सम्झनाको फिरफिरे
मनको आकाशमा घुम्दै, फिरिरिरिरी
बताससँगै
आउँछन् अनि जान्छन्
जीवन दिनचर्याको मझेरीमा
अद्भुत यादहरू
मलाई म जस्तै बनाउन साथ दिनेहरू
मलाई दुखेर पीडा हुँदा रुझ्ने नयनहरू
म बाटो भुलेर अलमलमा पर्दा
डोर्याएर बाटो देखाउने साथहरू
कोही छुटेर टाढा पुगे
कोही भुलेर विस्मृत हुँदै गए
तर बेला बखत
आईरहन्छन् प्रिय यादहरू
कहिलेकाहीं यादहरू
सबैभन्दा प्रिय मान्छेको
मुखमा दागबत्ती दिएको पल बनेर आउँछन्
कहिलेकाहीं सबैभन्दा शक्तिशाली सम्झिएको
सुपरहिरोको पार्थिव शरीर
चितामा लडेको क्षण बनेर सताउँछन्
मलाई नै ओझेलमा पारेर
बग्रेल्ती आउँछन्
अनि फर्की जान्छन् यादहरू
भौतिक रूपमा भेट्न मुस्किल
एक होइन, अनेकन यादहरू
यादहरू आउँछन्
जिस्काउँछन्, फकाउँछन्
रमाउँछन्, अनि फर्कन्छन्
कति यादहरू हल्ला गर्दै आए
चुपचाप गए
कति यादहरू
हतारिँदै मुटुको जस्केलोबाट छिरे
अनि मनका पर्दा हटाउँदै
लुसुक्कै निस्किए
केही नभनी, चुपचाप,
पहिलो पटक भेटघाट भएको प्रेमी र प्रेमिकाजस्तै
साँच्चिकै, यादहरू
आदिम, पुरानो खण्डहर बस्तीझैँ
उजाड बनेर उराठ छोडेर गए
अनि थुप्रै यादहरू
खुशीको आबादी बोकेर आए
खण्डहर बनेर भग्नावशेष भएका
जीवनको पठारभरि
शरद र वसन्त नाँच्न थाले
बेली र चमेली कोकिलकण्ठमा गाउन थाले
एउटै जीवनकालमा
अनेकन यादहरू
साँझमा साँझ बनेर अस्ताए
बिहान मिरमिरेको साथ
घाम बनेर उदाए
साँच्चिकै, जीवन भनेको त
केवल यादै-यादको थाक मात्र रहेछ
याद गरेर सम्झनेहरूका निम्ति
भुल्दै बिर्सेर याद नगर्नेहरूका निम्ति
०००
पाँचखाल- ११, काभ्रेपलाञ्चोक
हाल : लिमासोल, साइप्रस
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।