लीलाराज दाहाल
अकस्मात् राधाको रुवाइ सुनेर मानिसहरू वरिपरि झुम्मिए। छिमेकीहरूसँग गुहार मागेर उनी घरतिर लागिन्। उनका पति र सासु घरको आँगनमा उभिएका थिए।
“तपाईंहरू कसले बोलाएर आउनुभएको? जानुहोस् सबै जना!” सासुले छिमेकीहरूलाई खाउँलाझैँ गरेर आँखा तरिन्।
“बुहारीलाई यसरी यातना दिन पाइन्छ? बुहारी पनि छोरी जस्तै होइनन्? मान्छे त आमा-छोरा नै पढेलेखेका हुनुहुन्छ त!” छेउमा उभिएका रामप्रसादले राधाको पक्षमा पैरवी गरे।
“यसलाई अब यो घरमा एक-दुई-तीन बस्नै दिन्नँ। जागिर गर्न जानु त यसको घरबाहिर निस्कने बहाना मात्रै हो!” सासु कुर्लिरहेकी थिइन्। राधाका पति अजय पनि आमाकै पक्षमा ढल्किएका थिए।
“मैले कुनै गल्ती गरेकी छैन। पहिले ‘अप्सरा-जस्ती’ बुहारी भने, अहिले मेरा माइती गरिब रे! स्तर मिलेन रे! मलाई अंश दिलाइदिनुहोस्! म यी क्रूर सासु र बेकामे पतिसँग जीवन बिताउन सक्दिनँ। मलाई यिनीहरूले जिउँदै मार्नेछन्!” उनको आँसु थामिएको थिएन।
यत्तिकैमा सासुले उनको कपाल लुछेर उनलाई भुइँमा पछारिन्। पति अजय पनि श्रीमतीविरुद्ध खनिए! छिमेकीहरूले प्रहरी बोलाए!
प्रहरीले राधाको कुरा सुनेर दुवै पक्षलाई छलफलका लागि नगरपालिकामा लैजान खोज्यो।
सासुको अनुहारमा भने अझै क्रोधको आगो बल्दै थियो, “नगरपालिकामा जाँदा मेरो इज्जत जाँदैन? म नारी उत्थान केन्द्रकी अध्यक्ष हुँ!”
बागमती–११, कर्मैया, सर्लाही


