म को हुँ?
को हो म?
म आफैंलाई खोज्दै
समुन्द्रको छाल जस्तै,
एकाएक उठ्छु,
फेरि आफैंमा बिलाउँछु,
अन्धकारको गर्भमा
शून्यताको पिण्डझैं घुम्दैछु,
सिघ्र गन्तव्य चुम्न
नदीझैं बग्दै किनारालाई सोध्छु —
म को हुँ?
यद्यपि उज्यालो हराएको दीपझैं,
मौन छन् किनारा।
फेरि सोध्छु —
म को हुँ?
कहिले मूर्खलाई देखेर मूर्खजस्तै बन्दिन्छु,
कहिले आफैंलाई बुद्धिको भाँडो ठान्छु,
कहिले आफ्नै छायासँग डराउँछु,
कहिले अन्धकारलाई सूर्य ठान्छु,
त कहिले
वक्षस्थललाई गाली गर्छु।
म आफ्नै पिंजडाको आफैं कैदी,
मेरो चैतन्य कतै हराएजस्तो,
अरुकै चेतना मभित्र तैरिएजस्तो।
दर्पण अगाडि उभिएर सोध्छु —
भन्दिनु न, म को हुँ?
महापुरुषको विरोध गर्दै,
महामूर्खको सङ्गत गर्छु,
सहिदलाई देशको भगुवा ठान्दछु,
नेताको भाषणमा मन्त्रमुग्ध हुँदै,
अपराधीलाई देवत्वकरण गर्छु।
म देख्छु आकाश पातालभन्दा तल झरेको,
म महसुस गर्छु नर्क, धर्तीभन्दा माथि उठेको,
तथापि,
आँखा चिम्लिएर नदेखेझैं गर्छु।
किनकि —
सत्य बोल्दा यहाँ जिब्रो थुतिन्छ,
सत्य देख्दा आँखा फोडिन्छ।
अनेकौँ बेथितिका विरुद्ध
हुंकार भर्न नसक्दा पनि भन्छु —
मैँ हो बुद्धिमानी!
मैँ हो सर्वज्ञानी!
म यो भ्रममा कति बाँचिरहनु?
बास्तवमा मेरो मर्म के हो?
भन्दिनु न, मेरो कर्म के हो?
म अमूल्य व्यर्थता हुँ,
तर व्यर्थ आडम्बरमा,
वेदको ज्ञाता भन्दै
झुटको पर्दामा
अज्ञानता छुपाउन खोज्छु,
आफ्ना काला कर्तुतहरू लुकाउन खोज्छु।
मर्न डराउँदिन भन्दै गर्जिन्छु,
तर,
आशाका अलार्म घडीमा बाँधेर सुत्छु।
देशले मलाई केही दिएन गर्छु यही गुनासो,
देशलाई मैले के दिए — उठाउँदिन प्रश्नचिह्न।
सायद?
यही मेरो सत्यता,
यही मेरो वास्तविकता हो।
तर पनि म
आफूले आफैंलाई खोजिरहेछु र सोधिरहेछु —
म को हुँ?
को हो म?
पथरी, मोरङ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।