शरण रेग्मी
लगभग एक दशक भयो होला, मैले निर्मलाहरू देख्दै आएको। सपनामा पनि निर्मला नै देख्छु। विद्यालयमा पनि निर्मला नै देख्छु, रेष्टुरेन्टमा पनि निर्मला नै देख्छु, पसलहरूमा पनि निर्मला नै देख्छु। अफिसको क्यान्टिनमा साथीहरूसँग यही कुरा गरेँ —
“साथीहरू, म त जहाँसुकै निर्मला नै निर्मला देख्छु। धेरै पीर लाग्यो निर्मलाहरूको।”
मेरो एउटा अति घनिष्ठ साथी बोलिहाले —
“ए साथी! यो बुढेसकालमा पनि! म्याडमले लखेट्नुहोला नि!”
अर्को एकजना अर्कै जिल्लाका साथीले भने —
“साथी! सुन्दर युवती, यौवनमयी विधवा र तान्त्रिक व्यक्तिहरूको छेउछाउ जानुहुँदैन। यिनीहरूको छेउछाउ जानु भनेको ठूलो दुःख निम्त्याउनु हो। बुद्धिमानहरू यस्ता कुराबाट पचास हात पर बस्छन्। शास्त्रले यही भन्छ।”
मैले बिम्ब प्रयोग गरेको उनीहरूले थाहा नै पाएनन्, अथवा बुझ पचाए। “म गर्छु आग्राको कुरो, ऊ गर्छ गाग्राको कुरो” भने जस्तै भयो। खै, साथीहरूले मलाई नराम्रो नै सोचे कि जस्तो लाग्यो।
मैले विगत एक हप्तादेखि नियमित रूपमा निर्मलालाई सपनामा देख्दै आएको छु। मनभरि निर्मला नै निर्मलाको चिन्ता भएर होला, हिजो राति मैले सुन्दर युवती देखेँ। ऊ त स्वर्गबाट झरेकी परीजस्ती थिइ, तर उसको अनुहार कष्टप्रद र दयनीय देखिन्थ्यो। यस्तो लाग्थ्यो, उसका आँखा वरिपरि आँशुका बादलहरू मडारिइरहेका थिए।
उसले रुन्चे आवाजमा भनि —
“म निर्मला। मेरो घर कञ्चनपुर। पोखराकी श्रेया सुनार, बैतडीकी भागीरथी भट्ट, रामेछापकी सुन्तली तामाङ, झापाकी सन्ध्या राजवंशी, बझाङकी सम्झना वि.क. र म सँगै बस्दै आएका छौँ। आज म प्रतिनिधि पात्रको रूपमा आएको छु। मैले धेरै दिन अघिदेखि हजुरलाई भेटेर दुःखको कथा सुनाउनु थियो।”
“मेरो देशमा म नै असुरक्षित छु, म नै असहाय छु, म नै एक्लो भएको छु, म नै दलदलमा फसेको छु।”
तैपनि भनेँ —
“हुन्छ, सकेको सहयोग गरौँला। भन्नुहोस् न।”
ऊ बोलि —
“हजुर हाम्रो जिल्लाको डि.एस.पि. साप होइन र? जिल्लाभरिका दुःख, पीडा, शान्ति, सुरक्षा हेर्ने हजुरको काम होइन र?
सुन्नुहोस् न, महासय! कार्तिकको महिना थियो। म स्कुलमा पढ्न गएकी थिएँ। स्कुलमा हाजिरी-जवाफ प्रतियोगिता पश्चात् एक्स्ट्रा क्लास पनि थियो। बेलुका ५:४५ बजेसम्मको अध्ययन सकेर घर फर्कँदै थिएँ।
मेरो साथी बिरामी भएकी थिई, स्कुल आएकी थिइन। भोको पेटमा म एक्लै छिटोछिटो पाइला सार्दै थिएँ। लगभग ६/७ जनाको समूहमा रहेका चिम्से केटाहरू बाटोमा रहेछन्। म उनीहरू नजिक पुग्नेबित्तिकै बाटो छेके।
म सोझीलाई के गरूँ–गरूँ, के भनूँ–भनूँ भयो। बोल्न खोजेँ तर आवाज आएन। मैले अरु के नै भन्न सक्थे र? “मेरो बाटो नछेक, मलाई जान देऊ” भन्थे होला।
त्यतिकैमा एउटा रातो–रातो भेष्ट लगाएको मुन्द्रे बोल्यो —
“क्या च्वाक तिमी त! शरीर पनि कोकाकोला जस्तो!”
फिल्मको पर्दामा देखेजस्तै गरी अर्को, दुम्सीको प्वाँखजस्तो कपाल भएको जगल्टे आयो र भन्यो —
“आइ लभ यु, निर्मला।”
डरले मेरो आवाज बन्द भइसकेको थियो। हातले संवेदनशील अंगमा गरिएको दुस्प्रयासबाट बच्न भने सफल भएकी थिएँ।
छोटो–छोटो कपाल भएका, अग्ला–अग्ला केटाहरू पनि नजिकै थिए। मैले उनीहरूलाई चिन्ने प्रयास गरेँ तर सकिनँ। सायद उनीहरू परिचित अनुहार थिएनन्।
मूल सडकबाट धेरै टाढा उक्त ठाउँ एकान्त थियो। नजिकै पूर्वतिर जङ्गल थियो र पश्चिमतिर उखुबारी। उत्तर र दक्षिणतिर भिरालो जमिन, जहाँ स–साना सालका रुखहरू हुर्कँदै गरेका देखिन्थ्यो।
आकाशमा कालो बादल तछाड–मछाड गर्दै मडारिइरहेका थिए। मलाई बादल, कुहिरो, जङ्गल, आकाशबाट परेको पानी खुबै मन पर्थ्यो। तर, आज मन परेको छैन।
बादल, जङ्गल, आकाशको कालो बादल हेर्दै त्यो मधुर जुनको उज्यालोमा भाग्यलाई धिकार्न थाले। भगवानको नाम धेरैपटक जपें।
मेरो ध्यानलाई जगल्टेको दरो हातले भङ्ग पारिदियो। केही सेकेन्डमै मलाई भुईँमा पछार्यो। मेरा संवेदनशील अंगहरू समाउन थाल्यो। म उग्रचण्डी भएँ, तर मेरो बलबुताले सकेन।
गुहार मागेँ, कराएँ, जङ्गल थर्कने गरी चिच्याएँ, तर कसैले सुनेनन्। मेरो बोलीलाई दबाउन मुखमा रुमाल कोच्यो। म बोल्न नसक्ने भएँ। मेरो अस्मिता लुटियो। त्यसपछि म बेहोस भएछु।
सिमसिम परेको पानीले म ब्यूँझिएँ। म त जङ्गलको बीचमा रहेछु। चारैतिर जङ्गल नै जङ्गल थियो। मेरा सबै संवेदनशील अंगहरू चहराइरहेका थिए। हातले मुखमा छामेँ — रगत आइरहेको थियो।
शरीरभरि घाउ नै घाउले होला, दुखिरहेको थियो। आँखा खोलेँ — भूतजस्तो अध्यारो रात थियो। म त नाङ्गै रहेछु।
कता–कता लाज लाग्यो र मेरो स्कुलको ड्रेस खोज्ने प्रयास गरेँ। कहाँ देखिन्थ्यो र त्यो चुक घोप्ट्याएको जस्तो अध्यारो रातमा!
नजिकै एउटा कालो थुप्रो देखेँ। उठ्न बल गरेँ, तर सकिनँ। घस्रिँदै त्यहाँसम्म पुगेँ। साँच्चै त्यो थुप्रो मेरो किताब र लुगाहरूको रहेछ।
मेरो युनिफर्मको सर्ट छिन्नभिन्न भएको रहेछ। फ्रक खोज्न उठ्न खोजेँ, पक्षघातको बिरामी लडेझैँ दायाँतिर लड्न पुगें। संयोगले त्यहीं नै फ्रक रहेछ।
फ्रक लगाउन खोजेँ त्यो निष्पट अध्यारोमा, तर सकिनँ। धेरै प्रयत्नपछि बल्ल फ्रक लगाउने इच्छा पूरा भयो।
मनभित्र डरको साम्राज्य थियो। बाहिर भूतजस्तो अध्यारोको साम्राज्य थियो। डाँको छोडेर रुन मन लाग्यो। फेरि कताबाट डर पस्यो मनमा।
त्यो घना अध्यारो जङ्गलमा जगल्टे दैत्यहरूलाई नै भए पनि खोज्ने प्रयास गरेँ। दैत्यहरू — कसैलाई भेटिनँ। केही मिनेट हिँडेको थिएँ, म लड्न पुगेँ र फेरि बेहोस भएछु।
केही समयपछि होसमा आएँ। मेरो मानसपटलमा अतीतका त्रासदीपूर्ण र कहालिलाग्दा रातहरू आइपुगे।
मेरी आमालाई विधवा बनाएर जानुभएको मेरो बाबालाई सम्झेँ। छोरीलाई नर्स बनाएर ठूलो र असल व्यक्ति बनाउने परिकल्पनासँगै उहाँ खाडीको मुलुकमा विदेशिनु भएको थियो। त्यो कालो दिन सम्झन्न भन्छु, तथापि आँखा अगाडि बारम्बार आइरहन्छ। दुःखको समयमा र सुखको समयमा पनि आउने यही नै मेरो अविस्मरणीय घटना हो।
त्यो दशैँको टिकाको दिन थियो। हामी टिका लगाउन बाबाको प्रतिक्षा गरिरहेका थियौँ। बिहान ६ बजे नै एयरपोर्ट झर्ने कुरा थियो। चार वर्षको अवधिपछि बाबालाई भेट्ने मनसायले अति खुसी भएका थियौँ। हामी यति खुसी थियौँ कि शब्दमा व्याख्या गर्न सक्दिन।
दिउँसो पनि पर्खियौँ, तर आउनुभएन। बिहानैदेखि बाबालाई सम्पर्क हुन सकेन। बेलुकाको खानामा बाबालाई मनपर्ने गोलभेंडाको अचार, मासु र गाभाको तरकारी समेत थियो। सँगै खाने भनेर खाना नखाई कुरिरहेका थियौँ। सानो भाइले थोरै खाएर हाइ काट्दै मध्यरातसम्म बसिरहेको थियो।
मध्यरातमा बाबा आइपुग्नुभयो —
अपशोच! कफिनमा।
त्यो अवस्था कल्पना मात्र पनि कहालिलाग्दो थियो, तर त्यो त यथार्थ थियो।
त्यो गहिरो अन्धकारले ढाकेको जमिनमा बाघको ङ्यार्र ङ्यार्र आवाजले मलाई सर्तक गरायो। बाघलाई मैले भगवानको अवतार मानेँ। मेरो त्यो दुःखको समयमा कोही साथी थिएनन्। धन्न, बाघ आइपुग्यो भनेर भगवानलाई धन्यवाद दिएँ — किनकि मलाई जनावर नै उत्तम लाग्यो ती बलात्कारीहरूभन्दा।
मानिसको मन पनि अचम्मको हुँदोरहेछ। हुँदै नभएको कुरालाई र हुनै नसक्ने कुरालाई पनि होजस्तै बनाइदिन्छ र सही भनिदिन्छ।
त्यसैबेला ठूलो चट्याङ् पऱ्यो। बिजुली चम्कियो र पानी दर्कियो। बिजुलीको उज्यालोमा बाघ १५–२० हात पर देखेँ। अघिसम्म भगवान सम्झिएको बाघले अब झम्टन आँटिरहेको जस्तो लाग्यो। आँखा चिम्म गरेँ र भगवानको नाम जपें। घरको कुलदेवता, इष्टदेवताहरूलाई सम्झेँ।
मानिसलाई जीवनदेखि कति माया लाग्दो रहेछ!
म एउटा सानो सालको रुखमा चढ्न खोजेँ। सालको चिप्लो पातमा चिप्लिँदै केही तल पुगेँ र रुखमै अड्किएँ।
डि.एस.पि. साप!
पीडाले होला, म कहाँ छु, कुन ठाउँमा छु—मलाई ज्ञान हुन छोड्यो। जताजतै अन्धकार, जङ्गल थियो— त्यो जङ्गली जनावरहरूको साम्राज्यमा। पानी घनघोर दर्कन थाल्यो। चट्याङ पर्यो। एउटा मनले भन्यो– “भगवानले बाघलाई देख्न चट्याङ पर्न लगाउनु भएको।”
बाघ वरिपरि देखिएन। अड्किएको ठाउँबाट निस्कन खोजेँ। संवेदनशील अंगको घाउ झन् दुख्यो। शरीरको सबै भागमा पीडा भइरहेको थियो। तर मेरो मनको घाउ त तनको भन्दा कम थिएन।
सोचेँ–
“पशुहरूमा बरु इच्छा–अनिच्छा बुझ्ने चेतना हुन्छ; भालेहरूमा। तर मानवहरू, अझ पुरुषहरू—किन यति निर्दयी र क्रुर?”
आज दिउँसो परेवीहरूको बथान स्कुलमा आएका थिए। कति निर्धक्क चारो खोजिरहेका थिए, समूहमा! खै, परेवीहरू परेवासँग डराएका थिएनन्। भगेरीहरू पनि भगेरासँग डराउँदैनन्। फूलहरू निर्धक्क फुलिरहेका हुन्छन्। उनीहरू आफ्नै संसारमा रमाइरहेका हुन्छन्। बरु अरूलाई आनन्द दिनमै खुसी हुन्छन्।
तर केटीहरू?
केटीहरूले राति हिँड्न कति भयानक!
एक्लै हिँड्न त झन् कति डरलाग्दो!
एक जुनी बिताउनलाई पनि केटीहरूलाई कति सकस!
दिमागमा फेरि बाबा आउनुभयो।
“बाबा” शब्द सम्झेपछि मलाई झन् पीडा भयो।
मलाई बाबाले कम्ता माया गर्नुहुन्नथ्यो। घाटको बालुवा बोक्दा पनि सँगै लैजानुहुन्थ्यो। पहाडको पत्थर फुटाउँदा पनि म सँगै हुन्थेँ।
बाबालाई कफिनमा ल्याउँदा मेरो चार वर्षको अबोध भाइले भनेको थियो–
“मेरो बाबा साइकल किन्न छोडेर कहाँ मर्नुभएको क्या।”
मलाई बाबाको यादले सतायो।
म सपनाको दुनियाँमा हराएँ।
मलाई खोज्दै बाबा जङ्गलमा आउनुभयो। उहाँले मलाई भेटेर सबै कुरा बुझ्नुभयो र भन्नुभयो –
“भोली तिमी र म अस्पताल जाने। ती पशुहरूलाई पुलिसले समात्छन् र जेलमा कोच्छन्, छोरी।
रुने तिमी होइन, ती पापीहरू रुनेछन्, छोरी!” भन्दै मेरो आँशु पुछिदिनुभयो।
मलाई सम्झाउने क्रममा मभन्दा बाबा नै बढी रुनुभयो। चिन्तित मेरा बाबाले आँखाभरी आँशु बनाउँदै मलाई बोक्नुभयो। हामी घरमा पुग्यौँ।
घरमा सानो मेरो भाई जिद्दी गरेर बाबालाई भन्दै थियो –
“मलाई साइकल किनिदिनु, जाउँ छिटो हिँड्नु, साइकल किन्न।”
अचानक परेको पानीको थोपाले म सपनाबाट ब्यूँझिएँ। जङ्गल उही थियो। म एक्लै उस्तै अवस्थामा।
जङ्गलको त्यो भागबाट अलि माथि डाँडामा टिलपिल–टिलपिल गर्दै बलेको बत्ती देखेँ।
सोचेँ – अब गाउँ टाढा छैन। आशाको दियो बल्यो मनमा। कताकताबाट बल भरियो शरीरमा। दुवै खुट्टा अड्किएको ठाउँबाट निकालेँ। मुखबाट ठूलो चित्कार निस्कियो। आँखाबाट साउनको भेलसरी आँशु बगिरहेकै थियो।
मनमनै सोचेँ – अहिले मेरी ममी के गर्दै हुनुहुन्छ होला? छोरी हराएकोमा कति पीर पऱ्यो होला? को–को साथीहरूको घरमा पुग्नुभयो होला? कुन–कुन सरहरूलाई फोन गर्नुभयो होला?
अत्तोपत्तो नभएर रुँदै हुनुहुन्छ होला कि? न मलाई गाली गर्दै पो हुनुहुन्छ होला कि? मेरो भाइ के गर्दै होला? ममीको छेवैमा बसेर रुँदै छ कि?
नजिकैको चराको आवाजले म कल्पनाको संसारबाट विपनामा आइपुगेँ। मेरो गन्तव्य घर नै थियो। गाउँको माटोको गन्ध आएजस्तो लाग्यो। कुहिराको कागसरी बत्ती बलेको दिशातर्फ हिँड्न थालेँ। त्यो जङ्गलमा हिँड्दै गर्दा अनौठो आवाज सुनेँ। त्यस्तो अनौठो आवाज १४ वर्षको उमेरसम्म कतै कहिल्यै सुनेकी थिइनँ।
मलाई भूतको विश्वास लाग्दैन, तर आज भने कता–कता डर लाग्यो। सायद भूतको आवाज यस्तै हुन्छ होला।
म कहिल्यै पानी परेको बेलामा हिँडेको थिइनँ। आवाज हुरी–बतास र पानीको पो रहेछ। मैले हुरी–बतास र पानीको कुनै परवाह नगरी उज्यालो हुनुअघि नै ममीलाई जम्मै कुरा भन्ने आशा लिएर हिँड्न थालेँ। उज्यालो भएपछि मेरो च्यातिएको लुगा र लुटिएको इज्जत देखाउन लाजमर्दो हुन्छ। अतः म दौडिन थालेँ। शिथिल शरीर र घाउको पीडाले म बाटोमा पुनः लडेँ। मेरो साथी हातमा लठ्ठी थियो। साथीको भरमा यात्रा सुरु गरेँ। हिँड्दै गर्दा मैले मेरो गाउँको चौतारो देखेँ। भुकभुके उज्यालो भएको थियो।
केही समय हिँडेपछि घर पुगेँ।
घरको बत्ती बलिरहेको थियो।
घरको तगारो खुलै थियो।
ढोका पनि खुलै थियो।
म सुटुक्क घरभित्र पसेँ।
ममी कोठाको ढोका नजिकै भाइलाई सुताउँदै हुनुहुन्थ्यो।
भाइले मलाई “नानी” भन्थ्यो, किनकि मलाई सबैले नानी भनेर बोलाउँथे।
ऊ नसुतिकन “नानी खै?” भनेर झगडा गरिरहेको थियो।
ममीले फरियाको फेरले आफ्नो आँशु पुछ्दै “नानी आउँछे बाबु” भन्दै हुनुहुन्थ्यो।
दौडँदै गएर ममीको नजिक बसेँ। दौडन कताबाट बल आयो, आफैँ दङ्ग परेँ। ममीले मलाई तान्दै काखमा राख्नुभयो। धेरैपटक चुम्बन गर्नुभयो। हामी तीनैजना कोकोहोलो गरेर रोयौँ। घर एकान्तमै थियो।
ममीले गाली गर्नुहुन्छ कि जस्तो मनमा चाहिँ लागिरहेको थियो।
कता–कता डर त लाग्यो। तर ममी, आखिर ममी नै हुनुहुन्दोरहेछ। ठूलो समस्या परेको हो भनेर उहाँले सायद लुगाबाट नै अनुमान गर्नुभयो होला।
कति न्यानो काख!
कति मायालु काख!
कति भरोसायोग्य काख!
मेरी भगवान, मेरो सृष्टिकर्ता, मेरो आदर्शको प्रतिमूर्ति,
विश्वको ठूलो ग्रन्थ, मेरो विज्ञान, मेरो ज्ञान, मेरो ब्रह्माण्ड – मेरी ममी।
मलाई कुनै प्रश्न बिनै धेरैपटक चुम्बन गरिरहनुभयो। त्यस्तो रातैभरी पानीले भिजेको मेरो शरीरलाई आमाको मायाले न्यानो बनायो। न्यानो काखमा लुटपुटिन पाएँ – त्योभन्दा ठूलो के हुन्थ्यो र?
मेरा सबै लुगा चेन्ज गरिदिनुभयो।
संवेदनशील अंगको घाउ, शरीरको घाउ देखेर मेरी ममी भकानिएर रुनुभयो। मलाई पुरै पढ्नुभयो – मेरो ज्यूँदो भगवानले।
मेरी ममीको न्यानो माया पाएर होला, म निदाएँछु।
सपनामा निर्मला, भागरथी, सुन्तली, सन्ध्या, सम्झनाजस्ता विभिन्न ठाउँहरूमा बलात्कृत साथीहरू आउनुभयो। उहाँहरूले उहाँहरूको बलात्कारीहरूलाई र मेरो बलात्कारीहरूलाई कडा कारबाही हुने वातावरण सिर्जना गर्न प्रेरणा दिनुभयो। मैले केही राहत महसुस गरेँ। मेरो कानमा ‘निर्मला–निर्मला’ मात्र ठोक्कियो। बिहान ९:०० बजे ममीको आवाजले मलाई उठायो।
ममीले खाना ल्याउनुभयो। हिजो पल्लो घरमा खसी काटेको रहेछ। दुई महिनापछि घरमा मासु पाकेको थियो। मलाई मासु अति मनपर्थ्यो। ममीलाई शुक्रबार मासु ल्याउन सुझाउँथे – मासु र भात खाएपछि सुत्न भनेर। त्यसैले हिजो ममीले मासु ल्याउनुभएको रहेछ।
मेरो अनुपस्थितिमा ममीले खाना खानुभएको रहेनछ।
ममीले मासु र खाना ल्याउनुभयो। खाना खान प्रयास गरेँ। दुर्भाग्य! मैले मासु र भात खान सकिनँ। मेरो मुखमा, जिब्रोमा घाउ नै घाउ थियो। थोरै जिब्रो नै काटिएको थियो।
ममीले मासुको झोल र खानाको घोल बनाएर पिलाइदिनुभयो।
ममीको आँखाबाट आँशु रोकिएको थिएन। बेला–बेलामा फरियाले आँखा पुछ्नुहुन्थ्यो।
मेरो भने आँशु सिधिएको थियो कि!
घुक्क–घुक्क मात्र रोएकी थिएँ।
मैले ममीको आँशु पिएँ – किनकि उहाँको आँशु मेरो खानाको थालमा परिरहेको थियो।
गाउँमा हल्ला फैलिएछ – “निर्मला त पोइला गइ रे!”
मसँगै एक जना केटाको नाम जोडेर व्यापक हल्ला फैलिन भ्याएछ। अरूको त के कुरा, मेरो अंकलले पनि मेरो घरमा आएर भन्नुभएछ –
“आजकलका बच्चाहरू टिभी, मोबाइलले बिग्रिएका छन्। खै, यसै भन्न सकिन्न!”
छोरी खोज्न जानुपर्छ भन्दा उहाँले यस्तो कुरा भन्नुभएको रे।
भाइलाई अंकलको घरमा छोडेर ममी र म जिल्ला अस्पताल पुग्यौँ। अस्पतालमा ढिला आएको भन्दै डाक्टरले गाली गर्नुभयो।
चार दिनसम्म अस्पतालमा बसेर हामी घर फर्क्यौँ।
घरमा पुगेको दिनमै हामीले चौकीमा निवेदन दियौँ।
आज यो समाचार थाहा नहुने विरलै मानिसहरू होलान्।
आज, दश वर्षपछि पनि बलात्कारीहरू भेट्टाइएको छैन।
पुरुषको गिद्दे नजरले यौवनको पूरै पखेटा पनि हाल्न नपाउँदै मेरा दुवै पखेटा काटिदिए। जुनसुकै तन्त्र आओस्, मलाई के मतलब! चाहे प्रजातन्त्र, चाहे लोकतन्त्र, चाहे गणतन्त्र – भ्रष्टाचार मौलाइरहेको छ दुबोभन्दा बढी। बलात्कारीहरू मौलाइरहेका छन् दुबोभन्दा बढी। दिनहरू औँसीका भन्दा काला बन्दैछन्।
मेरो देशमा नियम, कानुन छैन र?
बोल्नुहोस् न, डिएसपी साप!
हजुर निर्जीव बनेर बस्न पाउनुहुन्छ र?
म आफ्नै जेलमा थिएँ।
निर्मलालाई मैले उत्तर दिनै सकिनँ।
सबै कुराहरू यथार्थ थिए।
म आफैँ स्वतन्त्र थिइनँ।
मन्त्रालयमा पनि पुगिसक्यो यो विषय।
सबै ठाउँबाट ‘बलात्कारी पत्ता लगाइनेछ’ भन्ने कुरा मात्र आउँछ,
तर पहल बिचमै तुहिन्छ।
“सकेसम्म बलात्कारीहरू पत्ता लगाउनेछु” भन्ने शब्द दिइयो।
अचानक म सपनाबाट ब्यूँझिएँ। बाहिर भने भूतजस्तो अध्यारो रातको साम्राज्य छँदै थियो।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।