१. लघुकथा : विपत्ति
मनसुन वर्षा सुरु भएसँगै प्रकृतिको वितण्डा पनि सुरु भयो। बुढाले भने, “कहाँ कहाँ, के के हुने हो ? यो वर्ष पनि के के सुन्नुपर्ने हो ?”
मैले दिक्क मान्दै भनेँ, “तीन दिन लगातार झरी पर्छ रे ! नदी, खोलाको छेउछाउका घरहरूमा पानीको बहाव बढी भए सुरक्षित स्थानमा जानू र सतर्क रहनू भनेर समाचारले फुकी राखेको छ। झरी परेको बेला मौका छोपेर कतै पाखोबारीमा रोपाइँ गर्दै छन् भने कतै बिजोग भएको छ।”
बुढाले चिन्ता व्यक्त गरे, “अरुको के कुरा गर्छेस् ? आफ्नै हेर्न। राति पनि ढुक्कले सुत्न सकिँदैन। भिज्ने सामान कसरी जोगाउने ? बरु सुरक्षित गरौँ।”
बुढीले सुझाइन्, “माथि खाट उल्टो बाँधेर खाद्यान्न र बिग्रन सक्ने सामान खाटमाथि राखौँ।” अनि दुबैजना कस्सिए।
राति ठूलो पानी पर्यो। खोलो डरलाग्दो भयो। बाढी र पहिरो मिसिएर आउन थाल्यो। दुबै बुढा–बुढी सुरक्षाका लागि नजिकैको विद्यालयतिर लागे।
एकैछिनमा एउटाले खबर ल्यायो, “तपाईंहरूको त घरबारी सबै पहिरोले बगायो।”
२. लघुकथा : तप
आमाले छोरीलाई झम्टिएको देखेर सुन्दरीले भनिन्, “मैयाँले साँच्चै दुःख पाइ। आखिरी! सौतेनी आमा न परी, बाउ पनि उस्तै छ। आमाको इसारामा नाच्छ, केही भन्न सक्दैन।”
“आफ्नी पनि त छोरी छे, तर त्यसलाई केही भन्दिन, काम पनि लगाउँदिन। सौतेनी आमाको जात जनाइहाल्नुपर्ने रहेछ,” मालतीले खासखुस गरी।
“घरको बाहिरभित्र सबै काम उसैले धानेकी छे। कस्तो माया पनि नलाग्ने रहेछ! आफ्नै आँखा अगाडि अन्याय देखेको छ, तर हामीले केही भन्नै हुँदैन। खाउला जस्तो गर्छे, तिमीहरूले नै लगेर पाल न भन्छे,” सुन्दरी फतफताइन्।
“चाडपर्व आउँछ तर, अहँ! त्यो केटीले एकसरो लुगा फेर्न पनि पाउँदिन। पेटभरि खान पनि पाउँदिन। दुष्टले नोकर्नी नै बनाएर राखेकी छे,” अमिलो मन पार्दै मालती भनी।
सुन्दरी र मालती कुरा गर्दै थिए। मैयाँले आमाको दुर्व्यवहारको प्रतिकार गरोस् न भन्ने उनीहरूलाई लाग्दै थियो। तर झम्ट्याइ खाएकी ऊ त नमस्कार गर्दै, बढो उत्साहित भएर भन्दै थिई, “तिमीले दिएको कठोर तपको फलले आज हरेक चुनौतीमा खरो उत्रन सकेकी छु। धन्यवाद, आमा!”
३. लघुकथा : आशा
“कहाँ गएकी हो ? अहिलेसम्म आएकी छैन ? छोराछोरी भोकाइसके। दस बजिसक्यो,” सासूले घडी हेर्दै गुनगुन गर्न थालिन्।
बुहारी हस्याङ्फस्याङ् गर्दै भान्सामा पसेर भनिन्, “एकछिन नेताको भाषण सुन्न गएकी थिएँ। कार्यक्रम सकिँदा ढिलो भो। छिटै खाना पकाइहाल्छु नि !”
सासूले आँखा तर्दै भनिन्, “कसैलाई नलागेको राजनीतिको नसा यसैलाई लाग्दो रहेछ। बिदाको दिन, केटाकेटीलाई नुहाइदिनुपर्ने, लुगा धुनुपर्ने, घरभरि काम अस्तव्यस्त छ।”
बुहारीले पनि झनक्क रिसाउँदै भनिन्, “घरको कामै बिताएर कहिले हिँडेकी छु र ? मरिमरि गरेको काम चाहिँ कसैले देख्दैन, तर एकछिन हिँडेको देखियो।”
सासूले हकारिन्, “खुब जानिछस् कुरा गर्न। सिक सिक देउरानी, घरै जेठानी भन्थे। हो रहेछ, वरिपरिको माहोल नि त्यस्तै। अझ हेर न, लाजै नमानी ठाडाठाडै बोल्छे।”
बुहारी नबोली भात पकाउन थालिन्। सासू फेरि फतफताउन थालिन्, “मकै गोड्न मेलामा जानु थियो। भर दिएकी थिएँ। अब जान ढिलो हुने भयो। के भन्लान्? अहिलेका बुहारीलाई त केही बोल्नै हुन्न। हाम्रा पालामा कति सास्ती खेपियो।”
सासू–बुहारीको निकै बेरको गन्थन सुनेका ससुरा चर्किदै बोले, “हैन, तिमीहरू कति शत्रु हसाउँछौ हँ ? तिलजत्रो कुरालाई पहाड बनाउन जानेका छौ। आइमाईका खुट्टा आइमाईले नै तान्छन् भन्थे, साँच्चै हो।”
केही नरम स्वरमा सासूले सोधिन्, “के के भने त तेरा नेताले ? तैले पनि ठुलै भाग पाइस् होली नि !”
बुहारीले भनी, “यी लाछीले गर्न त के पो गर्न सक्थे र ? कमसेकम देशमा बेरोजगारी समस्या हल गरे त हुने हो।”
४. लघुकथा : आवेग
“मध्यरातको समयमा कसले फोन गर्यो ?” झस्किँदै उनले फोन हेरे।
नेपालबाट दाजुको फोन रहेछ। दाजुले भन्नुभयो, “ल, ल! जति सक्छौ, छिटो मिलाएर आउनु पर्यो। कान्छो छोरा बिरामी भएर आइसीयूमा भर्ना गरी राखेको छ।”
राति नै टिकटको लागि अनलाइन चाहारे। कामकुरा सबै थाँती राखेर एयरपोर्ट पुगे। श्रीमान मोबाइलमै व्यस्त भए। के भएको हो, चारैतिर कल गरेर उनी बुझ्दै थिए।
उनले बिलौना गरिन्, “यिनैका लागि भनेर दुबैजना विदेश आएका थियौं। एउटाले नछोडेको भए नि हुन्थ्यो। कमसेकम आफ्नै आँखा अगाडि त रहन्थे। मेरो त हातखुट्टै लागेको छैन। सामान्य बिरामी भएको भए दाजुले किन ‘हिँडिहाल’ भन्नुहुन्थ्यो र ?”
काठमाडौं एयरपोर्टबाट उनले आत्तिँदै दाजुलाई फोन गरिन्, “कुन अस्पताल आउनु ?”
दाजुले भने, “तिमीहरू नआत्तिकन घर आओ। अहिले होस आएको छ।”
घरमा पुग्दा मान्छे भरिभराउ थिए। बिरामी हेर्न आएका होलान् भनी उनले दाजुलाई छोराको बारेमा सोधिन्, “छोरा अस्पतालमै छ कि घर ल्याएको हो ?”
दाजुले भने, “अब छोरो रहेन, भाइ। केटीको चक्करमा मोरोले सुसाइड गर्यो।”
५. लघुकथा : बैठक
“ओहो! आज त एकछिन फुर्सद नै हुने भएन। कता–कता भ्याउने हो?” एकाबिहानै मिटिङको तालिका हेर्दै उनले योजना बनाए।
चिटिक्क परेर उनी निस्कन लागेको देखेर मैले भनेँ, “बिहानै बिहानै कताको साइत हो ?”
उनले हतार देखाउँदै भने, “आज खान नपर्खिनू, म उतै खान्छु। दिनभरिमा चार वटा मिटिङ भ्याउनु छ।”
मेरो पारो तात्यो। बेस्सरी रन्किँदै भनेँ, “दुबैजना मिलेर आज त कोदो रोपौँला भनेकी थिएँ। सबैको कोदो हरियो भइसक्यो, हाम्रो चाहिँ अत्तोपत्तो छैन।”
“नकराऊ न, लाटी! तिम्रो बुढाको कामै त्यस्तै हो। फुर्सदका दिन सहयोग गरौँला नि! रिसाएर हुन्छ र?” भन्दै उनी बाहिरिए।
म एक्लै फतफताउन थालेँ, “सधैँ नै मिटिङ र कामको बहानामा बाहिरिने सङ्ग त म हैरान भएँ। होइन, घरका सबैलाई हुँदा मेरो मात्र किन यति साह्रो टाउको दुख्ने हँ? हा, म पनि आनन्दले बस्छु।”
केही बेर चुप लागेर बसेँ तर फेरि भुटभुटो सुरु भयो। लाग्यो, “हैन, मैले पनि धर्म छाडे भने त बर्बाद हुन्छ। अहिले छोराछोरीले ‘भोक लाग्यो आमा!’ भन्छन्। वस्तुभाउ कराउन थाल्छन्।”
म कामकै चटारोमा अल्मलिरहेँ। मनमनै सोचेँ, “यिनीहरूको मिटिङ उपलब्धिमूलक हुनु र देशमा परिवर्तन हुनु एकै रहेछ।”
गैंडाकोट –४, नवलपुर
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।