आदर्श पौडेल
“सामञ्जस्य, सामञ्जस्य र ऐक्यता स्थापित भएको राज्य !” उसको राज्यको बखान बाहिरी मान्छेले यसरी गर्थे । तर, साँच्चै उसको राज्यभित्र थियो त केवल मौनता ।
त्यो मौनताको अधिराज्यमा राजा जन्मनुअघिको इतिहास बोल्न पनि मनाही थियो ! आफ्नै मुखले आफैँ बोल्न पनि सक्दैनथे ती जनता । यहाँ बोल्नलाई पनि राजाकै अनुमति चाहिन्थ्यो । इतिहास लेखिन्थ्यो, तर राजाको गरिमाको मात्र । बच्चा सुताउन आमाले गाउने लोरीमा समेत दरबारीया छाप हुन्थ्यो । उसका बुबाचाहिँ लुकीछिपी रातिपख प्रतिबन्धित किताबहरू पढाउँथे ! धान भण्डारमा हाल्ने बेला आमाले असारे गीतहरू मनमनै गुनगुनाउँथिन् । बहिनीले घरको पूजाकोठाको भित्तामा पुराना कविता कोर्थी र दाजुले चर्किएका इँटामा सत्य कोर्थे ।
र ऊ ? ऊ केवल सुन्थ्यो ।
“हामी चिच्यायौँ, तिमी सुनेर पनि चुप बस्यौ ।”
ऊ सम्झन्छ— ती भारदारहरूका टल्किएका छालाका जुत्ता, उसको श्वासले धमिलिएका ती झ्यालका सिसा, त्यो ढोका जुन उसले कहिल्यै खोलेन । ऊ सम्झन्छ त्यो मौनता, जुन यी सारा घटनापछि आएको थियो । वर्षौँ बिते (वा सायद केही पल मात्र), ऊ अहिले फर्किएको सम्झन्छ !
ऊ सायद रक्षक बनेर फर्किएजस्तो प्रतीत हुन्थ्यो, तर वास्तवमा ऊ फर्किएको थियो— छटपटिएर— यो वर्षौँको मौनताबाट । ऊ पानीबाहिरको माछा भएको थियो । ऊ राजधानीमा बिस्तारै थुप्रै नामहरू फुसफुसाउँदै हिँड्यो । उसले झरीपख दरबारका लेखहरू भित्ताबाट मेटाउँदै हिँड्यो । दरबारको ढोकामा उसले एउटा आधा च्यातिएको कविता राखेर गयो !
र यसपालि उसलाई कसैले रोकेन !
न त्यो कविता कसैले पढ्यो नै !
अहिले तर खै के भएछ ! अहिले… अहिले…
ऊ हल्लिन सक्दैन, बोल्न सक्दैन,
सक्छ त केवल हेर्न मात्र ।
यो सब हुँदै गर्दा, एउटा सैनिकले बिस्तारै अर्काको कानमा फुसफुसाउँदै भन्यो,
“त्यसको आँखाले अझै हेरिरहेको छ ।”
एउटा फलामे किस्ती, किस्तीमा रगताम्य एउटा टाउको !!
उसको !!
अनि ऊ सम्झन्छ !
“तर म… तर म, यसरी फर्किएको ! के त्यो वास्तविकता थियो ? वा त्यो केवल मरिरहेको मस्तिष्कको अन्तिम झल्को मात्र थियो ?”
उसले त्यो ढोका कहिल्यै खोलेन !
ऊ कहिल्यै चिच्याउँदा पनि चिच्याएन !
उसले !!!!!!!
उसले !!!!!!!
कहिल्यै केही पनि बदलेन ।
उसले केवल हेरिरह्यो !!
इतिहास मेटिँदै गर्दा,
स्मृति फिक्का हुँदै जाँदा,
धान हालिसकेपछिको गीत हराउँदै जाँदा,
अन्तिम मेलामा गीत होइन, सन्नाटा बज्यो !
र अझै !!!
उसका आँखाहरूले… हेरिरहे ।
नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।