म मलाई मिलाई, म बनाउने मलम हुँ
म मलाई नै मेरो मलामीको
पहिलो निम्तो लेख्ने कलम हुँ
म मेरो जीवनका सारा उतारचढावमा
साक्षी बस्ने मेरै बफादार मित्र हुँ
म मैले कोर्दै नकोरेको तर
स्पष्ट मभित्र बाँचिरहने
मेरै सदाबहार चित्र हुँ
म मभन्दा माथि पुगेको हेर्न चाहने
म मेरै आफ्नै अभिभावक हुँ
आफूलाई हरेक पटक, पटक… पटक
माफी दिन सक्ने अभावहरूको धावक हुँ
म मलाई अँध्यारोमा प्रकाश दिलाउने
मेरै आफ्नै हौसलारूपी टुकी हुँ
म मेरा हारहरूमा नहारिकन
जितका भाका मिलाउने ढुकढुकी हुँ
म मैले गरेका गल्तीहरूलाई
सुधारको गति दिलाउने इन्धन हुँ
म मेरै अगाडि
मेरो अगाध समालोचना गर्ने
मेरा आडम्बरको निधन हुँ
म मलाई मिलाई, म बनाउने मलम हुँ
म मलाई नै मेरो मलामीको
पहिलो निम्तो लेख्ने कलम हुँ
०००


