❛❛
शिखर चढाउँदा हौसला दिएर
ताली बजाउँदै “म छु नि” भन्नेहरूले
तिम्रो हारको प्रतीक्षा गरिरहेका हुन सक्छन्।
गर्नु हुँदैन विश्वास कसैको,
हार्नु हुँदैन हिम्मत तिमीले।
दुनियाँ स्वार्थमा हिँड्छ र बाँच्छ,
हिजो माया दिनेले
आँसुको पोखरीमा डुबाउन सक्छ,
मुटुमा राख्नेले
सडकमा फ्याँक्न सक्छ।
बुझ्नू दुनियाँ, र कदम उठाउनू—
यहाँ स्वार्थबिना कोही कसैको हुँदैन।
आज उद्देश्य सोध्नेहरूले
भोलि हैसियत सोध्ने छन्।
आफ्नो जिन्दगी
आफैँले बनाउने हो।
माफ गर ती दुश्मनहरूलाई,
जसले तिमीलाई समस्यामा पारेर
तिम्रा आँखा खोलिदिए।
झारपातबाट नै हो ज्ञान सिक्ने—
झारपातहरू
रुखले जस्तै शीतलता दिन सक्दैनन्।
खोज
आफैँभित्र समस्याको हल,
निकाल तिमी आफैँलाई
समस्याहरूबाट बाहिर।
सुन, चम्कन पहिले आगोमा जल्नुपर्छ।
मौन हिँड,
यहाँ चिच्याउनु उचित हुँदैन।
मौनतामा धेरै कुराहरू सिक्न सकिन्छ।
कष्ट दिनेहरूको अगाडि न झुक्नू,
प्रतिशोधको भावना नराखी
आफ्ना आनीबानीलाई फरक गर,
जसले तिमीलाई सही बाटो देखाऊन्।
हिम्मत नहार,
कायर नबन।
अतीतलाई फर्केर नहेर—
समस्याको समाधान तिमीसँगै छ।
मिल्काइदेऊ,
ध्यारर च्यातीदेऊ
विषाद भरिएका कथाका पाना र चित्रहरू
एक–एक गरेर।
पलेटी कसेको तिम्रो विवेकलाई
अघि हिँड्न देऊ।
घाम–जून भेटिने छ,
कहिले अँध्यारो आउने छैन।
बस्,
तिमी हिम्मत नहार!
तिम्रो हिम्मतमा जीवन छ,
तिम्रा हरिया सपनाहरू
सार्थक बन्ने आशामा
खुला आकाशको
त्यो सुनौलो बिहानी
पर्खिरहेछन्।


