ईश्वर पोखरेल
सज्जन थियो ऊ।
राजनीतिमा लागेर पनि नबिग्रिएका मानिसहरूको चर्चा गर्दा केही वर्षअघिसम्म मानिसहरू उसलाई छुटाउँदैनथे।
अघिल्लो चुनावमा सज्जनलाई जिताउनुपर्छ भनेर उसको पक्षमा सबै लागे।
उसको पार्टी सत्तामा गएपछि भने ऊ एक निश्चित खेमामा देखियो। उसको खेमा कहिले कता देखियो, कहिले कता। ऊ पनि खेमासँगसँगै नाँच्यो। सरकार र मन्त्रीहरूले गरेका गलत कामको पनि प्रतिरक्षा गर्नुपर्ने भूमिकामा उसलाई देख्दा हामी चुक्चुकाउँथ्यौँ पनि।
भेटघाटमा हामीले भन्थ्यौँ पनि— “दाइ, तपाईं कुन दिशामा कता जाँदै हुनुहुन्छ, ख्याल गर्नुभएको छ?”
ऊ हाँसिरहन्थ्यो मात्र।
पार्टी सरकारमा गएपछि कसकसले के जोडे? के के पाए? समाजमा त्यसको हिसाबकिताब हुँदै गर्ला।
ऊ मन्त्री भएन, लाभको अन्य पदमा पनि देखिएन।
अब टिप्पणी हुन थाल्यो— ‘आफ्ना मानिसहरूलाई सत्तामा देख्न उसले आफ्नो इमेज गुमायो।’
पछिल्लो चुनावमा ऊ सर्वस्व हारेको जुवाडेजस्तै देखा पर्यो।


