सिङ्गो धरतीले काँचुली फेर्ने
हरित किरणले संसार घेर्ने
शिशिरको सुख्खा याम भगाई
मीठो रङ्ग सबतिर जगाई
शुभ्र, शान्त, शीतल, हरियाली
कलेवरले पुनर्जीवन पाई
कोपिला र फूल मुस्कुराई
साँच्चै
नवीन पालुवा पलाई
वैँसालु हुँदैछ घना जङ्गल
गर्दै सबको मङ्गल
संसारभर उमङ्ग छायो
आहा!
सुन्दर वसन्त आयो
लुप्त ती सबै कोकिल
निस्किए लौ अब भने बाहिर
वनवाटिका सियाँलमा
मृदु लयमा कुहु… कुहु… गर्दै
पिरती भर्दै
दायाँ-बायाँ चर्दै
नाँच्न थाले उफ्रँदै
खुशीको महिमा वनैभरि छायो
नवीनतासँगै हिमाली भेगमा
डाँफे र मुनाल
नौ रङ्गी पङ्ख फिजाई
परेर दङ्ग नाचे, छर्दै उमङ्ग
काफल पाक्यो
ऐँसेलु पँहेलपुर भई उतैतिर डाक्यो
आहा!
सबैको प्यारो वसन्त आयो!
जनको चेहरामा
शुष्कता र खिन्नताका
विम्ब हटेर
मुस्कानको आभा सल्बलायो
सत्यम्, शिवम्, सुन्दरमको
प्रतिध्वनिले
सर्वत्र धरती जग्मगायो
मनको अतृप्त चाहले पूर्णानन्द पायो
अदृश्य पीडा सबै भगायो
आनन्दको वर्षाले विश्व नै जगायो
दिव्य लहरी उठेर
वासन्ती छटा जुटेर
जगत नै सजायो
आहा!
सबैको प्यारो वसन्त आयो!!!
कमलविनायक, भक्तपुर


