१. किनारामा रहें म त
✍️ असल चरित्र
साझा बस्ती, खोटाङ
किनारामा रहें म त, तिमी बग्यौ खोला,
के नै रै’छ यो जिन्दगी, मरिजाने चोला।
भेटिनु र छुटिनु संयोग रै’छ जिन्दगीको,
गाँसिनु र चुडिनु नियम रै’छ पिरतीको।
म छुटे बगर तिरै, तिमी कहाँ पुग्यौ होला?
के नै रै’छ यो जिन्दगी, मरिजाने चोला।।
आँसु, हाँसो, सुख-दुःख उहीँ नै हो मित्र,
भोग्दै जाँदा जिन्दगी नै हुन्छ चलचित्र।
बाँचुन्जेल बोक्नै पर्ने नियतिको झोला,
के नै रै’छ यो जिन्दगी, मरिजाने चोला।।
⇄ ◀ 𓊕 ▶ ↻
२. उस्तै छ आकाश, उस्तै छ घाम
✍️ पद्मावती सिंह
काठमाडौं
उस्तै छ आकाश, उस्तै छ घाम, उस्तै जुन-तारा,
छैन त केवल साथमा, मेरो जीवनको सहारा!
कसरी बिर्सूँ गोरेटोमा, हात समाई हिँडेको,
काटौँला सङ्गै सुख र दुःख, तिमीले भनेको।
निर्मोही, बीच मझधारमा छोडी गयौ बेसहारा बनाई,
काट्दै छु शून्य रात सधैं, आँसुले सिरानी भिजाई।
बसेकी छु जिन्दगीका, निराश पलहरू अँगाल्दै,
रोएकी छु बादलले ढाकेको, आकाशलाई नियाल्दै।
भन्छौ कति सजिलैसित, “बिर्सिदेऊ मलाई”
बिर्सिने पाषाण हृदयलाई, पठाइदेऊ मलाई।
⇄ ◀ 𓊕 ▶ ↻
३. मलाई मेरै पहाड राम्रो
✍️ नारायण खनाल ‘नीलम्’
मालारानी, अर्घाखाँची
मलाई मेरै पहाड राम्रो, राम्रो लाग्छ हिउँचुली
कर्तव्यका बाला झुल्ने, प्यारो तराई गोधूलि।
हो हो हो… पहाड भन्छ, तराई हेरी,
उँचो बनी रहोस् हिउँचुली।
आशाहरू फुल्दै जाऊन्, संभावना खुल्दै जाऊन्,
पहाडको छाती हेरी, जनले दुख भुल्दै जाऊन्।
सगरमाथा शिरमा सिन्दूर सुनौलो होस् सधैंभरि,
हिमालको पवित्रता नओइलियोस् कसैगरी।
मलाई मेरै…
वीरहरूको जन्मभूमि, सास छउन्जेल दुख्न दिन्न,
स्वाभिमानी नेपाली शिर, शत्रु सामु झुक्न दिन्न।
सिकेको छु हिमालबाट, उँचो बनी रहनुपर्छ,
कर्मपथमा सधैंभरि, नदीसरी बहनुपर्छ।
मलाई मेरै…
साहस राख्छु बगरमा, फूलहरू उमार्न सक्ने,
पसिनाको बलमा, तिखा काँडाहरू मठार्न सक्ने।
सधैँ आफ्नै पाखुरामा, चाँदनीको आभा देख्छु,
फरफराउँदै चन्द्र सूर्य, वीरताको गाथा लेख्छु।
मलाई मेरै…
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।