लीलाराज दाहाल
अकस्मात् राधाको रुवाइ सुनेर मानिसहरू वरिपरि झुम्मिए। छिमेकीहरूसँग गुहार मागेर उनी घरतिर लागिन्। उनका पति र सासु घरको आँगनमा उभिएका थिए।
“तपाईंहरू कसले बोलाएर आउनुभएको? जानुहोस् सबै जना!” सासुले छिमेकीहरूलाई खाउँलाझैँ गरेर आँखा तरिन्।
“बुहारीलाई यसरी यातना दिन पाइन्छ? बुहारी पनि छोरी जस्तै होइनन्? मान्छे त आमा-छोरा नै पढेलेखेका हुनुहुन्छ त!” छेउमा उभिएका रामप्रसादले राधाको पक्षमा पैरवी गरे।
“यसलाई अब यो घरमा एक-दुई-तीन बस्नै दिन्नँ। जागिर गर्न जानु त यसको घरबाहिर निस्कने बहाना मात्रै हो!” सासु कुर्लिरहेकी थिइन्। राधाका पति अजय पनि आमाकै पक्षमा ढल्किएका थिए।
“मैले कुनै गल्ती गरेकी छैन। पहिले ‘अप्सरा-जस्ती’ बुहारी भने, अहिले मेरा माइती गरिब रे! स्तर मिलेन रे! मलाई अंश दिलाइदिनुहोस्! म यी क्रूर सासु र बेकामे पतिसँग जीवन बिताउन सक्दिनँ। मलाई यिनीहरूले जिउँदै मार्नेछन्!” उनको आँसु थामिएको थिएन।
यत्तिकैमा सासुले उनको कपाल लुछेर उनलाई भुइँमा पछारिन्। पति अजय पनि श्रीमतीविरुद्ध खनिए! छिमेकीहरूले प्रहरी बोलाए!
प्रहरीले राधाको कुरा सुनेर दुवै पक्षलाई छलफलका लागि नगरपालिकामा लैजान खोज्यो।
सासुको अनुहारमा भने अझै क्रोधको आगो बल्दै थियो, “नगरपालिकामा जाँदा मेरो इज्जत जाँदैन? म नारी उत्थान केन्द्रकी अध्यक्ष हुँ!”
बागमती–११, कर्मैया, सर्लाही
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।