दौडन चाहन्छु म
वल्लो पहाडदेखि पल्लो पहाडसम्म
बौलाहाको उन्मादमा छाडेका अतीतसम्म
कुल्ची छोडेको एउटा सपनासम्म
प्रिय–प्रिय क्षणसम्म
अतीत भइसकेछन् ती कति छिट्टै
ए हाँसिदेऊ, तिमी मुस्कुराइदेऊ
फेरि त्यही बिहानी ब्यूँझाइदेऊ
त्यही जुनेली रात डाकिदेऊ
त्यही स्पर्श, त्यही संवाद
त्यही कथा दोहोर्याइदेऊ
त्यही सिङ्गो युग फिर्ता बोलाइदेऊ
ए तिमी मेरो अतीत, अतीत फर्काइदेऊ !
पुन: जन्मन चाहन्छु म
बामे सर्दै पुन:
बोल्न, हिँड्न सिक्न चाहन्छु म
एउटा सफल प्रेमकथा बुन्न चाहन्छु म
हाम्रो प्रेमिल इतिहासको पुनर्लेखन गर्न
के सम्भव छैन र?
०००
धरान


