भव्य भवनहरूको शहर
अग्ला गगनचुम्बी सपनाहरूको सहर
तर भित्रभित्रै
सड्दै छ आत्मा, चपेटामा छ प्राण
चिल्ला सडकहरूमा दौडिरहेका गाडी
रातको झिलिमिलीले ओतिएको सौन्दर्य
तर, यसैका छेउमा
भोकाएका पेटहरू र भत्किएका झुपडीहरू
इतिहासका पानामा चम्किएको सहर
संवेदनाका पानामा चुँडिएको सहर
सभ्यता र संस्कृतिका गीत गाउने
तर आफैँ अन्धकारमा डुब्ने
फोहोरका थुप्रोले घेरिएका पवित्र नदीहरू
पानीमा घोलिएका आँसुका कथा
आफ्नो गौरव बचाउन लडिरहेको प्रकृति
तर मान्छेका तिर्सना बढिरहेका
आधुनिकताको नाममा
विनाशका हलचल
भोज र रमझमका रङ्गीन रातहरू
तर, करुणा कुँजिएर निल्नु पर्ने दिनहरू
आफ्नै अस्तित्वको लडाइँमा
हारिरहेको सहर
तर, सायद
यसलाई थाहा छैन –
यो आफैँ सकिदै छ,
एक पुरानो दन्त्य कथाको पात्र झैँ।
०००
बेलका नगरपालिका -२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर


