आमाहरू हराएपछि
धेरै सुन्दर चीजहरू हराए संसारबाट
आमाहरू हराएपछि
धेरै त पुराना बाटाहरू हराए,
मडारिने दुर्घटनामा छेक्ने हातहरू हराए
जीवनका कलिला पदचापहरू
नयाँ दृश्यको खोजीमा थिए,
हरिया भञ्ज्याङहरू
रूप परिवर्तनको संघारमा थिए,
अग्लिँदै थिए हिमछाङ्गाहरू
र फैलिँदै थिए जीवनका कलिला पाटनहरू
आमाहरू हराएपछि
ती सबै पुराना भए
आमाहरू यो धर्तीमा आउनुभएको थियो र पो
हामीले देख्न पाएका हौँ यो अनौठो संसार
आमासँगै जान्न पाएका थियौँ कञ्चन प्रेमको अर्थ
र सिक्न पाएका थियौँ संसारकै नौलो गीत
जीवनको पहिलो आँखा खोल्दा
मैले आमाहरूको अनुहारलाई नै संसार भनेर चिनेँ
र आमाहरूको प्रेमको कारण
संसार प्रेमको कारण चलेको रहेछ भन्ने बुझेँ।
आमाहरू हराएपछि, हल्लिरहेछन् अहिलेसम्म
प्रेम र संसारका सबै जगहरू
हाँस्नलाई आमाहरूको न्यानो ओठ थियो,
रुनलाई आमाहरूको भरपर्दो काख थियो,
संसार जित्नका लागि आमाहरूको दह्रिलो धाप थियो
आमाहरू हराएपछि एकपटक सारा संसार फन्फनायो
म फेरि आमाहरू जन्मेको देखिरहेछु
र हराएका आमाहरू पनि
दोबाटो, चौबाटो, आँगन, पिँढी र मझेरीतिर
मायाको सगुन बाँडेको भेटिरहेछु
पहाडको फेदीबाट हराएका आमाहरू
पहाड बनेर अग्लिरहेको देख्दैछु म अचेल
एक हुल आमाहरू तिनै पहाड चढेर
नयाँ पहाड भेट्न हिँडिरहेछन्
हामीहरू भने आमाले छोडेका प्रेमका कोसेलीहरू
कित्ताकित्तामा खोज्दै हिँडिरहेछौँ
आमाको स्पर्शभन्दा ठूलो
यो संसारमा रहेनछ अरू कुनै जागर।
आमाहरू हराएपछिको घाउ
अझै खाटा बस्ने सुरसार छैन
आमाहरू छन् र पो
साँच्चै उज्यालो बन्न सकेको छ यो संसार
०००
काठमाडौं


