“बल्ल स्वच्छ हावा फेर्न पाइने भयो। त्यसले गर्दा समाज नै दुर्गन्धित थियो।” काजमा बाहिर गएका श्रीमान घर फर्कने बित्तिकै श्रीमतीले उत्साहित हुँदै भनिन्।
“किन के भयो?” श्रीमानले पनि प्रश्न गरिहाले। “के हुनु त्यो विलासिनी पतिताको मृत्यु भएछ।” “ला …!”, ठूलो निसश्वास छाडेर थच्च बस्न पुगे। अवाक् र निराश बनाउने खबर थियो उनका लागि। पतिदेवको मुहारमा आएको परिवर्तित रूपले अर्धाङ्गिनी सशंकित भइन्।
“हैन के भयो तपाईंलाई चाहिँ?”
पत्नीको प्रश्नको जवाफको सट्टा उनको मस्तिष्कमा मृतकको मुहार घुम्न थाल्यो- ‘उनको दैनिक कार्यथलो उनी बसेको समाजमा थिएन। तर रात्री सेवामा समर्पित थिइन् उनी। त्यसैले समाजको मन केही आशङ्का र केही त्रासले उद्देलित बनिरह्यो। समाज छिटो थियो, उनलाई विलासिनी पतिता उपनाम दिइसकेको थियो। समाजका अब्बल दर्जामा गनिएका नारीहरू सशङ्कित थिए।
आफू र आआफ्ना पारिवारका सदस्यहरूको उनीसँग हेलमेल, कुराकानीलाई एउटा फराकिलो दूरी बनाउन सधैं सजक रहन्थे।
“हैन के भयो भन्या? तपाईंको हाउभाउ हेर्दा शङ्का पो लाग्यो मलाई। कतै तपाईं पनि लहसिनु भएको थियो कि के हो?” श्रीमतीको घचघचाइ र तुच्छ शब्दले वर्तमानमा फर्कियो।
“नचाहिँदो कुरा नगर। शङ्का गर्ने पनि एउटा सीमा हुन्छ नि?” उनी अलि झर्कदै अर्को कोठामा रहेको दराज खोल्न थाले।
श्रीमतीको शङ्का निवारण भइसकेको थिएन। उनी पनि फतफताउँदै पछि लागिन्। उनले दराजबाट हजार-हजारका दस गड्डी निकाल्दै श्रीमतीको हातमा राखिदिए।
“हैन यो हाम्रो छोराको उपचार गर्न जुटाएको पैसा हैन? किन निकाल्नु भएको?” श्रीमानको चर्तिकला देखेर श्रीमती झन् अचम्भित थिइन्।
श्रीमानले आँखामा टिलपिलाएको आँसु पुछ्दै भने – “हो, तर यो पैसा कसले दिएको थाहा छ तिमीलाई?”
श्रीमानको गला अवरुद्ध भयो।
०००
( मनीषकुमार शर्मा ‘समित’ “अर्धसताब्दी” लघुकथा सङ्ग्रहबाट )


