भुल गरेछु
त्यसैले त सिंगो म
तिमीले दिने वा नदिने माफीको आशामा
प्रायश्चित कहरका पाप्राहरु उप्काऊँदै
ढलेर ढाडेर भिजेको मनलाई
शरदको शारदी घाममा सुकाएर
म अशुभ-अमंगल
शुभ बनेर तिम्रो मनको सुन्दर बगैंचामा
बुकिफूल बनेर फुल्ने गर्दैछु चेष्टा
आशा छ! मेरो गल्तीलाई गलाहत्याएर
नयाँ दिनको दैलो खोल्नेछौ
प्रेमको दियो बालेर
मलाई माफी दिनेछौ
हजार प्रतिबन्धका बावजुद
म तिम्रो निषेधित मनको पहाडी उपत्यकामा
प्रेम, प्रणय अनि रोमान्सको कथा कोर्नेछु
साच्चै भनौँ !
अब त धेरै कुरा समेट्नको निम्ति
परमात्माले मेरो जिन्दगीको लागि छुट्टाएको समय
धेरै कुराहरू समेट्न पर्याप्त होला जस्तो लाग्दैन
म भन्छु –
म तिमीलाई धेरै सम्झन्छु
के तिमीले पनि मलाई सम्झिन्छौ?
के सहमत छौ तिमी?
छुटेको दोबाटोबाट फर्केर एउटै गोरेटोमा यात्रा गर्न
मलाई माफ गरिदेऊ
भुल्न नसकिने सम्झनामा
स्मृतिको बिस्मृत हुँदै गरेको वन-पाखा पुग्दै गर्दा
पहाडको काख प्राकृतिक छँटा
बिहानको कलिलो नवजात सूर्यको किरण
उज्यालो बिस्तारै हामी माथि परेपछि
तिमीले मलाई त्यतातिर औंल्याउने गर्थ्यौ
जहाँ तिम्रो मेरो प्रेम फुलेको हुन्थ्यो
हरियाली डाँडामा जंगली फूल बनेर
म तिमी
तिमी म बनेर झुम्थ्यौँ, डुल्थ्यौँ
तिमी झरना जस्तै खस्थ्यौ
म पहरा चुपचाप नहल्लेर बस्थे
तिमी-
किनारमा समुद्रका छालहरू जस्तै
आएर भेटघाट गर्थ्यौ
अनि फर्कन्थ्यौ हगि?
तिम्रो निम्ति जिन्दगी बिछ्याएर
म पर्खिरहेको छु
मायालाई जोगाएर राखेको छु
थलिएर थलो परेको
प्रेमको अवषेशलाई पुनर्स्थापना गर्न
के सहमत छौ?
मलाई तिम्रो निषेधित पहाडमा
पुनः एकपटक प्रेमको बीजारोपण गरेर
जीवनको जिन्दगी फुलाउने खास मन छ।
म तिम्रो मन जित्न चाहन्छु
नियतिले निर्माण गरेको परिवर्तित
परिवेश स्वीकार्दै
थामिदेऊ लडखडाएको लुलो जीवनको गोडाहरु
आलोचना गर्दै समालिदेऊ
सुस्ताएको सुस्त औंलाहरु
मलाई माफ गरिदेऊ।
°°°
पाँचखाल – ११, काभ्रेपलान्चोक
हाल: लिमासोल, साईप्रस
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।