Close Menu
Hamro Katha GharHamro Katha Ghar
  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
पछिल्ला सम्प्रेषणहरु

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Facebook YouTube Instagram
Facebook X (Twitter) Instagram

  • होमपेज
  • काव्य
    • गजल
    • मुक्तक
    • गीत
    • गद्य कविता
    • छन्द कविता
  • आख्यान
    • उपन्यास
    • कथा
    • नाटक
    • लघुकथा
  • गैर आख्यान
    • निबन्ध
    • संस्मरण
    • नियात्रा
  • पुस्तक विशेष
    • पुस्तक वार्ता
    • पुस्तक समीक्षा
    • समालोचना
  • कथा घर विशेष
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
Home » Blog » लघुकथामा एक प्रयोग अङ्क: १३ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क: १३ | हाम्रो कथाघर

नन्दलाल आचार्यनन्दलाल आचार्यसाउन २५, २०८२492 Views
शेयर गर्नुस
Facebook Email WhatsApp Twitter Pinterest


नेपाली आख्यान, समालोचना र नाट्य विधामा सुपरिचित नन्दलाल आचार्यको जन्म उदयपुरको ठोक्सिला, जहडामा वि.सं. २०३० असार २८ गते भएको हो। स्नातकोत्तरसम्मको शैक्षिक योग्यता हासिल गरी शिक्षण पेसामा संलग्न रहँदा पनि उहाँले साहित्यमा आफ्नो एक विशिष्ट पहिचान बनाउनुभएको छ। साहित्यलाई जीवनधर्म मान्ने आचार्यले आफ्नो कलमलाई ‘लौरो’, मनलाई उपन्यास र संवेदनालाई ‘शल्यक्रिया’को विषय बनाउँदै सिर्जनात्मक यात्रालाई निरन्तरता दिनुभएको छ।

उहाँका प्रकाशित कृतिहरूले उहाँको बहुआयामिक साहित्यिक व्यक्तित्वलाई उजागर गर्छन्। ‘युग उचाल्ने अक्षरकर्मीको अवसान’ (नाट्यकृति), ‘गरूराहा’ (उपन्यास), ‘एकहाते जीवन’ (निबन्धसङ्ग्रह), ‘पुण्य कार्कीको कथाकारिता’ (समालोचनासङ्ग्रह), ‘लौरो’ (लघुकथासङ्ग्रह) र ‘शल्यक्रिया’ (कथासङ्ग्रह) जस्ता कृतिहरूले उहाँलाई बहुविधामा कलम चलाउने स्रष्टाको रूपमा स्थापित गरेका छन्। संवेदनशील दृष्टिकोणका साथ सामाजिक विषयवस्तुको कलात्मक उठान गर्नु उहाँको लेखनको प्रमुख विशेषता हो।

नेपाली साहित्यमा, विशेषगरी लघुकथा विधामा, ‘उत्तरकथा’ लेखनको प्रयोग थालनी गर्ने श्रेय आचार्यलाई नै जान्छ। विश्व साहित्यमा प्रचलित यस परम्परालाई नेपाली माटोमा मलजल गर्दै उहाँले एक नौलो आन्दोलनको प्रारम्भ गर्नुभएको छ।

यसै प्रयोगलाई निरन्तरता दिँदै उहाँले हाम्रो कथाघरको “लघुकथामा एक प्रयोग” स्तम्भ सञ्चालन गर्दै आउनुभएको छ। यस स्तम्भमा उहाँले प्रत्येक पटक तीन स्रष्टाका लघुकथा छनोट गरी तिनको विश्लेषणात्मक समीक्षा गर्नुका साथै तिनै कथामा आधारित उत्तरकथाहरू पनि सिर्जना गर्नुहुन्छ। यसरी उहाँले समीक्षा र सिर्जनालाई एकैसाथ अगाडि बढाउँदै नेपाली लघुकथामा एउटा नवीन र महत्वपूर्ण आयाम थप्नुभएको छ।

प्रस्तुत छ “लघुकथामा एक प्रयोग” को नयाँ श्रृङ्खला


१. गाईजात्रे लघुकथा: विवाह दर्ता

✒ आर. आर. चौलागाईं

जीवनकुमार सरकारी कर्मचारी । उमेर पैँतीस वर्ष । अधिकृत तहको जागिर । राम्रो तलब । तर घुस पटक्कै नखाने । कतै भनसुन नगर्ने । अफिसमा पनि ठीक दस बजे पुगेर ठीक पाँच बजे निस्कने । लप्पनछप्पन नगर्ने । दायाँबायाँ नलाग्ने । अति बफादार । अति इमान्दार । अरूलाई पनि यस्तै भन्ने र यस्तै-यस्तै सिकाउने । नीति, नियम र कानुनलाई अक्षरशः पालना गर्ने । विधिलाई ननाघ्ने ।

उसको घर शहरको बीचमा । सुखी परिवार । बाबुआमा पनि पढेलेखेका । ऊ सन्तानमा जेठोबाठो । बहिनी एउटी । कलेज पढ्दै गरेकी । बाबु पेन्सनवाला । आमा गृहिणी । बाबुआमालाई मात्र एउटा कुराको खाँचो: बुहारीको । जीवनकुमारलाई एक वर्षअगाडिदेखिकै बाबुआमाको कचकच । उसले पैँतीस नपुगी विवाह नगर्ने वाचा गर्दै आएको । यसपालि बल्ल उसले हुन्छ भन्ने सहमति दिएको ।

मंसिर महिनाको जाडो । जीवनकुमारको साधारण तरिकाले विवाह हुन्छ । साथीभाइ, छरछिमेक र परिवारको ब्यान्डबाजा बजाएर धूमधामसँग विवाह गर्नुपर्छ भन्ने सल्लाह र दबाबलाई नटेरीकन आफ्नै देशको मौलिक बाजा पञ्चे बाजा बजाएर विवाह गर्छ । होटलमा तामझाम गरेर भोज खुवाउँदैन । आफ्नै वनजङ्गलको पात टिपेर दुना टपरीमा खुवाउँछ । टाइसुट लगाउँदैन । दाइजो लिँदैन ।

साँझमा ऊ दुलही लिएर घर पुग्छ । दुलही भित्र्याउने रीति सकिएपछि खाना खाएर ऊ बेडरूममा पस्छ । सुहागरातको समय श्रीमती पलङमा बसेर उसलाई पर्खिरहेकी हुन्छे । ऊ श्रीमतीलाई पलङमा छोडेर आफ्नो लागि भुइँमा ओछ्यान लगाउँछ । श्रीमती विस्मित भएर सोध्छे– “यो के गर्नुभएको ? आज हाम्रो सुहागरात होइन ?”

“हामी अझै श्रीमान्-श्रीमती भएका छैनौँ । एउटा काम गर्न अझै बाँकी छ ।” ऊ श्रीमतीलाई भन्छ ।
श्रीमती प्रश्न गर्छे– “के काम गर्न बाँकी छ ?”

ऊ श्रीमतीलाई जवाफ दिन्छ– “विवाह दर्ता गर्न बाँकी छ । भोलि शनिबार । पर्सि आइतबार विवाह दर्ता गरेपछि हामी कानुनी रूपमा लोग्ने-स्वास्नी हुन्छौँ अनि ढुक्कले सँगै बसौँला ।”

यति भनेपछि ऊ भुसुक्क निदाउँछ र बेजोडले घुर्न थाल्छ । श्रीमती ट्वाल्ल परेर ऊ निदाएको हेरिरहन्छे ।
❀❀❀

❛समीक्षा❜

आर.आर. चौलागाईंको ‘विवाह दर्ता’को परिक्रमा

✒ नन्दलाल आचार्य

जीवन सरल छ, तर जीवनकुमार जटिल छ । ऊ नियमपालक होइन, नियमको पुजारी हो । लघुकथा सिधा छ, तर असर गहिरो छ ।

आर.आर. चौलागाईंको लघुकथाले ‘इमानदारी’ भन्ने शब्दलाई भुइँमा ओछ्याएको छ । तर त्यो ओछ्यान न न्यानो छ, न त मानवीय ।

जीवनकुमार नायक हो, तर परिहास गर्ने पात्र भने होइन । उसका हरेक बानी चिल्ला छैनन्, कडा छन् । अफिसमा समयमा पुग्छ, काम इमानदारीले गर्छ, विवाह पनि पञ्चे बाजा बजाएर मौलिक पाराले गरेको छ । पातको टपरीमा भोज खुवाउँछ । टाइसुट होइन, धोती लगाउँछ । दाइजो नलिने सन्देश दिन्छ ।

सबथोक सुन्दर लाग्न सक्छ । तर प्रेमको स्वाद भने जीवनकुमारले चाखेको लाग्दैन ।

श्रीमती पलङमा बसेकी हुन्छे । जीवनकुमार भुइँमा सुत्न तयार हुन्छ । कारण सोध्दा भन्छन्- “अझै विवाह दर्ता भएको छैन ।”

विवाहको रातमा यस्तो कानुनी उत्तर ? मन भक्कानो नफुटेर के फुटोस् त ?

लघुकथाले हँसाउँछ । घोच्छ पनि । फेरि भन्छ: हाम्रा समाजमा कतिपय ‘ठीक’ काम पनि असमयमा गरिँदा अनुचित लाग्न सक्छ ।

जीवनकुमार विधिको पक्का भक्त छ । तर त्यो भक्ति यति कडा छ, जहाँ प्रेम पनि नियमको दायराभित्र मात्र सास फेर्न सक्छ ।

यस लघुकथामा दुलही भित्रिन्छे, तर जीवनकुमारको मनको ढोका खुल्दैन । यो लघुकथा कानुनी सोचको मात्रै व्यङ्ग्य होइन । यो लघुकथा भावनाविहीन विवेकको कटु चित्र हो ।

लघुकथा सानो छ । वाक्य छोटा छन् । तर ती वाक्यले एउटा ठूलो पात्र बनाएका छन्: ‘जीवनकुमार’ ।

जीवनकुमार कहिल्यै झुक्दैन । ऊ नातालाई पनि चिठी-पत्रको ठप्पा लागेपछि मात्र सम्बन्ध मान्छ ।

लघुकथामा जब मनभन्दा प्रमाणपत्र भारी पर्छ, तब सुहागरात पनि शून्य लाग्छ । श्रीमती चुपचाप हेरेर बस्छे । उसको विस्मय लघुकथा भित्रको मौनताको झ्याल हो । तर त्यो झ्यालबाट पाठकले केही हेर्न खोज्छ: के प्रेम पनि पासवर्डले अनलक गर्नुपर्ने चिज हो ?

लघुकथाको अन्त्यमा समेत श्रीमती बोल्दिन । गुनासो गर्दिन । प्रतिवाद पनि गर्दिन । यही मौनता लघुकथाको बल पनि हो, कमजोरी पनि ।

हृदयले बाँधिएको सम्बन्ध बोल्छ, दस्तावेजमा बाँधिएको मौन हुन्छ । लघुकथामा विरोधाभासको मिठास छ । जीवनकुमार इमानदार छ, तर प्रेमप्रति निर्मम । ऊ नियमको अनुयायी छ, तर भावनाको विरोधी ।

लेखकको लेखनशैली सफा छ । लघुकथाको स्वरूपअनुरूप छोटा वाक्यहरू छन् । कुनै गह्रौँ शब्द छैन । तर गह्रौँ चोट छ ।

यस कथाले हँसाउँदै सोच्न लगाउँछ । पाठक ट्वाल्ल पर्छ । अनि भित्रभित्रै गुनासो गर्छ: ‘जीवनकुमार मान्छे इमानदार त हो, तर के ऊ जीवन जान्ने मान्छे हो ?’

सिरानी र सिरकको सम्बन्धभन्दा गहिरो हुन्छ मनको सङ्गत । लघुकथाले यही कुराको याद दिलाउँछ: नियमले जीवन चल्छ होला, तर प्रेम भने नियमले होइन, न्यानोपनले टिक्छ ।

आर.आर. चौलागाईंको यो लघुकथा सरल छ । तर किटिक्क टोक्छ । हाँसोको आवरणभित्र लुकेको एक गहिरो पीडा छ: भावनाले ठाउँ नपाउने समाजको सास्ती ।

लघुकथामा कानुनले घर बनाउँछ, तर मनले मात्र त्यो घरमा उज्यालो दिन सक्छ । यस्तो लघुकथा पढेपछि पाठक झस्कन्छ । अनि भन्छ: जीवनकुमार इमानदार त छ, तर उसँग जीवनको मिठास छैन ।

त्यही मिठास हराउनु नै यो लघुकथाको ओजन हो । नियमको घेराभित्र पनि जीवनको रस भने हराउनु हुँदैन ।
❀❀❀

❛उत्तरकथा❜

लघुकथा: मुचुल्का

✒ नन्दलाल आचार्य

“अब त सुहागरात मनाउन मिल्ला है ?” श्रीमतीले हातमा प्रमाणपत्र हल्लाउँदै सोधिन् । त्यसबेला उनीहरू आइतबार बिहान विवाह दर्ता गरेर घर फर्किएका थिए ।

जीवनकुमार मुस्कुरायो, “अब हामी कानुनी रूपमा पतिपत्नी भएका छौँ ।”
श्रीमतीले गम्भीर मुद्रामा भनिन्, “तर के कानुनले मात्र सम्बन्ध बाँधिन्छ त ?”

जीवनकुमार झसङ्ग भयो ।
श्रीमती अगाडि भनिरहिन्: “तपाईंले नियम मानेर मसँग छुट्टै सुत्नुभयो, म पनि अब नियम मानेर अलग सुत्छु । सम्बन्ध कानुनी कागजले होइन, समर्पणले बनिन्छ ।”

जीवनकुमार डरायो र द्विविधामा अल्झियो ।
श्रीमतीले आँखा झिम्क्याइन् र थपिन्: “अब म त तपाईंकी कानुनी श्रीमती मात्र होइन, मनकी पनि बन्छु तर कानुनभन्दा पहिला माया गरौँ, दर्ता होइन भरोसाको !”

जीवनकुमारले घुँडा टेकेर हात समात्दै भन्यो, “म माफी चाहन्छु: मैले मुचुल्का पढें तर भावना छुटाएँ ।”
❀❀❀


२. गाईजात्रे लघुकथा: साहित्यकार

✒ नीरज कोइराला

“अँ साथी, साहित्यकार बन्न के गर्नुपर्छ रे ?” ‘क’ ले सोध्यो ।
‘ख’ ले भन्यो, “धेरै रचना पढ्नुपर्छ, बुझ्नुपर्छ अनि लेख्नुपर्छ ।”
‘क’ ले हाँस्दै भन्यो, “ल, ड्याङ-ड्याङ लेख्नुपर्छ अनि भइहालिन्छ नि !”
‘ख’ ले थप्यो, “लेखेर मात्र कहाँ हुन्छ र ? पहिले हजार रचना पढ्ने, अनि सय रचना लेख्ने, पटक-पटक पढेर सम्पादन गर्ने, नब्बेवटा फ्याँक्ने, दस वटा राख्ने । फेरि तिनबाट एउटा मात्र छान्ने, सम्पादन गर्ने अनि पोस्ट गर्ने ।”
‘क’ ले जवाफ दियो, “तँ त्यस्तो गर्दै बसिराख । मैले त ड्याङ-ड्याङ लेखेर किताब छपाइसकेँ । सम्पादक र भूमिका लेख्नेमा वरिष्ठ साहित्यकार छन् । पर्सि स्टार होटलमा विमोचन छ । ल, निम्तो कार्ड !”
—०—
इटहरी
❀❀❀

❛समीक्षा❜

नीरज कोइरालाको ‘साहित्यकार’ सँगको जम्काभेट

✒ नन्दलाल आचार्य

नीरज कोइरालाको ‘साहित्यकार’ शीर्षकको गाईजात्रा विशेष लघुकथा एक चोटिलो र व्यङ्ग्यात्मक सिर्जना हो । यसले आजको साहित्यिक बजारको चलन, छाया साहित्यकारको बनोट र यथार्थको अपव्याख्यालाई ठाडो प्रश्न उठाएको छ । यस लघुकथाको सौन्दर्य तार्किक घोचपेचमा मात्र छैन, यसमा समकालीन साहित्यिक समाजको आत्मावलोकन गराउने गहिरो प्रयत्न छ ।

नीरज कोइराला समसामयिक विसङ्गतिमाथि व्यङ्ग्यको चस्माबाट कलम चलाउने सशक्त लघुकथाकार हुन् । उनको लेखनशैलीमा सरल संवादात्मक प्रवाह छ, तर त्यसको भित्री तहमा गहिरो आलोचनात्मक दृष्टिकोण लुकेको हुन्छ । उनी लघुकथालाई ‘वृत्तचित्रभन्दा तिखो र कविताभन्दा स्थूल’ विधाको रूपमा प्रस्तुत गर्छन् । उनका लघुकथामा घटित विषयलाई मिहिन रूपमा टिपेर लघु संरचनामै जीवन्त बनाउने सामर्थ्य भेटिन्छ ।

समीक्षाको सिलसिलामा यो लघुकथा लिँदा, शिल्पगत दृष्टिले सरल संवाद, द्वन्द्वयुक्त ध्वनि (ड्याङ-ड्याङ लेख्ने), र पात्रबीचको विपरीत मानसिकता स्पष्ट रूपमा देखिन्छ । ‘क’ र ‘ख’ पात्रहरू केवल व्यक्ति होइनन्, उनीहरू दुई धारका प्रतिनिधि हुन्: ‘क’ ताजगी, आवरण र देखावटी सर्जकताको प्रतीक हो भने ‘ख’ परिश्रम, अध्ययन र सृजनात्मक इमानको प्रतिरूप ।

साहित्य लेखनजस्तो गम्भीर कर्मलाई ‘क’ ले जिस्क्याएको शैलीमा प्रस्तुत गरेको छ: “ल, ड्याङ-ड्याङ लेख्नुपर्छ अनि भइहालिन्छ नि ।” यस वाक्यले एउटा तितो यथार्थ उजागर गर्छ । किताब लेख्न अब सिर्जनात्मक साधना होइन, सजिलो सौदाबाजी बनिरहेको छ । यसको उत्तरमा ‘ख’ ले दिएको मिहिन मार्गचित्र (हजार पढ्ने, सय लेख्ने, ९० फ्याँक्ने, १ मात्र पोस्ट गर्ने) साँच्चिकै लेखक बन्ने प्रक्रिया हो । यहाँ ‘ख’ पात्रको मुखबाट झरेका वाक्य कुनै सैद्धान्तिक भाषण होइनन्, सृजनाको कठोर बाटोको व्याख्या हुन् ।

सबैभन्दा ठूलो व्यङ्ग्य लघुकथाको अन्त्यमा आउँछ: “मैले ड्याङ-ड्याङ लेखेर पुस्तक बनाइसकेँ । सम्पादक र भूमिका लेख्नेमा वरिष्ठ साहित्यकार छन् । पर्सि स्टार होटलमा विमोचन छ । ल, निम्तो कार्ड ।” यही संवादले कथा सघन बनाउँछ, किनभने यसले अब लेखक बन्न कुनै अध्ययन, अभ्यास वा आत्मसमर्पणको खाँचो छैन भन्ने मिथ्या सन्देश फैलाउने प्रवृत्तिको आलोचना गर्छ । विमोचन स्थल “स्टार होटल” ले बजारमुखी लेखकको सामाजिक महत्त्वाकाङ्क्षालाई देखाउँछ, र निम्तो कार्डले त्यही भव्यताको हावादारी सङ्केत गर्दछ ।

गाईजात्राको सन्दर्भमा लेखिएको यो कथा ‘भूत’लाई होइन, जीवित पात्रहरूलाई देखाउने चातुर्य हो । भूत सजीव छन्; तर उनीहरू विचार, चेतना र साहित्यिक इमानबाट शून्य छन् । ड्याङ-ड्याङ लेख्ने पुस्ताले आफूलाई लेखक ठान्ने र प्रचारप्रसार, विमोचन, पुरस्कारमार्फत आफूलाई ब्रान्ड बनाउने तर साहित्यको मूल आत्मासँग नजोडिने प्रवृत्तिलाई लेखकले बिम्बात्मक रूपमा प्रस्तुत गरेका छन् ।

कलात्मक रूपमा कथा सशक्त छ: छोटो संवाद, तीखो कटाक्ष, प्रतीकात्मक भाषा (जस्तै ड्याङ-ड्याङ), र कथानकमा अन्तिममा आउने ट्विस्टले पाठकको चेतनामा चोट पुर्याउँछ । कुनै एउटा पात्र मात्र दोषी छैन, पूरै साहित्यिक परिपाटी प्रश्नमा पर्छ ।

समग्रमा नीरज कोइरालाको यो कथा केवल एउटा गाईजात्रे हास्यरसको कथा होइन; यो त झन् आत्मसमीक्षा, साहित्यप्रतिको जिम्मेवारी, र मूल्यहीन तडकभडकप्रतिको कडा टिप्पणी हो । यहाँ हास्यको आवरणभित्र पीडादायक सन्देश छ । अब लेखक बन्नका लागि सृजनाभन्दा सम्बन्ध, सम्पादनभन्दा सञ्जाल, र आत्मसङ्घर्षभन्दा प्रदर्शन प्राथमिक बन्दै गएको छ ।

यसरी, ‘साहित्यकार’ लघुकथा गाईजात्राको नाममा समाजको “साहित्यिक अनुहार” मा ऐना देखाउने प्रयास हो; त्यो ऐनाले हाम्रो दृष्टि फेरिन सक्दैन भने कम्तीमा सोच्न बाध्य बनाउँछ । यही चेतनाको आगो जलाउन सक्नु नै सशक्त लघुकथाको सफलता हो । यसमा नीरज कोइराला सफल देखिन्छन् ।
❀❀❀

❛उत्तरकथा❜

लघुकथा: विमर्श

✒ नन्दलाल आचार्य

“बधाई !” ‘ख’ ले फुसफुसे स्वरमा भन्यो, स्टार होटलको झिलिमिली बत्तीमुनि ।
‘क’ गदगद थियो, टाई ढिलो लगाए पनि हाफसुटमा आत्मविश्वास देखिएको थियो उनको ।

‘ख’ ले भन्यो, “भित्र सबैजना सेल्फी खिच्दै थिए, किताब त कसैले छुँदैनथ्यो !”
‘क’ हाँस्यो, “आधुनिक बजार हो, प्रचार नै साहित्य हो !”

त्यही बेला एक वृद्ध नजिक आए र सोधे, “तपाईं लेखक ?”
“हजुर !” ‘क’ ले गर्वपूर्वक भन्यो ।
“किताब भित्रका पाना सबै खाली छन् !” वृद्धको स्वर चिसो थियो ।

‘क’ ले हच्किएर खोल्यो: पानाहरू साँच्चिकै सेता ।
“प्रिन्टिङ मिस्टेक होला !” उसले बहाना बनायो ।
“अँ, तपाईंले लेख्नुभएन भने गल्ती !” वृद्ध हाँसेर हिँडे ।

‘ख’ ले बिस्तारै भन्यो:
“ड्याङ-ड्याङ किताब होइन, चिप्लिएको कागज हो !”

‘क’ स्तब्ध रह्यो: कुर्सीमा होइन, कृतिमा चिप्लिएको थियो ऊ ।
❀❀❀


३. गाईजात्रे लघुकथा: चसक

✒ लक्ष्मी रिजाल

“हजुरबा, तपाईंलाई चिया यति मिठो किन लाग्छ ?” छेउमै बसेका नाति रमेशले सोध्यो । त्यसबेला पिँढीमा बसेर बिहानको घाम ताप्दै गरेका हजुरबा चिया सुर्काउँदै थिए ।

हजुरबाले मुस्कुराउँदै जवाफ दिए, “बाबु, यो चिया होइन, चसक हो, जिन्दगीको ।”

रमेश अलमल्ल पर्‍यो, “चसक ?”

हजुरबाले चियाको कप हल्लाउँदै भने, “बुढ्यौलीमा त सधैं सास चलेको महसुस गरिरहनुपर्छ, होइन भने त लाग्छ, म बाँचेको छैन ।”

त्यति बेलामा भित्रबाट हजुरआमाको आवाज आयो, “ए ! फेरि चिया ? डाक्टरले नखानु भनेको !”

हजुरबा चिया पिउँदै बडो गम्भीर भएर फुसफुसाए, “डाक्टरले चिया रोकेको हो, झोंक होइन !”

तीन पुस्ताबीचको त्यो एक कप चियाले एउटा जिन्दगीको दर्शन थमाएको थियो । रमेश हाँस्दै दौडियो, “हजुरआमा ! हजुरबाले चसकलाई औषधि बनाएको हो है !”
—०—
कञ्चनरूप-१२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल ।
❀❀❀

❛समीक्षा❜

लक्ष्मी रिजालको लघुकथा ‘चसक’सँग साक्षात्कार

✒ नन्दलाल आचार्य

लक्ष्मी रिजाल एक संवेदनशील र सौन्दर्यप्रिय लघुकथाकार हुन्, जसको लघुकथामा जीवनका सूक्ष्म क्षणलाई आत्मीयता र कलात्मक लयमा बाँध्ने विशिष्ट शैली पाइन्छ । उनका कथाहरू सामाजिक सन्दर्भ, पारिवारिक भावनात्मकता र नेपाली जीवनशैलीको अन्तरङ्ग चित्रणमा आधारित हुन्छन् । उनले भाषा र संवेदनाको यस्तो संयोजन प्रस्तुत गर्छिन्, जसले पाठकलाई कथा पढेपछि केही समय चुपचाप सोच्न बाध्य पार्छ ।

यस पृष्ठभूमिमा हेर्दा, ‘चसक’ शीर्षकको गाईजात्रे लघुकथा केवल एउटा हास्यरसको प्रस्तुति मात्र होइन, यो गहिरो दार्शनिक भाव बोकेको जीवनरचना हो । छोटो, संक्षिप्त तर भावपूर्ण संवादमा प्रस्तुत गरिएको यो कथा तीन पुस्ताबीचको सम्बन्ध, बुढ्यौलीको अनुभूति र जीवनका सरल, चिसो क्षणमा पनि आशाको सानो आगो कसरी बलिरहन्छ भन्ने गहिरो अनुभूतिमार्फत उजागर भएको छ ।

कथाको सुरुवातमा नाति रमेशको अबोध प्रश्न: “हजुरबा, तपाईंलाई चिया यति मिठो किन लाग्छ ?” ले कथाको द्वार खोल्छ । बालमनोविज्ञान र जिज्ञासा यहाँ राम्ररी झल्किन्छ । अनि त्यसको जवाफमा हजुरबाले दिएको गहिरो उत्तर: “यो चिया होइन, चसक हो, जिन्दगीको ।” यो कथाको केन्द्रबिन्दु हो ।

यहाँ ‘चसक’ भन्ने शब्द बहुआयामिक रूपमा प्रयोग गरिएको छ । यो चियाको स्वादको चसक मात्र होइन, बाँचिरहेको अनुभूतिमा रमाउने आग्रह हो । ‘बुढ्यौलीमा त सधैं सास चलेको महसुस गरिरहनुपर्छ’ भन्ने वाक्यले जीवनको त्यो कालखण्ड देखाउँछ, जहाँ बाँच्नु कुनै नौलो उपलब्धि होइन, तर बाँचिरहेको अनुभूति नै एउटा आश्वस्ति हो ।

यसबीचमा हजुरआमाको व्यावहारिक स्वर सुनिन्छ: “फेरि चिया ? डाक्टरले नखानु भनेको !” यस कथनले कथालाई यथार्थको धरातलमा ल्याउँछ । हजुरआमाको आवाजले बुढेसकालको स्वास्थ्य चिन्ता र नियमित विवशता झल्काउँछ । तर त्यसको जवाफमा हजुरबाले प्रकट गरेको पंक्ति: “डाक्टरले चिया रोकेको हो, झोंक होइन !” यो कथन नै लघुकथाको सबैभन्दा व्यङ्ग्यात्मक, अर्थगर्भित र प्रभावशाली वाक्य हो ।

यस वाक्यमा एउटा पुरुषको जीवन-झोंक, आत्मस्वाभिमान र चेतनशीलता छ । यसले हास्य सिर्जना मात्र गर्दैन, गम्भीर सन्देश पनि दिन्छ । बाँच्न र रमाउनका लागि कहिलेकाहीँ जीवनका केही नियम उल्लङ्घन गरिनुपर्ने हुन्छ, यदि त्यो उल्लङ्घनमा आत्मस्वीकृति र सौन्दर्य छ भने ।

अन्त्यतिर नाति रमेशको निर्दोष व्याख्या: “हजुरआमा ! हजुरबाले चसकलाई औषधि बनाएको हो है !” ले कथा पूर्ण चक्रमा पुर्‍याउँछ । यही संवादले कथा समेट्छ, हाँसो ल्याउँछ, तर हाँसोभित्र जीवनको सत्य भरेर फर्काउँछ ।

कलात्मक रूपमा, यो कथा संवादप्रधान संरचनामा लेखिएको छ, जसले लघुकथालाई बेजोड गति दिएको छ । पात्र तीनवटा भए पनि कथा ‘तीन पुस्ताबीचको दर्शन’ बन्न सफल भएको छ । भाषा सरल, बिम्बहरू प्रभावशाली, र अन्त्य गम्भीर व्यङ्ग्यात्मक छ ।

तार्किक रूपमा, यो कथा एउटा सामान्य चिया पिउने क्षणलाई जीवनदर्शनको तहसम्म पुर्‍याउँछ । बालकको जिज्ञासा, वृद्धको चसक र वृद्धाको व्यावहारिकता यी सबैले मिलेर जीवनको एउटा त्रिकोणात्मक बिम्ब सिर्जना गर्छन् । लघुकथा छोटो छ तर त्यसको प्रभाव दीर्घकालीन छ ।

गाईजात्राको प्रसङ्गमा, यो कथा कुनै सन्दर्भीय हास्यभन्दा पर पुगेर ‘हास्यको लवाइमा लुकाइएको सत्य’ प्रस्तुत गर्छ । वृद्ध मानिसलाई चिया झोंकको माध्यमबाट आफू जीवित रहेको महसुस गरिरहनुपर्ने बाध्यता नेपाली समाजमा मात्र होइन, विश्वव्यापी वृद्धमानसिकताको सामान्य प्रतिनिधित्व हो ।

लक्ष्मी रिजालको लघुकथाकारिता यस कथामार्फत बढी परिपक्व र विचारगर्भित देखिन्छ । उनले हास्य, व्यङ्ग्य, दर्शन र भावनात्मक गहिराइलाई अत्यन्त सन्तुलित रूपमा समेटेकी छन् ।

समग्रमा, ‘चसक’ एउटा लघुकथा मात्र होइन; बुढ्यौलीको झरो घाममा पाकिरहेको एउटा चिया पिउने क्षणभित्र बाँचिरहन खोजेको जीवनको मौन उद्घोष हो । यही मौनता सुन्न सक्ने पाठकका लागि यो लघुकथा अमूल्य उपहार हो ।
❀❀❀

❛उत्तरकथा❜

लघुकथा: चमत्कार

✒ नन्दलाल आचार्य

भोलिपल्ट बिहानै रमेश झसङ्ग भएर उठ्यो ।
पिँढीमा हजुरबा निदाएको अभिनय गरिरहेका थिए । उनको अघिल्लो दिनको चियाको कप हराएको थियो ।

रमेश भित्र पस्यो: भान्सा कोठाबाट सुगन्ध आइरहेको थियो । हजुरआमा मसला कुट्दै थिइन्, मुस्कुराउँदै भनिन्, “आज चसक बनाउँदिनँ । चसकको विकल्प दिइन्छ ।”

रमेश चकित भयो, “कस्तो ?”

हजुरआमाले ट्रेमा बेसार, अदुवा, तुलसी र चौलानी पानी मिसिएको तातो पेय लिएर पिँढीमा राखिन् ।
हजुरबाले सुरुप्प पारेर मुख बिगारे:
“यो मेरो चसक होइन, गालामा चट्कन भयो !”

हजुरआमाले जवाफमा भनिन्, “यो चसक होइन, चासो हो । तपाईं बाँच्छु भन्नुहुन्छ, म बाँच्न दिन्छु ।”

हजुरबा चुप लागे । रमेश ताली बजाउँदै हाँस्यो: “हजुरआमाले त डाक्टरजस्तो होइन, वकिलजस्तो व्यवहार गरेर निर्णय गरिदिनुभयो !”
❀❀❀

प्रतिक्रिया

नेपाली भाषा साहित्यलाई माया गरेर यहाँसम्म आइ, यहाँ प्रकाशित लेख/रचनाहरू पढिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँले भर्खरै माथि पढेको लेख/रचना कस्तो लाग्यो कमेन्ट बक्समा आफ्नो प्रतिक्रिया राख्न सक्नु हुनेछ। आफ्नो मनमा लागेको प्रतिक्रिया राख्न तपाईँ स्वतन्त्र हुनुहुन्छ। यदि तपाईँ पनि नेपाली भाषा साहित्यमा कलम चलाउनु हुन्छ भने आफ्नो छोटो परिचय र एक प्रति अनुहार चिनिने तस्बिर सहित आफ्ना लेख/रचनाहरू हामीलाई hamrokathaghar@gmail.com मा पठाउन सक्नु हुनेछ। अन्य कुनै पनि जानकारीका लागि +९१८७३८०९३५७३ नम्बरमा ह्वाट्सएप गर्न सक्नु हुनेछ। धन्यवाद । नोट: यहाँ प्रकाशित कुनै पनि लेख/रचनाहरू लेखकको वा 'हाम्रो कथा घर' को अनुमति बिना कुनै पनि माध्यमबाट प्रकाशन प्रसारण गर्न पाइने छैन । अन्यथा, यस्तो गरिएको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने जानकारी गराउँदछौ।

नन्दलाल आचार्य लघुकथामा एक प्रयोग

यो पनि पढ्नुहोस्...

लघुकथामा एक प्रयोग | अङ्क २२ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २१ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क – १९ | नन्दलाल आचार्य | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा श्रृङ्खला: १५ | किशन पाैडेल | हाम्रो कथाघर

Advertisement
♈ दैनिक राशिफल ♎

विशेष

कथा: मरणासन्न | रासा | हाम्रो कथाघर

पोस्टरमा स्मार्ट लघुकथा अङ्क: १६ | हाम्रो कथाघर

लघुकथामा एक प्रयोग अङ्क २० | नन्दलाल आचार्य | हाम्रो कथाघर

उपन्यास: गरुराहा भाग: ०२ | नन्दलाल आचार्य | हाम्रो कथाघर

भर्खरै

कविता: मौनताभित्र | सुशीला शर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: संयोग | शर्मिला कार्की ‘शरु’ | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: दिग्भ्रमित रात | साजन विश्वकर्मा | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: मृत जेन्जीको घोषणा | असल चरित्र | हाम्रो कथाघर

अशोज २८, २०८२

कविता: समयको पिँजडा | मनीष गैरे | हाम्रो कथाघर

अशोज २८, २०८२
हाम्रो यात्रा

हाम्रो कथा घर नेपाली साहित्य, कला, संस्कृतिको श्रीवृद्धि को लागि स्थापना भएको डिजिटल पत्रिका हो । यस पत्रिकाको माध्यमबाट हामीहरूले फरक रूप र शैलीका कविता, कथा, नियात्रा, निबन्ध,अन्तरवार्ता , गीत, गजल, मुक्तकहरू प्रस्तुत गर्दै आएका छौँ । यसबाहेक नेपालका अन्य राष्ट्रिय भाषा र विदेशी भाषामा लेखिएका सिर्जनाहरूको अनुवाद पनि प्रकाशित गर्ने क्रममा छौँ । हामीले श्रव्य दृश्यको माध्यमबाट पनि साहित्यको संरक्षण एवम् संवर्द्धन गर्दै आएको ब्यहोरा यहाँहरूलाई अवगत नै छ ।

हामीले यात्रा थालनी गरेको छोटो समयमै नेपाल लगायत संसारभरका लेखक, पत्रकार, बुद्धिजीवी, पाठक, श्रोता र दर्शकबाट अपार माया र सद्भाव प्राप्त भएका कारण हामी अझ उत्साहित भएका छौँ । नेपाली वाङ्मयको श्रीवृद्धिमा डिजिटल माध्यमबाट हामी दिलोज्यान दिएर अघि बढेका छौँ । यसमा यहाँहरूको सुझाव र सल्लाह सधैँ शिरोपर रहनेछ ।

आउनुहोस् निम्न उल्लिखित माध्यमबाट तपाईँ हामी जोडिऔँ र नेपाली साहित्य, कला र संस्कृतिलाई स्तरीय र विश्वव्यापी बनाऔँ ।

Email Us: hamrokathaghar@gmail.com
Contact: +918738093573

Facebook Instagram YouTube WhatsApp
अध्यक्ष / प्र. सम्पादक

जीवन सोनी
sonijeevan233@gmail.com

संरक्षक:

डा. दामोदर पुडासैनी `किशोर′
damopuda567@hotmail.com

वाचन / संयोजक

तारा केसी
tarakckunwar@gmail.com

सम्पादक

प्रभात न्यौपाने
prabhatn457@gmail.com

कथा वाचन

प्रकाश वाग्ले 'प्रभाकर'
prakashwagle46@gmail.com

संयोजक

बिक्रम पौडेल
bikrampoudel1011@gmail.com

Facebook YouTube Instagram
  • होमपेज
  • श्रव्य आख्यान
  • श्रव्य काव्य
  • स्मार्ट काव्य शृंखला
  • कथा घर विशेष
“🏠”
©सर्वाधिकार सुरक्षित हाम्रो कथा घर डट कम ।
वेव डिजाइन / कला :
kanxey@krishnathapa.com
कृष्णपक्ष थापा

Type above and press Enter to search. Press Esc to cancel.