आमाहरू हराएपछि
धेरै सुन्दर चीजहरू हराए संसारबाट
आमाहरू हराएपछि
धेरै त पुराना बाटाहरू हराए,
मडारिने दुर्घटनामा छेक्ने हातहरू हराए
जीवनका कलिला पदचापहरू
नयाँ दृश्यको खोजीमा थिए,
हरिया भञ्ज्याङहरू
रूप परिवर्तनको संघारमा थिए,
अग्लिँदै थिए हिमछाङ्गाहरू
र फैलिँदै थिए जीवनका कलिला पाटनहरू
आमाहरू हराएपछि
ती सबै पुराना भए
आमाहरू यो धर्तीमा आउनुभएको थियो र पो
हामीले देख्न पाएका हौँ यो अनौठो संसार
आमासँगै जान्न पाएका थियौँ कञ्चन प्रेमको अर्थ
र सिक्न पाएका थियौँ संसारकै नौलो गीत
जीवनको पहिलो आँखा खोल्दा
मैले आमाहरूको अनुहारलाई नै संसार भनेर चिनेँ
र आमाहरूको प्रेमको कारण
संसार प्रेमको कारण चलेको रहेछ भन्ने बुझेँ।
आमाहरू हराएपछि, हल्लिरहेछन् अहिलेसम्म
प्रेम र संसारका सबै जगहरू
हाँस्नलाई आमाहरूको न्यानो ओठ थियो,
रुनलाई आमाहरूको भरपर्दो काख थियो,
संसार जित्नका लागि आमाहरूको दह्रिलो धाप थियो
आमाहरू हराएपछि एकपटक सारा संसार फन्फनायो
म फेरि आमाहरू जन्मेको देखिरहेछु
र हराएका आमाहरू पनि
दोबाटो, चौबाटो, आँगन, पिँढी र मझेरीतिर
मायाको सगुन बाँडेको भेटिरहेछु
पहाडको फेदीबाट हराएका आमाहरू
पहाड बनेर अग्लिरहेको देख्दैछु म अचेल
एक हुल आमाहरू तिनै पहाड चढेर
नयाँ पहाड भेट्न हिँडिरहेछन्
हामीहरू भने आमाले छोडेका प्रेमका कोसेलीहरू
कित्ताकित्तामा खोज्दै हिँडिरहेछौँ
आमाको स्पर्शभन्दा ठूलो
यो संसारमा रहेनछ अरू कुनै जागर।
आमाहरू हराएपछिको घाउ
अझै खाटा बस्ने सुरसार छैन
आमाहरू छन् र पो
साँच्चै उज्यालो बन्न सकेको छ यो संसार
०००
काठमाडौं
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।