बिपिनले काठमाडौँको साँघुरो गल्लीबाट हेर्यो। चारैतिर होलीको रङ, हाँसो, र खुसी छरिएको थियो। ऊ भने भीडभाडबाट अलिक टाढा उभिएको थियो। उसका दिमागमा पुराना सम्झनाहरू खेल्न थाले—त्यही होलीको दिन, जब मोनिका पहिलो पटक उसको जीवनमा आएकी थिई।
त्यो दिन पाटन दरबार स्क्वायर रंगीन बनेको थियो। होलीका रङहरूले सेतो आकाशलाई पनि ढाकेजस्तो लाग्थ्यो। बिपिन साथीहरूसँग रमाइरहेको थियो, तर उसको ध्यान छेउकै एउटी युवतीमा पर्यो— मोनिका।
सेतो कुर्ता, रातो सल, कपालमा अलिकति रङ पोतिएको थियो। उसले चस्मा लगाएकी थिई, जसको किनारमा पहेँलो अबीर अड्किएको थियो। ऊ लोभलाग्दो गरी मुस्कुराइरहेकी थिई। जब उसको नजर बिपिनसँग जुध्यो, समय रोकिएजस्तो लाग्यो।
“ए, तिमीले मलाई हेरिराख्ने कि रङ दलिदिने?” मोनिकाले जिस्किँदै सोधी।
बिपिन हच्कियो। यति सुन्दर मुस्कान देखेर ऊ अलमलिएको थियो।
“रङ त हाल्ने मन छ, तर तिमी रिसाउने हौ की?” बिपिनले हाँस्दै भन्यो।
“होलीमा रिसाउने कोही हुँदैन, तर राम्ररी रङ हाल्न आउँछ कि आउँदैन?” मोनिकाले आफ्नो निधार देखाउँदै भनी।
बिपिनले निधारमा गुलाबी अबीर दलिदियो। मोनिकाले हल्का आँखा चिम्लिन्। त्यो स्पर्शमा कताकता कुनै अज्ञात भावनाको तरंग मिसिएको थियो।
त्यस दिनपछि बिपिन र मोनिकाको मित्रता गाढा बन्दै गयो। उनीहरू थुप्रै पटक भेट्न थाले, घण्टौँ कुराकानी गर्थे। बिपिनलाई कविता लेख्न मन पर्थ्यो भने मोनिकाले चित्र बनाउन रुचाउँथी। बिस्तारै उनीहरूको सम्बन्ध प्रेमतर्फ अघि बढ्न थाल्यो।
एक साँझ, बिपिनले मोनिकालाई सोध्यो, “के होलीलाई तिमीले प्रेमको प्रतीक ठान्छ्यौ?”
मोनिकाले मुस्कुराउँदै भनी, “होली रङहरूको पर्व हो, जसरी प्रेमले पनि जीवनलाई रङीन बनाउँछ। तर कहिलेकाहीँ कुनै रङ बिस्तारै फिका भएर हराउँछ नि, हैन र?”
त्यो वाक्यले बिपिनको मनमा हल्का चिसोपना ल्यायो। के मोनिकाले केही संकेत गर्न खोजेकी थिई?
समय बित्दै जाँदा…
होली नजिकिँदै थियो। बिपिन उत्साहित थियो, किनकि मोनिकासँगको यो चौथो होली थियो। उसले विशेष गुलाबी रङ किन्यो— पहिलो होलीको झल्को दिने रङ।
तर केही दिनदेखि मोनिकाको व्यवहार बदलिएको थियो। ऊ कम बोल्थी, सन्देशको जवाफ ढिलो दिन थालेकी थिई।
बिपिनले सोध्यो, “के भयो मोनिका? तिमी पहिले जस्ती किन छैनौ?”
मोनिकाले गहिरो सास फेरिन्। “बिपिन, मलाई क्यानडाको एक विश्वविद्यालयबाट छात्रवृत्ति आएको छ। मलाई त्यहाँ जानु छ।”
बिपिनको हातबाट रङको प्याकेट खस्यो। “के? कति समयका लागि?”
“सायद धेरै वर्षका लागि… शायद सधैँका लागि।”
होलीको दिन आयो, तर बिपिनको मन खल्लो थियो। मोनिका जाने दिन पनि त्यही होलीको दिन थियो।
मोनिका बिपिनलाई भेट्न आई। ऊ चुपचाप उभिएको थियो। हातमा गुलाबी रङ थियो, जुन उसले मोनिकाको निधारमा दलिदियो।
मोनिकाले बिपिनको गालामा हल्का रङ लगाउँदै भनिन्, “कहिलेकाहीँ, कुनै रङ टाढा जाँदैमा मेटिँदैन, बिपिन। केही रङहरू स्मृतिमा सदैव रहन्छन्।”
बिपिनले मुस्कान दियो, आँखाभित्र लुकेको पीडा लुकाउँदै।
मोनिका गएपछि, त्यो गुलाबी रङ उसको हातमा नै रह्यो। तर त्यो रङभन्दा गहिरो, मोनिकाको सम्झनाहरू उसको हृदयमा सदाका लागि अंकित भएर बसे। बस्…
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।