हरिश कल्पित
पत्रकार एवं लेखक श्री राजेश खनालजीको नवीनतम कृति ‘घुरको धुवाँ’ पढेर सकें। लेखकले आफ्ना अतीतमा भएका रमाइला घटनाहरूलाई इमानदारीपूर्वक संस्मरणको मालामा उन्नुभएको रहेछ। यो संस्मरण-संग्रह जम्मा १८ वटा शीर्षकमा विभाजित रहेछ। लेखकले आफ्नो बाल्यकालदेखि किशोरावस्था (टिनएज) अर्थात् १३-१४ वर्षसम्म बिताएका अतीतका रोचक सन्दर्भहरू समावेश गर्नुभएको रहेछ। पहिलो संस्मरण ‘डिबियाको उज्यालोमा’ शीर्षकबाट सुरु भएर अन्तिम संस्मरण ‘कुर्थीको दालको बास्ना र साइँलामामा’ मा गएर टुङ्गिन्छ।
१४० पृष्ठको यो कृति साँच्चै नै सुरु गरेपछि नसकुन्जेल छोड्न मनै लाग्दैन।
‘घुरको धुवाँ’ शीर्षकको स्मरणात्मक निबन्ध मैले पत्रिकामा आउँदा नै पढेको थिएँ। मलाई खुबै राम्रो लागेको थियो। मधेसका बारेमा अनभिज्ञ म जस्ता काठमाडौँवासीलाई ‘घुरको धुवाँ’ले मधेसको जनजीवन कस्तो होला भनेर कल्पना गर्न बाध्य बनाउँछ। म स्वयम् पनि संस्मरण पढ्दै गर्दा अतीतको पोखरीमा डुब्न पुगें।
म काठमाडौँको ठमेलमा जन्मे-हुर्केर बढेको मान्छे। जतिबेला १०-१२ वर्षको थिएँ, हामी पनि साथीभाइहरूसँग लुकामारी, तेलकासा, गुच्चा, चङ्गा उडाउने र अझ चुरोटका बट्टा जम्मा पारेरसम्म खेल्थ्यौँ। चङ्गा लुट्न धानबारी-धानबारी दौडेको कुरा त अहिले कथा जस्तै लाग्छ। मङ्सिर महिनामा धान काटेपछिको खेत हामी केटाकेटीका लागि खेल्ने मैदान बन्न पुग्थ्यो। फुटबल, भलिबल, तेलकासा, गुच्चा हामी त्यहीँ खेल्थ्यौँ। अनि साँझ परेपछि वरिपरिका झ्याङझुस खोजेर जम्मा पारी आगो बालेर ताप्ने गर्थ्यौं। अनेक किस्सा-कहानीहरू सुन्थ्यौँ, सुनाउँथ्यौँ। हाम्रो पनि साथीहरूको ग्रुप नै थियो। कहिले झगडा गर्थ्यौं, कहिले मिल्थ्यौँ। लेखकको ‘घुरको धुवाँ’ जस्तै हाम्रो पनि गजबको जमघट हुन्थ्यो प्रायजसो।
अहिले ठमेलमा धान रोप्ने खेतहरू थियो भन्दा अचम्मै लाग्छ। कंक्रिटको सहर पो बनेको छ अहिले। यो त भयो, ‘घुरको धुवाँ’ पढेपछि मैले आफ्नो बाल्यकाल सम्झेको कुरा। जब मैले ‘बुकाहोलिक’मा, बुकाहोलिकका संस्थापक श्री सगुना शाहजीको ‘घुरको धुवाँ’ कृतिको पठनानुभूति पढें, खुब रमाइलो लाग्यो। दुई-चार प्रसङ्गले त हाँसो नै फुत्काइदियो। तब मलाई ‘घुरको धुवाँ’ पढ्ने इच्छा जाग्यो। तुरुन्तै लेखक राजेशजीलाई कल गरेर सोधें, “कहाँ पाइन्छ?” अनि रत्न पुस्तक भण्डार गएर खरिद गरेर पनि ल्याएँ।
मलाई कुनै कृति पढ्ने उत्कण्ठा भएमा जताबाट भए पनि खोजेर पढिहाल्छु। तर मेरो परिवारलाई भेट्न जापान आउनु केही दिनअगाडि किनेको भएर नेपालमा पढ्नचाहिँ अलि मौका जुरेन। त्यसैले किताब पनि बोकेरै लिएर आएँ मसँगै जापान। साँच्चै नै यो कृतिले मलाई मधेसका बारेमा धेरै कुरा बुझ्ने अवसर दियो। मधेसको जनजीवन नदेखेको म जस्तो मान्छेलाई यो पुस्तकले मधेसको कला, संस्कृति, रहनसहन लगायत यावत् कुराहरू छर्लङ्ग पारिदियो। यस कृतिभित्रका संस्मरणहरूका शीर्षकहरू पनि गजबका मौलिक छन्। संस्मरणहरू रोचक हुँदाहुँदै पनि मार्मिकता झल्किएको छ। लेखक राजेश खनालजी आफ्ना संस्मरणहरू यसरी पोख्नुहुन्छ कि पाठकहरू मजाले डुब्न सक्छन्।
“एक वर्ष रामलीलामा रमाइलो घटना भयो। त्यो रोचक प्रसङ्ग सम्झिएर कम्लु मामा हाँसे। रावणको दृश्य थियो। मञ्चमा राम र रावणको घमासान युद्ध हुँदै थियो। रामको पिठ्युँमा झुण्ड्याइएको बाण राख्ने तरकसमा बाण नसकिँदै रावण मञ्चमा ढल्नुपर्ने थियो। तर बाण सकिँदा पनि रावण ढलेनन्। निकै बेरपछि रामलीला कम्पनीका निर्देशकले कुनामा गएर रावणलाई ढल्न आग्रह गरे। अनि रावणले भनेछन्-
‘दुई गो महिना स तलब नै मिलल है। पहिले तलब दु तबै मरबैँ।’
(दुई महिनादेखि तलब पाएको छैन। पहिले तलब देऊ अनि मात्र मर्छु)”(सीता बिँडी खाइरहेकी छिन्, पृष्ठ ३०)
यो प्रसङ्ग पढ्दापढ्दै मलाई पनि खुबै हाँसो उठ्यो। हाँस्दाहाँस्दै मनन गर्न पुगें, त्यो वाक्यभित्र कति गहिरो पीडा लुकेको रहेछ भन्ने कुरा। दुई महिनादेखि तलब नै नदिईकन काममा लगाइरहेको रहेछ। सायद त्यो कलाकारले पैसा मागिरहे तापनि अनेक बहानामा झुलाइरहेको हुन सक्छ अथवा नाट्य कम्पनीमा पैसाको अभावले दिन नसकेको हुन सक्छ। किनकि सित्तैमा देखाइने नाटकले कसरी पैसा आर्जन गरोस्! त्यसैले अति भएपछि नाटक मञ्चन हुँदै गर्दा अड्को थाप्नुले कलाकारको आर्थिक स्थिति कति कमजोर रहेछ भन्ने कुरा दर्शाउँछ। यो प्रसङ्ग त मलाई साँच्चिकै मार्मिक लाग्यो। हाँस्यरसभित्रको वेदना भन्दा उचित होला।
यस्तै अर्को एउटा प्रसङ्गले त मलाई एकदमै हँसायो:
“त्यो चिसो रातमा रामलीला हेर्दाहेर्दै कम्लु मामालाई पिसाबले च्याप्यो। १२-१५ वर्षका उनी मञ्चको पछाडितिर पिसाब फेर्न गए। त्यहाँ उनले जुन दृश्य देखे, त्यसले उनको दिमाग रन्थनियो। हतार-हतार पिसाब फेरेर भिडमा फर्केर आमालाई सुनाए, ‘आमा! आमा! पछाडि सीता भगवान् त बिँडी खाइरहेकी छिन्।’
आमा हाँसिन्! आमासँगै बसेकी काकीआमा, दुलहीआमा, माइलीआमा, काकीहरू सबै हाँसे।”(सीता बिँडी खाइरहेकी छिन्, पृष्ठ २७)
म पाठक पनि मज्जाले हाँसें। यस्ता प्रसङ्गहरू धेरै छन् ‘घुरको धुवाँ’ भित्र। राजेशजीको लेख्ने शैली गजबको रोचक छ। पढ्दापढ्दै आफू पनि मधेसमै भएको जस्तो भान हुने!
“यसरी दरबज्जा-दरबज्जा गएर तापेको घुरको धुवाँले हानेर आँखा मिच्दै मनग्गे आँसु, र्याल र सिँगान बगाएँ। घर-घरमा पराल र गुइँठा छोएर कालो भएको हात आँखादेखि अनुहारसम्म दलें। अनुहार कालो न कालो बनाउँदै तर घुरको तातोले ज्यान सेकाउन छाडिनँ। बडेमानको घुरमा बलेको आगोको तापले ज्यान मज्जाले तात्थ्यो, भलै पछिल्तिर चिसोले सेकोस्।”
(घुरको धुवाँ, पृष्ठ ५७)
घुरको आगो तापेर जाडोबाट बच्ने मधेसवासीको चलन रहेछ। जाडोमा पनि अति जाडो हुने मधेसमा घुरको आगोको तापले केही राहत दिँदो रहेछ भन्ने कुरा कृति पढेपछि अवगत भयो। साँझपख-राति सबै जम्मा भएर कुराकानी गर्ने, गफ लडाउने थलो भनेर भन्दा पनि हुने रहेछ।
लेखकले ‘घुरको धुवाँ’ कृतिमा आफ्ना संस्मरणमार्फत मधेसको कला, संस्कृति, रहनसहनको गजबले चित्रण गर्नुभएको छ। रामलीला नाटकमा आफूले पनि महिला पात्रको भूमिका निर्वाह गरेको प्रसङ्गले पनि पाठकलाई भरपुर मनोरञ्जन दिन्छ। लेखक एउटा कलाकार पनि हुनुहुँदो रहेछ भन्ने कुरा पनि थाहा भयो। लेखकको मामाघर भालुवाहीप्रतिको आसक्ति; त्यसबेलाका प्रसिद्ध डाक्टर अञ्जनीकुमार शर्मा, जो लेखकका आफ्नै मामा हुनुहुँदो रहेछ, र उहाँले आफ्नो गाउँ भालुवाहीमा गर्नुभएको समाजसेवाले त साँच्चिकै पाठकको हृदय नै छुन्छ। मैले पनि एकदमै सुनेको नाम हो, त्यसबेला काठमाडौँमा डाक्टर अञ्जनीकुमार खुबै प्रख्यात हुनुहुन्थ्यो। कसैलाई केही भयो कि डाक्टर अञ्जनीकुमारलाई देखाउनुपर्छ भन्थे। तर डाक्टर अञ्जनीकुमार यति दयालु र सरल हृदयको हुनुहुँदो रहेछ भन्ने कुरा यो कृति पढेपछि थाहा भयो। आफूलाई क्यान्सर जस्तो डरलाग्दो रोग लाग्दालाग्दै पनि बिरामीको सेवामा तत्पर रहने महान् हृदयको व्यक्तित्व हुनुहुँदो रहेछ।
“त्यतिबेला नै हो, नेपाली उपन्यासकारहरू युधिर थापा, शरद निरौला, प्रकाश कोविदका उपन्यासहरू पढेको। तर रन्को हिन्दी उपन्यासकै थियो。
हिन्दी उपन्यासको खपत पनि पुस्तकालयमा धुवाँधार हुन्थ्यो। कुनै-कुनै किताब त हारालुछ नै हुन्थ्यो। पहिले कसले पढ्ने भनेर फर्स्ट शो सिनेमा हेर्न टिकटको लाइनमा बसे जस्तो उपन्यास पढ्ने लाइनमा बसेको हुन्थें म। खास गरी कर्नल रन्जित, ओमप्रकाश शर्मा, इब्ने सफीका जासुसी उपन्यास; रानु, मनोज, गुल्सन नन्दाका सामाजिक उपन्यास; अनि कुशवाहा कान्तका तिलस्मी औपन्यासिक कृतिले कुनै कडा चुम्बकले झैं तानेका थिए।”(डिबियाको उज्यालोमा, पृष्ठ २२)
यो प्रसङ्गले त लेखकको पढ्ने बानी गजबको रहेछ भन्ने थाहा भयो। अनि म आफू पनि अतीतमा पुगें। मलाई पनि स्कुल पढ्दाताका युधीर थापा, रानु, गुल्सन नन्दा, मनोज, कर्नल रन्जितका उपन्यासहरूले मोहित पारेका थिए। घरमा गाली गर्नुहुन्छ भनेर कोर्सको किताबको बीचमा राखेर कति उपन्यासहरू मैले पनि पढेर सकेको थिएँ। किनभने त्यो बेलामा उपन्यास पढ्नु, चलचित्र हेर्नु भनेको बिग्रिने माध्यम हो भन्ने अभिभावकको धारणा थियो। त्यसैले लुकीलुकी पढ्नुपर्थ्यो उपन्यासहरू पनि। त्यो बेलामा मनोरञ्जनको साधनका नाउँमा पुस्तक पढ्नुबाहेक अरू विकल्प धेरै कम थिए। आजको जस्तो मोबाइल युग अर्थात् घोप्टेयुगले समाज जकडिएको थिएन।
यो कृति ‘घुरको धुवाँ’मा पाठकलाई गजबले रम्न लगाउने शक्ति छ। हरेक शीर्षकको संस्मरणले पाठकलाई चुम्बकले झैं तान्छ। लेखकलाई फिल्मप्रतिको चाख, त्यो बेलाको ‘शोले’ फिल्मको जगजगी इत्यादि कुराहरू रोचक शैलीमा लेख्न सक्नु नै लेखकको सफलताको कसी हो भन्ने लाग्छ मलाई। मधेसको कला, संस्कृति, सामाजिक परिवेश, आरोह-अवरोहलाई यति मिहिन तरिकाले आफ्नो संस्मरणमा पोख्नुभएको छ कि पाठकलाई पढ्दा कतै पनि झिझो लाग्दैन। कृतिले मधेसको विचरण गराउन सफल भएको छ। बरु कताकतै मधेसमा बोलिने कुनै-कुनै शब्दहरू अलि बुझ्नचाहिँ गाह्रो भयो।
“गमडीको भात, कुर्थीको दाल र बारी-झाडीमा फलेका तरकारी थालभरि फैलिएका थिए। हामी सबै खान थाल्यौं। त्यसबेला साइँला मामाले मलाई हेरेर भन्नुभयो, ‘नाति केटोलाई कुर्थीको दाल मीठो लाग्छ?’”
(कुर्थीको दालको बास्ना र साइँला मामा, पृष्ठ १३५)
मलाई यो प्रसङ्ग पढ्दा अचम्म लागेको थियो, के होला गमडीको भात र कुर्थीको दाल भनेको? पछि पढ्दै गएपछि चाहिँ मधेसमा गहतको दाललाई ‘कुर्थीको दाल’ भनिँदो रहेछ। तर ‘गमडीको भात’ भनेको चाहिँ बुझिएन। अरू पनि त्यस्ता केही शब्दहरू छन् जो मधेसमा बोलिचालीमा प्रयोग हुने भाषाका होलान्, बुझ्न गाह्रो छ। बरु तलपट्टि फुटनोटमा यिनका अर्थहरू राखिदिनुभएको भए पाठकलाई बुझ्न सजिलो हुन्थ्यो कि भन्ने लाग्यो मलाई। जे होस्, अब नबुझेका शब्दहरूचाहिँ कहिले कतै लेखक राजेश खनालजीसँग भेट हुँदा सोध्नुपर्ला भनेर थाती राखें।
लेखक राजेश खनालजीलाई यति उत्कृष्ट कृतिका लागि धेरै-धेरै धन्यवाद एवं बधाई छ। यसरी म जस्ता मधेस नबुझेका पाठकलाई मधेस बुझाउने दस्तावेज नै लिएर आउनुभएकोमा हार्दिक आभार व्यक्त गर्दछु।
अर्को कुरा, म अहिले जापानको टोकियोमा छु। यदि यहाँ हुनुभएका कोही साहित्य अनुरागी पाठकहरू हुनुहुन्छ र यो कृति पढ्न इच्छुक हुनुहुन्छ भने म दिन तयार छु। किनभने राम्रा कृतिहरू सबैले पढ्नुपर्छ जस्तो लाग्छ मलाई। यति भन्दै मेरो यो पाठकीय अनुभूति यहीँ समाप्त गर्छु।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।