त्यो रात मलाई निन्द्रा राम्रोसँग परेन। मनमा अनेकौं कुराहरू खेलिरहे। भित्ताको घडीमा नियालेँ, सुइले रातको बाह्र बजेको देखायो। अलि असहज अनुभव भइरह्यो। हातका औंलाहरू गन्दैगन्दै राति कतिबेला निन्द्रादेवीको शरणमा पुगेछु।
बिउँझिदा बिहानको छ बजिसकेछ। सूर्यको किरणले झ्यालबाट चिहाइरहेको थियो। टेबुलमा राखेको मोबाइल चेक गरेँ, विदेशबाट छोराछोरीको म्यासेज, कल केही छ कि भनेर हेरेँ – रहेनछ। शरीर अझै फ्रेश थिएन, ओछ्यानमै पल्टिरहेँ।
नेपालबाटै मेरो देवर – नाता पर्ने एउटा बाबुको फोन आयो। रिसिभ गरेँ। सन्चो-बिसन्चो, घरपरिवारको बारेमा कुरा भयो।
“भाउज्यू, के गर्नु, छोराछोरी सबै विदेशमै छन्। यता बुढाबुढी मात्र। यत्रो धन–सम्पत्ति छ, स्याहार–सुसार गर्ने कोही छैन। यता त गाउँ नै रित्तै छ,” उनले भने।
मैले आफ्नै टोलमा पनि मान्छेहरू घट्दै गएको सम्झिएँ।
दिनानुदिन सन्ततिहरू विदेश पलायन हुने क्रम घट्नुको सट्टा बढिरहेको छ। यो हरेक घर, गाउँ र बस्तीको मात्र चिन्ता नभई देशकै चिन्ताको विषय बनेको छ। कोही केही वर्ष काम गरेर स्वदेश फर्कन्छन् भने कोही विदेशमै घरजम गरेर बसेका छन्। देशमा महँगी र बेरोजगारीले दिनानुदिन भर्याङ चढिरहेको छ।
हामीबीच यस्तै कुरा हुँदै गर्दा देवरबाबु सुक्कसुक्क गर्दै थिए। पछि त डाँको छोडेर पो रुन थाले। मैले के भनेर सम्झाउँ उनलाई? मेरा आँखाबाट पनि बलिन्द्र आँसु झरे। हामी दुवै परिवारको पीडा एउटै थियो। मन पत्थर बनाएर उनलाई सम्झाएँ।
यो मन अरूले सम्झाउँदा झन् पोखिन्छ; बरु आफैंले मनलाई बुझाउनु पर्छ भनेर सम्झाएँ। आखिर ब्यथा एउटै भए पनि पीडाको अनुभूति फरक हुन्छ नै। उनको हिक्कहिक्क रुवाइ नरोकिँदा–नरोकिँदै हाम्रो फोन बिच्छेद भयो।
टोखा नगरपालिका, वडा नं. ९, नयाँ बसपार्क, काठमाडौं


