“हैन, यत्रो ठूलो पार्टीमा आउने यो भिखारी को हो?” मेनेजरले आफ्नो सहकर्मीसँग सोधे।
उनले आफू अनभिज्ञ रहेको बताउँदै भने, “निम्ता पठाउँदा पनि मानिसको स्तर हेर्नु पर्छ नि! आखिर मालिकको छोराको बिहे हो।”
मेनेजरले थपे, “छिटो गलहत्याउने काम गरौँ, पाहुना आउने बेला भइसक्यो।”
ऊ भने कोहीसँग नबोली सरासर खाना लिएर टेबलमा बस्यो र कपाकप खान थाल्यो।
मेनेजर उसको छेउमा गएर हकारे, “तँ को हो? चिन्नु नजान्नुको मान्छे आएर यत्रो भव्य पार्टीमा बसेर खान लाज लाग्दैन, पाखे? यहाँबाट गइहाल!”
ऊ रन्कियो, “को पाखे? खाइरहेको मान्छेलाई गइहाल भनेर मेरो अपमान गर्ने तिमी पो पाखे!”
मेनेजर पड्कियो, “लबस्तरो! बिना निम्तो आउने मान्छेको अझ यत्रो फुर्ती?”
खल्तीबाट झिकेर निम्तो कार्ड देखाउँदै ऊ जङ्गियो, “कुरै नबुझी हकार्ने? मालिक विदेशमा भएकोले ‘मलाई जाऊ’ भनेर पो म आएँ, नत्र यस्ता जङ्गलीको अनुहार त हेर्नु नै पर्ने थिएन।”
मेनेजर अलि नरम भयो र भन्यो, “भव्य पार्टीमा आउँदा अलि ढङ्गको पहिरन त लगाउनु पर्ने थियो नि!”
उसले हाँस्दै भन्यो, “महाशय, लुगा भनेको लाज छोप्ने हो। कोट–पाइन्ट लगाउँदैमा सभ्य हुने, नत्र पाखे?”
०००
गैंडाकोट-४, नवलपुर


