आहा! मोबाइल
सुत्नुअघि मोबाइल
उठ्नुभन्दा अघि पनि मोबाइल
कसैको मेसेज आयो कि
कसैले लाइक गरिदियो कि
कसैलाई शुभबिहानी, शुभदिन
शुभरात्री भनौं कि?
खसखस, खसखस भैरहने
मोबाइलको महिमा कति कति?
बाआमाभन्दा पनि प्यारो भो मोबाइल
भाइबहिनीभन्दा पनि नजिक भो मोबाइल
श्रीमान् श्रीमती, घर परिवारभन्दा पनि
अपरिहार्य भैसक्यो मोबाइल
ट्वाइलेट जानु परे पनि मोबाइल
खाना खाँदा पनि मोबाइल
मुख धुनुअघि मोबाइल
हुँदाहुँदै नुहाउँदा पनि
गीत सुन्न मोबाइल
घरमा हुँदा पनि मोबाइल
बाहिर निस्के पनि मोबाइल
मन्त्रीको हातमा पनि मोबाइल
जड्याहाको हातमा पनि मोबाइल
चोरको हातमा पनि मोबाइल
पुलिसको हातमा पनि मोबाइल
महाजनले बोक्ने पनि मोबाइल
भिखारीले बोक्ने पनि मोबाइल
यता फर्के पनि मोबाइल
उता फर्के पनि मोबाइल
घर सपार्ने पनि मोबाइल
घर विगार्ने पनि मोबाइल
हातबाट छुट्दै छुट्दैन मोबाइल
छिनछिनमा हेर्नैपर्ने मोबाइल
मुटुको धड्कन हो कि
मनको साथी
जीवनसाथी भन्दा पनि
प्यारो मोबाइल
साथीलाई हाई भनौँ कि
इष्टमित्रलाई हेल्लो गरौँ
कतै कमेन्ट लेखौँ, कतै कविता लेखौँ
कतै शुभकामना त कतै चित्त दुखाइ
मोबाइलले के गरेन?
आज विश्व यही मोबाइलमा अटेको छ
समय, अखबार, टिभी, रेडियो
यसैमा समेटिएको छ।
खानाभन्दा प्यारो, छानाभन्दा प्यारो
नानाभन्दा निकट भो मोबाइल
क्या बनाएछन् मोबाइल
पेटको चार्ज होस् कि नहोस्
मोबाइलको चार्जको चिन्ता
चुलो बलोस् कि नबलोस्
मोबाइलको रिचार्जको चिन्ता
पेटभन्दा मोबाइलको महत्त्व
रिस मोबाइल, खुस मोबाइल
मोबाइलका निर्माता मार्टी कुपर
तिमीलाई धन्यवाद!
बेरोजगार होस् कि उद्यमी
रोजगारी होस् कि कर्मचारी
घरधन्दा गर्ने हुन् कि हलो चलाउने
सबैको प्यारो मोबाइल।
मोबाइल निर्माता तिमीलाई धन्यवाद!
हामी मोबाइल प्रयोकर्ता सबैलाई बधाई।
°°°°°
रचियताको ‘गोरखाली गुराँस’ कविता सङ्ग्रहमा सङ्ग्रहित कविता ‘मोबाइल’


