नयाँ वर्षको साइत पारेर वैशाख पहिलो हप्तामा प्रकाशित कथासङ्ग्रह “फिर्दोसको साँचो” (२०८२) मैले महिनाको अन्तिम हप्ता हात पारें। पुस्तकको शीर्षक र बाहिरी आवरणको सुन्दरताले त पहिले नै लोभ्याइसकेको थियो; त्यसमाथि कथाकारकै हातबाट प्राप्त गर्नु झन् अर्को सुखद पल थियो मेरा लागि।
मलाई सम्झेर आफ्नो कथासङ्ग्रह प्रदान गर्नुभएकोमा कथाकार राजबाबु श्रेष्ठ ‘सागर’ज्यूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै, यस सङ्ग्रहले नेपाली आख्यान साहित्यमा दर्बिलो स्थान बनाउन सफल होस् भन्ने शुभकामनासहित बधाई पनि दिन्छु।
यस पुस्तकभित्रका कथाहरू एकसरो पढिसकेर मैले आफ्नो सामान्य प्रतिक्रिया राखेकी छु। जीवन-जगतका यथार्थ भोगाइ र सङ्घर्षका अनुभवबाट सँगालिएका अनुभूतिलाई कल्पनाको जलप लगाई तयार पारिएको आख्यानात्मक संरचना नै कथा हो।
कथाका सामलतुमल वास्तवमा हाम्रै वरपर सर्वत्र छरिएका छन्। यस संसारमा मानव जीवन छ र त मानवीय चेतनाले सेरोफेरोका अनेकौँ कथा-व्यथाका कटु अनुभव सँगालेर राख्ने अवसर पाएको छ।
प्रायः हरेक मानिसले जीवन सङ्घर्षका असीमित आयामसँग साक्षात्कार गरेको हुन्छ, तर तिनलाई पर्गेलेर कथाका रूपमा पाठकसामु सहज प्रस्तुतीकरण गर्ने क्षमताचाहिँ सीमित मानिसमा मात्र अन्तर्निहित हुन्छ।
देखेका विषय र भोगेका तीतामीठा अनुभव, अनुभूतिलाई कल्पना र यथार्थको अन्तरघुलनबाट सुन्दर सिर्जनाका रूपमा पाठकसमक्ष प्रस्तुत हुन योग्य कथाको निर्माण सम्भव बनाउने क्षमताले नै सर्जक विशेष बनेको हुन्छ। यसैले प्रस्तुत कथासङ्ग्रह “फिर्दोसको साँचो” कथाकार सागरको कलात्मक शिल्पचेतको उदाहरणीय नमुना बनेको छ भन्नेमा विश्वस्त हुन सकिन्छ।
कथासङ्ग्रहको नामकरण नै अरबी शब्द ‘फिर्दोस’ अर्थात् स्वर्गको साँचो, वास्तवमै पृथक् र आकर्षक लागेको छ। यस शीर्षकको कथा सङ्ग्रहभित्र खोज्दा कतै नभेटिए पनि अन्तिम कथा ‘ओभर स्पिड’मा हरपल जीवनको मूल्यबोध गराउन जतनले प्रयोग गरिएको पाउँदा अतिशय नै सार्थक लाग्यो।
कथ्यवस्तु चयन र आख्यानीकरण शिल्पबाट कथाकारका विविध प्रयोगले नवीनताको ढोका खोलेको प्रस्ट देखिएको छ। आजसम्म पूर्वीय र पाश्चात्य विभिन्न मिथकीय विषयका कथाहरू नेपाली साहित्यमा धेरै लेखिएका छन्, तर पनि तराईको—विशेषतः मुस्लिम समाजको सेरोफेरोलाई लिएर अरबी/इस्लाम धर्मग्रन्थको गहन अध्ययन अनुसन्धानमा आधारित विषयका कथाहरू सायद यसै सङ्ग्रहमा पहिलो पटक लेखिएका, छापिएका हुन् भन्ने मलाई लागेको छ (अरू मेरा जानकारीमा नहुन पनि सक्छ)। सर्वधर्म समभावको अर्थमा पनि यस कथासङ्ग्रह “फिर्दोसको साँचो” ले नेपाली आख्यानमा सिर्जनात्मक नवीन चेतनाको ढोका खोल्ने साँचो बन्न सक्ने अत्यधिक सम्भावना देखिएको छ।
सङ्ग्रहमा सङ्कलित दश कथामध्ये विषयगत बहुलता र शिल्प चेतनामा विविधताका दृष्टिले हरेकका अलग वैशिष्ट्य देखिन्छन्। पाठकमा कुतूहलता जगाउने मात्र होइन, भयानक त्रासद सिनेमाझैं रहस्य, आक्रोश र विस्मयका संसारमा विचरण गराउने कथाले समकालीन समाजका कुरूप चित्र ऐनामाझैं छर्लङ्गै प्रस्तुत गरेका छन्।
समाजमा देखेकै र सुनिएकै भए तापनि अँध्यारो पर्दाभित्रै कुरीतिका पैतालाले दबाएर गुपचुप राखिएका घटनाका रहस्य र चित्कारको विस्फोटन, अलिखित संवेदना र मनमै खिचडीझैं फत्किएका भावनाहरूलाई कथात्मक शैलीमा मालाझैं उनेर पाठकको आङै जिरिङ्ग बनाएको अद्भुत अनुभूति हुन्छ।
जातीय र वर्गीय विभेदको घृणा र तिरस्कारबाट इस्पातझैं दरिलो बनेकी ‘निर्जला’ को सङ्घर्ष र सफलताको कथा, यौवनका उन्मादका दुःखद परिणति भोग्ने ‘अशोक’ र ‘तृप्ति’ का व्यथा उत्तिकै मर्मस्पर्शी छन्। श्रीमद्भागवत र कुरानका मिथकीय सन्दर्भको सम्मिश्रणमा निर्मित ‘हर्षवर्धन र महर्षि’, इस्लामिक संस्कार-संस्कृतिको चित्रण ‘हिजकील’, ‘हिदायत’ का रूमानी कथा, स्वैरकल्पनामार्फत यथार्थको प्रस्तुति, यौनाचार र सामाजिक प्रतिष्ठाको साक्षी खामभित्रको चिठी, लैङ्गिक विभेदको अन्धताको सिकार बनेकी ‘किसोनिया’, नश्वर जीवनको क्षणभङ्गुरता, जिजीविषा, जीवनको मूल्यबोध र मानवीय दुःखपीडाका विविध पक्षलाई प्रस्तुत गरिएका दागबत्ती र ‘ओभर स्पिड’ कथाले सचेतनासहित उत्तिकै जीवन्तता प्राप्त गरेका छन्।
आख्यानभित्र आख्यानेत्तर विधाका प्रविष्टिले अन्तरविधात्मक र अन्तर्विषयात्मक कथा संरचनाको विनिर्माण शैलीले कथालाई निकै भिन्न रूपमा तिखारिएको छ। केही कथामा विषयअनुरूप अरबी र उर्दूका भाषिक प्रयोग स्वाभाविक रहे तापनि यसको प्रचुरताले सामान्य पाठकका लागि केही जटिलता भने अवश्य उमारेको देखिन्छ। मलाई सबैभन्दा गज्जब लागेको कथाकारको भाषिक प्रयोगको शिल्प चातुर्य तल दिएको मन्त्रमा हेरौँ है त:
“रामे टावईदु टाखेप जाम्रिउ। हे रामे ईदु टाखेप! ईशान लेगबे माशकाआ नड्उ तदम रग। खाआँ घिअनुकिम्झि ईशान गर्स्व नउर्यापु तदम रग।” (मन्त्र)
समग्रमा, सागरको यो कथासङ्ग्रह पक्कै पनि फिर्दोसको साँचो बनेर नेपाली कथामा नयाँ क्षितिज पहिल्याउन सफल हुनेमा म विश्वस्त छु।
कथासङ्ग्रह – फिर्दोसको साँचो
प्रकाशक – इन्डिगो इन्क
प्रकाशन मिति – २०८२
पृष्ठ – २३२
मूल्य – रु. ४९९/-
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।