तिम्रो मुस्कानमा इन्द्रेणी छ,
त्यो बहुरङ्गी माला बनेर सजिइरहेछ मेरो मुटुमा
तिमीसँगको रङले नै हो,
मलाई तिमी वरिपरि घुमिरहने बनाएको
तिमी बादलको रङमा
हलचल ल्याउँदै,
मेरो मनभित्र पस्यौ,
बर्सियौ आठौँ रङमा,
र जम्यौ ज्योतिरङ घाम बनेर
म धूलो बनेँ—
धूलो
रातो, नीलो, पहेँलो, सेतो, बैजनी र अरू धेरै रङमा थियो
धूलोका हरेक कणमा सबै रङहरू ब्युँझिरहेथे
धूलोमा रङहरू चल्मलाउन थालेपछि हो,
तिम्रो र मेरो बीचमा अग्लिन थालेको
आकर्षणको एउटा बहुरङ्गी हिमाल
तिम्रो आवाजको त के बयान गरूँ,
त्यो त सधैँ टिलपिल-टिलपिल छ,
रङ भरिएको तालजस्तो
तिम्रो आवाज सुन्छु र मातिन्छु म
तिम्रो आवाज सम्झँदा
बज्न थाल्छ मनमा
सुरिलो स्वरमा गीत गाउँदै
कावा खाइरहेको
चराको सुनौलो प्वाँखको आवाज
मैले तिम्रा कयौँ कुरा बुझ्न सकिनँ,
मैले तिमीलाई कयौँ कुरा बुझाउन सकिनँ
आऊ, केही रङ साटासाट गरौँ
रङ बुझियो भने
बुझ्न केही बाँकी रहने छैन
तिमीले उपहार दिएको रङमा
रङमात्रै रहेनछ
अनौठो सङ्गीत, जादुई सुस्केरा, प्रेमिल आकृति,
र एउटा गहिरो विश्वास जगमगाइ रहेछ
तिमीले उपहार दिएको रङमा
किन संसार हल्लाउने तरङ्ग हुन्छ?
म संसारकै नौलो रङ मुटुमा उमार्न चाहन्छु
मलाई थाहा छ,
त्यो तिम्रो मन्द मुस्कानमा छ
०००
ग्वँग: बुँ, नयाँ बसपार्क


