

“साँचो पहिचान गहनाले होइन, चेतनाले झल्किन्छ।” सिर्जनाले मुस्कुराउँदै भनिन्, “जब शब्दमा मन बाँच्न सिक्छ, तब गहनाको अर्थ मर्छ।”

❀❀❀


३. लघुकथा: नकाब
✒ लक्ष्मी रिजाल

अचानक “कहाँ?” भन्ने आवाज आयो।
मिर्मिरे हुनुअघि बाहिर मुसलधारे पानी परिरहेको थियो। खिड्कीमा “टपटप” आवाज आउँथ्यो। म कोठामा किताब पढ्दै थिएँ।

म झसङ्ग भएँ। कोठा त सुनसान थियो। मैले भनिहालेँ, “को हो?”

ऱ्याकमा राखिएको पुरानो नकाबमा हलचल आयो। लाग्यो मानौँ बोल्छ कि क्या हो! नकाबको कालो छायामा कुनै अनुहार देखेँ— गर्विलो जस्तो तर कतै डराएको पनि।

मैले साहस गरेर सोधेँ, “तिमी को हौ?”

नकाबबाट गहिरो स्वर आयो, “म सत्य हुँ। मलाई जसले भेट्छ, उसको ढोङ र गर्वको पर्दा म फोडिदिन्छु।”

त्यो सुनेर म अचम्ममा परेँ। नकाबले फेरि भन्यो, “यदि तिमी सधैँ इमानदार रह्यौ भने, समय तिमीलाई साथी बनाउँछ। तर झूट बोलेर घमन्ड गर्‍यौ भने, समय आफैँले तिमीलाई सजाय दिन्छ।”

त्यसैबेला ढोका आफैँ खुल्यो। चिसो हावा पस्यो र अन्धकार हट्यो।
अब कोठा उज्यालो लाग्थ्यो र म भित्रभित्रै सोच्दै थिएँ— “समयसँग मित्रता गर्ने कि शत्रुता?”

—०००—
कञ्चनरूप–१२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेश प्रदेश, नेपाल

❀❀❀

❛लघुकथा विश्लेषण❜
☞ बुनोट र बनोटका आधारमा ‘नकाब’ लघुकथाको शल्यक्रिया
✒ नन्दलाल आचार्य

लक्ष्मी रिजालको लघुकथा ‘नकाब’ प्रतीकात्मक र आत्मसंवादमूलक सिर्जनाको उत्कृष्ट उदाहरण हो। यो लघुकथा आकारमा सानो भए पनि अर्थको दृष्टिले गहिरो, सौन्दर्यको दृष्टिले प्रभावकारी र अनुभूतिको दृष्टिले अत्यन्त आत्मपरक छ। कथाले सतहमा एउटा रहस्यमय प्रसङ्ग—बोल्ने नकाब देखाउँछ, तर अन्तर्मनमा सत्य, समय, इमानदारी र आत्मज्ञानका गम्भीर तहहरू उद्घाटन गर्छ।

१. बुनोट (संरचना)

‘नकाब’ को बुनोट सूक्ष्म तर सशक्त छ। कथा “अचानक ‘कहाँ?’ भन्ने आवाज आयो” भन्ने अनपेक्षित आरम्भसँग सुरु हुन्छ, जसले तुरुन्तै पाठकको ध्यान खिच्छ। यो प्रारम्भ कथाको रहस्यात्मक वातावरण निर्माणको केन्द्र हो। त्यसपछि खिड्कीमा परेको वर्षाको “टपटप” आवाज, कोठाको सुनसानपन अनि पात्रको एक्लोपनले वातावरणलाई दार्शनिक मौनतामा रूपान्तरण गर्छ। कथाको घटनाक्रममा कुनै बाह्य घटना छैन, तर भित्री चेतनाको हलचल छ— नकाबसँगको संवाद नै त्यसको मुख्य विकास हो। कथा क्रमशः रहस्य, आत्मसाक्षात्कार र दार्शनिक निष्कर्षको वक्ररेखामा बुनिएको छ। अन्त्यमा “समयसँग मित्रता गर्ने कि शत्रुता?” भन्ने आत्मप्रश्न कथाको निष्कर्ष मात्र होइन, पाठकका लागि पनि दर्पण हो।

२. बनोट (शैली र शिल्प कौशल)

कथाको बनोट अत्यन्त कलात्मक छ। लेखिकाले भाषा प्रयोगमा सादगी र गहिराइ दुवै सन्तुलनमा राखेकी छिन्। संवादहरू छोटा, तर अर्थपूर्ण छन्— “म सत्य हुँ”, “मलाई जसले भेट्छ, उसको ढोङ र गर्वको पर्दा म फोडिदिन्छु।” यी वाक्यहरूमा दर्शन छ, चेतना छ र आत्मनग्नताको साहस पनि छ। प्रतीकात्मकता कथाको आत्मा हो— नकाब यहाँ केवल वस्तु होइन, मानवीय द्वैधताको प्रतिरूप हो। मानिसले लाउने झूटको, अहङ्कारको र सामाजिक मुखौटाको प्रतीक।

रूपकको प्रयोगले कथालाई साहित्यिक उचाइमा पुर्‍याएको छ। समयलाई चेतनशील पात्रझैँ प्रस्तुत गरिएको छ, जसले नैतिक मूल्य निर्धारण गर्छ— “समय तिमीलाई साथी बनाउँछ” वा “सजाय दिन्छ”। यस्ता दार्शनिक उद्घोषहरू कथामा ‘मर्मभेदी बिजवाक्य’का रूपमा स्थापित छन्।

३. वर्गीय चेतना र सामाजिक रूपान्तरण

‘नकाब’ पढ्दा लाग्छ, यो कुनै बाह्य पात्रको कथा होइन, लेखिकाको आफ्नै अन्तर्मनको यात्राको चित्र हो। “म कोठामा किताब पढ्दै थिएँ” भन्ने साधारण वाक्य वास्तवमा आत्म–संवादको थालनी हो। जब नकाब बोल्छ, त्यो बाह्य रहस्य होइन, आत्मचेतनाको स्वर हो। नकाबको आवाजमा लेखिकाको विवेक बोल्छ, जसले आफ्नै ढोङ, भय र गर्वको पर्दा हटाउन खोज्छ। यही ठाउँमा कथा आत्मानुभूतिजन्य बन्छ— बाह्य घटनाभन्दा भित्री अनुभवलाई केन्द्रमा राख्ने लघुकथा।

४. कलात्मक प्रभाव र प्रतीकात्मक गहिराइ

कथाको कलात्मकता यसको ध्वन्यात्मक र दृश्यात्मक बिम्बमा पनि देखिन्छ— “टपटप आवाज”, “अन्धकार हट्यो”, “चिसो हावा पस्यो” आदि बिम्बहरूले आत्म–उज्यालोको रूपक बनाएका छन्। कोठा उज्यालो हुनु आत्मसाक्षात्कारको प्रतीक हो। अन्धकार हट्नु भनेको आत्माको अज्ञान हट्नु हो।

५. भाव–विस्तार र बिजवाक्य

अन्त्यमा आएको वाक्य “समयसँग मित्रता गर्ने कि शत्रुता?” कथाको दार्शनिक धड्कन हो। यसले पाठकलाई सोच्न बाध्य पार्छ कि सत्य र समयसँगको सम्बन्ध कस्तो हुन्छ? सत्यसँग मित्रता गर्नेले समय जित्छ; झूटसँग सङ्गत गर्नेले समयको सजाय भोग्छ। यही अन्त्यले कथा आत्म–दर्शनको रूप लिन्छ, जसमा लेखक र पाठक दुवै आत्मपरीक्षणमा उत्रन्छन्।

६. निष्कर्ष:

सारांशमा, ‘नकाब’ केवल लघुकथा होइन— यो एक आत्मसंवाद हो, एउटा प्रतीकात्मक दर्पण जसमा प्रत्येक पाठकले आफ्नै अनुहार देख्छ। यसले बताउँछ— सत्य हरेक नकाबभित्र पनि बाँचिरहेको हुन्छ, तर त्यसलाई देख्ने आँखा इमानदार हुनुपर्छ।

यसरी, बुनोटको सघनता, बनोटको कलात्मकता र अनुभूतिको गहिराइ कारण ‘नकाब’ नेपाली लघुकथामा आत्मज्ञान र दार्शनिक चेतना मिसाउने सफल सिर्जनाका रूपमा स्थापित हुन्छ। कथान्तमा पाठक भन्न पुग्छन्- “नकाब फुट्दा मात्र अनुहार होइन, आत्मा देखिन्छ।”

❀❀❀

❛उत्तरकथा❜
लघुकथा: अर्को नकाब
✒ नन्दलाल आचार्य

“को हौ तिमी?”
अचानक आवाज आयो—ठ्याक्कै उही कोठाबाट, जहाँ मैले नकाब जलाएको थिएँ।

बाहिर फेरि वर्षा परिरहेको थियो— टपटप… टपटप…
म झसङ्ग भएँ। नकाब त जलाइसकेको थिएँ, तर धुवाँ अझै भित्तामा अड्किएको जस्तो थियो।

“तिमी त मेटियौ नि!” मैले काँप्दै भनेँ।
भित्ताबाट स्वर आयो— “म नकाब होइन, तिम्रो अनुहारको सत्य हुँ।”

म चुप भएँ।
धुवाँभित्र मेरो प्रतिबिम्ब झल्कियो—थकित, तर आत्मसन्तुष्ट।

“तिमीले त भन्यौ, इमानदार रह भनेको।”
स्वर फेरि आयो— “हो, तर तिमीले सत्यलाई पनि सजावटमा बदल्यौ। देखावटी इमानदारी, त्यो नै अर्को नकाब हो।”

मेरो हात काँप्यो। मैले ऐनातिर हेरेँ—त्यहाँ म थिएँ, तर मेरा आँखा अरू कसैका लाग्थे।

हावा फेरि चल्यो, बत्ती निभ्यो र त्यो आवाज अन्तिमपटक भन्यो—
“नकाबहरू जलाउँदा सावधान रह, कतिपय अनुहारहरू पनि त्यसैसँग जल्न सक्छन्।”

त्यसपछि मैले बुझेँ—
नकाबभन्दा डरलाग्दो कुरा, नकाबबिनाको झूट हो।

❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

लघुकथामा एक प्रयोग अङ्क: ३२ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २२ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३० | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: २१ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: २९ | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: रमनीया | हाम्रो कथाघर

कथा: वक्ररेखाबाट हुर्किएको मायाको बोट | हाम्रो कथाघर

कथा: उदयबहादुर जोकोहीलाई नमस्कार गर्दैनन् | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: ३१ | हाम्रो कथाघर

भर्खरै

लघुकथामा एक प्रयोग अङ्क: ३२ | हाम्रो कथाघर

पुस २७, २०८२

अर्घाखाँचीमा दुई साहित्यिक कृति विमोचन

पुस २५, २०८२

‘अमरज्योति’ साहित्यिक पत्रकारिता विशेषाङ्क र मातृका पोखरेलको कथासङ्ग्रह विमोचन

पुस २५, २०८२

कविता: जब म गाउँ फर्कनेछु | हाम्रो कथाघर

पुस २५, २०८२

कविता: खण्डहर सपनाको पहाड | हाम्रो कथाघर

पुस २५, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.