युवराज शर्मा
कवि ठाकुर बेलवासे २०८१ साल वैशाखको दोस्रो साता आफ्नो चौथो कविता कृति ‘चोटहरूको उत्सव’ लिएर पाठकसामु आएका छन्। वि.सं. २०५८ सालमा ‘सागरको वरिपरि मनहरूको समारोह’ कविता कृतिबाट कविता साहित्यमा परिचित बनेका उनले २०६७ मा ‘अचानक यो साँझ’ र २०६९ मा ‘त्रासमा ईश्वर’ कविता सङ्ग्रह प्रकाशित गरिसकेका छन्। यी कृतिहरूमार्फत उनी नेपाली कविता साहित्यमा एक स्थापित कविका रूपमा परिचित छन्।
‘त्रासमा ईश्वर’का लागि साझा पुरस्कार प्राप्त गरेका ठाकुरले राष्ट्रिय पत्रकारिता पुरस्कार, मोती पुरस्कारलगायत पत्रकारिता र साहित्य सेवा गरेबापत दर्जनौँ सम्मान र पुरस्कार प्राप्त गरेका छन्। यसले उनको कर्मलाई नेपाली समाज र राज्यले समेत अनुमोदन गरेको देखिन्छ।
विगत तीन दशकदेखि कविता साहित्यमा समर्पित बेलवासेका कविताले पीडाभित्र जीवन खोज्ने गर्छन् भने पीडालाई साहस र शक्तिमा बदल्ने कलासमेत सिकाउँछन्। पत्रकारिता र कविता कर्ममा समानान्तर रूपमा जमेर रमेका बेलवासे वर्तमान पुस्ताका एक प्रसिद्ध र सशक्त कवि तथा सञ्चारकर्मी हुन्। पत्रकारिताका कारण धेरै लेखक-कविलाई आफ्नो सिर्जनाबाट टाढा बनाएका दृष्टान्तहरू छन्, तर बेलवासेले दुवै क्षेत्रमा आफूलाई निरन्तर सक्रिय राख्न सकेका छन्।
अन्य कविता सङ्ग्रहमा निकै जटिल बिम्ब र प्रतीक प्रयोग गर्ने कवि बेलवासे ‘चोटहरूको उत्सव’ सम्म आइपुग्दा सरल बिम्बमा खेल्दै गहिरो भावमा डुबेका छन्। ‘चोटहरूको उत्सव’ भित्रका कविताहरूले नारी शक्तिको आराधना गरेका छन् र नारीप्रति उच्च सम्मान प्रकट गरेका छन्। कविको दाबी छ— नारी नभए संसार निकै कमजोर हुन्थ्यो; नारी छन् र त संसार सुन्दर छ।
प्रेम हर मानवको जीवनको अनिवार्य अनुभूति हो। जब प्रेम विपरीत पथमा हिँड्छ, तब मन-मस्तिष्कमा उत्पन्न हुने परिणाम र जीवनमा बेहोर्नुपरेका चोटहरूबारे कवितामा गहन भाव आएको छ। कवितामा प्रेमको दार्शनिक चिन्तन, समाजशास्त्रीय स्वरूपका साथसाथै मानवीय मान्यताहरू विभिन्न धारबाट आएका छन्। त्यसैगरी, प्रेममा गरिने जीवन-समर्पणलाई नयाँ शिराबाट आशा, उत्साह र उमङ्गका रूपमा उच्च प्रकारले देखाइएको छ। कविता पढ्दै जाँदा लाग्छ, मानव समाजले आजसम्म मायाप्रेमका नाममा भोगेका पीडाहरू यी कवितामा छन्। यति मात्र होइन, ती पीडाकै जगमा मानव सभ्यता कसरी पटक-पटक चोट, सङ्घर्ष र पीडाका बीच लडिबुडी गर्दै यहाँसम्म आइपुग्यो भन्ने कुरा पनि कवितामा प्रस्ट छ। त्यसैका आधारमा भन्न सकिन्छ, “बेलवासेका कविता जीवन जिउन सिकाउने कविता हुन्।”
मानव जीवनमा प्रेमको आवश्यकता र सत्यतालाई मिहिन तवरले बुनिएको छ। दुःख, कष्ट र पीडामा बाँच्न सिकाउने प्रेमले जीवनको सम्पूर्ण पक्ष बोकेको छ भन्ने कविताको महत्त्वपूर्ण पक्ष हो। कवितामा नारीशक्ति अर्थात् मातृशक्तिप्रति प्रेमका माध्यमबाट ठूलो सम्मान भाव प्रकट गरिएको छ। यसका आधारमा कवि बेलवासेले दैनिक जीवनमा सबैप्रति जुन आदरभाव प्रकट गर्छन्, उनको त्यही वास्तविक हृदय कवितामा पोखिएको छ।
यस सङ्ग्रहमा रहेका अधिकांश कविता सुरुमा राजमार्गमा कुदेजस्तो, मूल बाटोमा दौडिएजस्तो वा निरन्तर बगेजस्तो लाग्छन्; अझ भनौँ, सुन्दर सपना देखेजस्तो प्रतीत हुन्छ। तर, पढ्दै जाँदा कविताको अन्त्यतिर एक्कासि विपरीत खालको परिवर्तन पाइन्छ। खुसीको सुरुवात अन्त्यमा दुःखमा परिणत हुन्छ। पाठकहरू प्रत्येक कवितामा नयाँ अनुभूतिसहित अगाडि बढ्छन् र कविताको अन्त्यमा आफूले कल्पना गरेभन्दा फरक, उपन्यासमा जस्तै समापन पाउँछन्। यो कविको विशिष्ट क्षमता हो भन्न सकिन्छ।
प्रेमिकालाई दुःखमा बाँच्ने आधार ‘तिम्रो व्यवहार’ भनिएको छ। दुःखलाई सम्झना र दुःखदायीलाई सम्मान कवितामा प्रशस्तै पाइन्छ। सङ्ग्रहमा प्रेम र दुःखका बहुरूपी र बहुमुखी कविताहरू छन्। कवितामा संवाद छ, कथा पनि छ। बहुसङ्ख्यक कवितामा प्रेमको पीडा भए पनि खुसीको उपस्थिति अत्यधिक छ। अतुलनीय प्रेमीलाई संसारका सबै चिज वस्तु र प्राकृतिक गतिविधिभन्दा निकै माथि राखेर लेखिएको कविता ‘तिमी अर्थात् तिमी’मा कवि यसरी पोखिन्छन्:
तिमीसँग
वसन्तको तुलना हुनै सक्दैन।
एउटी प्रेमीकामा कति धेरै शक्ति हुन्छ? तपाईं कल्पना गर्नुहोस् र तपाईंको कल्पना कवि बेलवासेसँग मिल्छ कि मिल्दैन, जाँच्नुहोस्। उनले प्रेमिकामा भएको शक्तिलाई संसारको सबैभन्दा ठूलो शक्ति मानेर ‘सौन्दर्य शक्ति’ शीर्षकमा यसरी व्यक्त गरेका छन्:
गुलाब रातो बन्न
तिमीले चुम्नुपर्छ
जून चहकिलो बन्न
तिमी हाँस्नुपर्छ। (पृ. २८)
संसारमा माया मात्रै पनि छैन, पीडा मात्रै पनि छैन। संसारमा मायाप्रेम भएपछि सबै पीडाहरू फिक्का लाग्छन्। मायाबाटै सुन्दर संसार बन्छ भन्ने सत्यमा कवि अडिग छन्। उनले मायाका कारण ओझेलमा परेका धेरै पीडाहरूलाई कवितामा प्रस्तुत गरेका छन्। एउटा कवितामा उनी यसरी पोखिन्छन्:
म सम्झन्छु
मायाको तागत कस्तो हुँदोरहेछ
कसरी हार्दा रहेछन् पीडाहरू। (पृ. ३६)
अचानक आउने भूकम्पीय परिवर्तनले खुसीलाई दुःखमा परिणत गर्दा कति धेरै पीडाको सगरमाथा बोकेर हिँड्नुपर्छ, त्यो पीडितलाई मात्र थाहा हुन्छ। तर, कविले पीडितको पीडामाथि नुनचुक छर्कने होइन, बरु पीडाको यथार्थलाई ‘चोटहरूमा’ शीर्षकबाट साहित्यिक पाठकसमक्ष यसरी राखेका छन्:
पहिलो नै तिमी हौ
मैले आँखा जुधाएर हाँसेको
तिमी नै त पहिलो हौ
मैले मनमुटुका पत्रपत्र खोलेर बोलेको
यति बेला तिमी नै त पहिलो हौ
चोटहरूमा असह्य दुखेको ! (पृ. ४१)
कविले कवितामा अत्यन्त विशाल मनले जति नै धेरै चोट सहे पनि हाम्रो मौलिक परम्परा ‘अतिथि देवो भवः’ बाट विचलित हुनुहुँदैन भनेका छन्। त्यसैगरी, प्रेम लिखित कानुनभन्दा पनि माथि हुनुपर्छ भन्ने आशय कवितामा छ। एक पटक प्रेममा गरिएका वाचा र जिन्दगीको आशामा गरिएको मौखिक करार एकपक्षीय रूपमा भङ्ग भए पनि असल प्रेमी पीडामाथि हर कदम मलम लगाउन तयार हुनुपर्छ भन्ने विचार उनले दिएका छन्। प्रेमका नाममा एकपक्षीय करारको दायित्व लिन प्रेमी तयार हुनुपर्छ भन्ने उच्च चेत कवितामा पाइन्छ। तत्कालीन प्रिय ‘तिमी’ले बाटो परिवर्तन गरे पनि म सदैव तिम्रो विगत सुरक्षित राखी तिमीसँगै छु भनेर कवि यसरी भन्छन्:
यात्राको कुनै कुइनेटोमा पुगेर
थाकेछौ भने
आफूलाई रित्तो भेटिछौ भने
विगतलाई सम्झनू
तिम्रा सम्पूर्णता
मैले
सुरक्षित राखेको हुनेछु। (पृ. ५८)
कविताहरू प्रेममा भएको अथाह शक्तिमाथि निकै केन्द्रित छन्। प्रेमबाट विश्व चलाउन, बचाउन र नचाउन सकिन्छ भन्ने जीवनोपयोगी सूत्र कवितामा पढ्न सकिन्छ। मनपर्ने मान्छे वा प्रेमीले जे गरे पनि त्यो न्यायिक लाग्छ; हरेक गतिविधि विशेष र विशिष्ट लाग्छ। प्रेमका नाममा जे हुन्छ, राम्रैका लागि हुन्छ भन्ने सन्देश कवितामा छ।
प्रेममा आपसमा दिइने जीवनोपयोगी उपदेश पनि कवितामा सूत्रबद्ध छन्। कवि भन्छन्— वर्तमान मानव समाजमा सबैभन्दा धेरै बच्नु र जोगिनुपर्ने अरू कोहीसँग नभएर मानिससँगै हो। समकालीन समाजमा व्यक्तिगत स्वार्थमा केन्द्रित भई साथीसँगीलाई भर्याङ बनाउने दैनिकी देखेरै होला, सायद कविले ‘अर्को एउटा पत्र’मा लेखेका छन्:
“मान्छेबाट जोगिनुपर्छ
विपत्ति आफैँ हार्छन्”
तिमीले यसो भनेकै दिन
विश्वासको पहिरो देखेको थिएँ
मान्छेमा
सम्बन्धको बाढी देखेको थिएँ। (पृ. ८१)
भनिन्छ, प्रेम शिलापत्रमा लेखिएजस्तो युगौँयुग अमर हुन्छ। प्रेममा गरिएका वाचा, बन्धन र गतिविधि पनि युगौँयुग जीवित रहन्छन्। ती क्रियाकलापहरू प्रेममा फुल्दै-फल्दै गए भने प्रेमले युग रच्न सक्छ। तर, त्यो नभएर प्रेमका जरामा नुनिलो आँसु परेपछि जीवन दुख्छ। यो दुखाइलाई पनि प्राकृतिक नियम सम्झेर कवि खुसी नै छन्। उनी ठाउँठाउँमा भन्छन्— दिनरात र घामछायाँ भएरै सृष्टि चलेको छ भने हामी किन दुःख मनाउने? जीवनमा विगतको प्रेम कविता बनेर यसरी आउँछ:
तिमीलाई पनि यस्तै लागेको त छैन?
कुनै पेसेवर हत्याराजस्तो
तिम्रो सम्झनाले
न मलाई मार्न सक्यो
न जीवित रहन दियो
कतै मेरो सम्झनाले पनि
तिमीलाई यसै गरी सताएको त छैन?
सम्बन्ध भुल्न सजिलै सकिँदो रहेछ
सम्झना टुटाउन मृत्यु नै पर्खनुपर्ने रहेछ
कतै तिमीलाई पनि यस्तै लागेको त छैन? (पृ. ८९)
कविताहरू अत्यन्त सुन्दर, पठनीय र उच्चकोटीका छन्। समग्र मानव समाजको दैनिक जीवनलाई केस्राकेस्रा केलाएर लेखिएका कविता प्रशस्तै छन्। माया थियो र पो हँसायो, अनि माया थियो र पो रुवायो। जसरी सूर्यास्त हुन्छ, त्यसरी नै माया अस्ताएपछि त मैले पीडाको अनुभव गर्न सकें। तिमी छुटे पनि तिमीसँगको स्मृति सदा जीवित छ प्रिय! कविले कवितामा प्रेमिकाका नामबाट अनेकौँ पीडा र एक्लो यात्रा गर्नुपरे पनि कतै ‘धोकेबाज’, ‘बेइमान’ जस्ता शब्द प्रयोग गरेका छैनन्। यी कविताबाट हामीले जीवनमा कसैप्रति नकारात्मक नभई वर्तमान परिस्थितिमा सकारात्मक भएर जिउन सिक्न सक्छौँ। आलोचना, घृणा, तिरस्कार र बहिष्कारमा कुदिरहेको समाजलाई कविले कविताका माध्यमबाट अत्यन्तै सुन्दर सन्देश दिएका छन्। यो नै ‘चोटहरूको उत्सव’को सबैभन्दा ठूलो उत्सव हो।
कवितामा हर परिस्थितिमा हरेक मायालुलाई सम्मान गर्दै चोटहरूसँगै आफू जिउनुको औचित्य हँसमुखका साथ प्रस्तुत गरिएको छ। प्राकृतिक नियमअनुसार चलिरहने सुखदुःख, दिनरात, साँझ-बिहानजस्तै प्रिय ‘तिमी’ फर्क, म स्वागत गर्न तयार छु भन्ने भाव कविताहरूले बोकेका छन्। कविता पढ्दा लाग्छ, मानव शरीरमा जति अस्थिपञ्जर छन्, कविका कवितामा त्यति नै पीडा छन्, तर पनि शरीरले धन्य धानेको छ! मनमा एउटा ऊर्जा आउँछ— हर समय माया, प्रेम, आशा, उत्साह र सकारात्मक चिन्तन लियो भने सबै पीडा भुइँमै रहन्छन्, उठ्न सक्दैनन्। कविले सायद ‘चोटहरूको उत्सव’बाट मानव समाजलाई यही भन्न खोजेका हुन्।
कृतिमा ११ वर्षअघि लेखिएको वरिष्ठ कवि तुलसी दिवसको मुख्य मन्तव्य रहेको छ, जसमा उनले ठाकुरलाई समकालीन नेपाली कवितामा एक अब्बल कविका रूपमा प्रस्तुत गरेका छन्। यस्तै, अर्का वरिष्ठ कवि दिनेश अधिकारीले ठाकुरको काव्यकलाको निकै प्रशंसा गरेका छन्।
ठाकुरले आफ्नो लेखकीय मन्तव्यमा कविताका केही दाबीसहित ‘चोटहरूको उत्सव’ कविता कृति प्रकाशनको कथा लेखेका छन्। उनले समकालीन कवि छविरमण सिलवालका बारेमा लेखेका कुरा निकै रोचक लाग्छन्।
सुनकोसी वाङ्मय प्रतिष्ठान, काभ्रेपलाञ्चोकले प्रकाशन गरेको कविता सङ्ग्रह ‘चोटहरूको उत्सव’मा प्रेमका जम्मा ३८ कविता छन्, जुन मानवीय जीवनका विविध पाटाहरूमा केन्द्रित छन्। कविता पढिसकेपछि मलाई लाग्यो, कविले भूमिकामा यो लेख्न छुटाएछन्—
“कसैको जीवनसँग हुबहु मिलेमा कानुनी उपचारका लागि कविलाई दोषी करार गर्न पाइने छैन।”
कविको कविता लेखनको कर्मले निरन्तर सगरमाथा चुमिरहोस्, शुभकामना!
मल्लरानी-३, प्यूठान, हालः काठमाडौँ
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।