१. लघुकथा
— सम्झनाको फूल
“आज त प्रेम दिवस!” रमेशले फेसबुक खोलेर हेर्यो, सहर प्रेमिल भएको थियो।
ऊ बिस्तारै घरको कुनामा राखिएको पुरानो एल्बम निकाल्न पुग्यो। एउटा पुरानो फोटोमा सुनिता मुस्काइरहेकी थिई।
“कस्तो मनमोहक मुस्कान!” रमेशले मनमनै सोच्यो।
पाँच वर्ष भयो, सुनिता अब ऊसँग छैन। प्रेम दिवसमा सबैले उपहार दिन्छन्, तर उसले दिन पाएको थिएन।
फोटो छातीमा टाँस्दै रमेश सुस्तरी बाहिर निस्कियो। घरछेउकै पार्कमा पुग्यो।
त्यहाँ एक हजुरआमाले फूल टिप्दै थिइन्।
“बाबु, फूल चाहिन्छ?”
“होइन, हजुरआमा, आज त सुनिताका लागि फूल छरिदिन आएको।”
रमेशले बिस्तारै गुलाबको फूल टिपेर हावामा उडाइदियो।
हावाले फूल उडायो, ऊ मुस्कायो।
प्रेम दिवसको साँचो उपहार सम्झना नै त हो!
❀❀❀
२. लघुकथा
— उपहार
ऊ मेरो सामु उभिएकी थिई। कोमल मुस्कानसहित उसले सानो बाकस अगाडि बढाई।
“यो तिम्रो लागि!”
म झसङ्ग भएँ। प्रेम दिवस! मैले त बिर्सेको थिएँ। खल्ती खाली थियो, केही किन्ने हैसियत थिएन।
“के छ भित्र?” मैले डराउँदै सोधेँ।
“हेर न!” ऊ अझै मुस्कुराई।
मुस्कानमै झुम्मिएर मैले बाकस खोलेँ।
भित्र एउटा सानो कागज थियो। मैले पढेँ—
“तिमी नै मेरो उपहार हौ!”
❀❀❀
३. लघुकथा
— प्रेमको गणित
हामी एउटा क्याफेमा बसेका थियौँ। आज प्रेम दिवस, माहोल अलि रोमान्टिक थियो।
उसले मलाई प्रश्न गर्यो, “प्रेम भनेको के हो?”
मैले मुस्कुराएँ, “यो महसुस हो, विश्वास हो, समर्पण हो।”
ऊ गम्भीर देखिन थाल्यो। “तर प्रेम केलाउन सकिन्छ, होइन?”
मैले अनभिज्ञ भएर हेरेँ।
उसले कफीको कप उठाउँदै भन्यो, “प्रेम पनि अर्थतन्त्र जस्तै हो। लगानी गरेअनुसार प्रतिफल पाइन्छ।”
मैले टाउको हल्लाएँ, “तर प्रेम नाफा-नोक्सानको व्यापार होइन!”
ऊ हाँस्यो, “तर प्रतिस्पर्धा त हुन्छ नि! जसले बढी समय, उपहार, ध्यान दिन्छ, उसैले प्रेम जित्छ।”
मैले बिस्तारै भनें, “प्रेम अंकगणित होइन, प्रेम त कविता हो।”
ऊ मौन भयो। कफी चिसिइसकेको थियो। ऊ मुस्कुरायो।
मैले उसको हात समाउँदै भनेँ, “चौबीसै घण्टा प्रेम नाप्न नसके पनि, महसुस गर्न सकिन्छ।”
❀❀❀
४. लघुकथा
— प्रेम दिवस
हामी क्याम्पसको गेटमा थियौँ। वरिपरि राताम्मे गुलाबका गुच्छा बोकेका प्रेमील जोडीहरू देखिन्थे।
अञ्जली चुपचाप उभिएकी थिई। ऊ मसँग कमै बोल्थी। अचानक, उसले हातमा कागजको एउटा सानो टुक्रा राखिदिई। म छक्क परेँ।
“के हो यो?” मैले जिज्ञासु हुँदै सोधेँ।
“पढे हुन्छ!” ऊ संक्षिप्त उत्तर दिँदै टोलाइरही।
म विस्तारै त्यो कागज खोलेँ। भित्र एउटै लाइन लेखिएको थियो—
“आज प्रेम दिवस हो, तिमीलाई थाहा थियो?”
म लज्जित भएँ। प्रेम दिवस आज हो भन्नेमा बेखबर म दिनभरि नोट्स बनाउन र लाइब्रेरीमा घोटिनमै व्यस्त थिएँ।
अञ्जली मेरो प्रतिक्रिया कुरिरहेकी थिई। म चुपचाप उभिरहेँ। केही क्षणपछि ऊ बिस्तारै फर्केर हिँड्न थाली।
गेटबाहिर फूल बेच्ने बूढाले सोध्यो, “साहेब, गुलाब लिनुहुन्न?”
म फिस्स हाँसेँ— अब फूलको अर्थ नै हराइसकेको थियो…!
❀❀❀
५. लघुकथा
— अभिव्यक्ति
हामी क्याफेमा थियौँ।
म उसका आँखामा हराएँ। ऊ मुस्काई।
“आज विशेष छ, है!” मैले भने।
“किन?” ऊ अलमलिई।
“आज प्रेम दिवस!”
“ओहो! त्यसो भए उपहार?” ऊ झन् नजिक सरी।
मसँग शब्द थिएनन्। काप्दै गरेका औँलाहरूले उसको हात समातेँ।
ऊ झन् मुस्काई। “केही नबोली पनि प्रेम पोख्न सकिन्छ?”
मैले उसको आँखामा उत्तर खोजेँ।
त्यस रात, म उसलाई घर पुर्याएर फर्कँदा, आकाशमा जून झलमल्ल थियो। हृदयको एउटा कुनो ऊसँग छोडेर आएको अनुभूति भयो।
प्रेम दिवसमा शब्द होइन, स्पर्शको अभिव्यक्ति काफी रहेछ।
❀❀❀
सिद्धार्थटोल, उदयपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।